एजेन्सी : जब सुडानको युद्ध प्रभावित डार्फरमा चार जना अर्धसैनिक लडाकु एक महिलामाथि सामूहिक बलात्कार गरिरहेका थिए, उनीहरू जातीयताको आधारमा दुर्व्यवहार पनि गरिरहेका थिए।
‘उनीहरू निक्कै क्रूर थिए। आगो बाल्ने दाउरा बटुलिरहेकी मलाई उनीहरूले एउटा रुख मुनी लगेर पटक पटक बलात्कार गरे’ कुलसुम (नाम परिवर्तन) ले टेलिफोनमा काँपेको स्वरमा भनिन्।
करिब ४० बर्सिया कुलसुम पश्चिम सुडानको डार्फरमा बस्छिन्। उनी काला अफ्रिकी मासालिट समुदायकी हुन् । उनी माथि बलात्कार गर्नेहरू र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) का लडाकु थिए।
कुलसुमका अनुसार, बलात्कारीहरूले उनलाई ‘यो अरबी मानिसहरूको हो’ भन्दै शहर छाड्न धम्की दिइरहेका थिए। जसबाट काला अफ्रिकीहरूमा डर उत्पन्न गराइदियो। आरएसएफ मिलिसिया समूह ‘जन्जावीद’सँग मिलेर जातीय रूपमा मिश्रित क्षेत्रलाई अरब शासित क्षेत्रमा बदल्न खोजिरहेको छ भन्ने डर उत्पन्न गराइएको थियो।
युद्धमा फसेका महिलाको आपत्
खार्तूममा हिंसाले जातिवादी रङ्ग धारण गरेको छैन। अरब र अन्य जातिका मानिसहरू त्यहाँ चलिरहेको लडाइँको सिकार भएका छन्।
२४ वर्षकी इब्तिसाम आफ्नो सानी आमाको घर जाँदै गरेका बेला आरएसएफ लडाकुहरूले सेनाको जासुस भएको आरोप लगाउँदै बन्दुक देखाएर रोके। त्यसपछि उनीहरूले आफ्नो कारमा राखेर नजिकैको एउटा घरमा लगे जहाँ अर्का एक पुरुष भित्री वस्त्र मात्र लगाएर बसेका थिए। त्यहाँबाट भाग्ने निक्कै प्रयास गर्दा ती मध्ये एक लडाकुले नराम्ररी कुटपिट गरेपछि इब्तिसाम विफल रहिन्।
भाग्ने प्रयास गरे या ठुलो स्वरले चिच्याए मारिदिने धम्की दिँदै उनीहरू चारै जनाले पटक पटक इब्तिसाममाथि बलात्कार गरे। कयौँ पटक बलात्कार गरेपछि उनलाई कारमै राखेर सडक किनारामा लगेर छाडियो। उनी निकै अपमानित र क्रोधित महसुस गरिरहेकी थिइन्। ‘म आत्महत्या गर्न चाहन्थेँ तर आफूलाई रोकेँ र घर फर्किएँ। आफूमाथि के भयो भनी कसैलाई बताइन’उनले भनिन्।
आरफाको त्रासदीपूर्ण भोगाई
तीन सन्तान मारिएपछि आरफा नौ महिनाको गर्भ लिएर पैदल हिँडेरै सुडानको डार्फर शहरबाट चाड देश निस्किइन। चाड प्रवेश गर्ने क्रममा सीमामै उनले बच्चालाई जन्म दिइन। ‘त्यस बेला हरेक मान्छे आफ्नो बारेमा मात्र सोचिरहेका थिए, सबै आफ्नो ज्यान बचाउन भागिरहेका थिए उनले भनिन्–जन्मिए पछि बच्चालाई कपडाले बेरेर केही नसोची चाडको सीमावर्ती शहर एन्ड्रेतर्फ हिँडे।’
उनी तीन वर्ष, सात वर्ष र नौ वर्षका तीन छोरीको शव बाटोमै छाडेर आएकी थिइन्। सुडानमा जारी युद्धका क्रममा उनका छोराहरूको पनि आरएसएफ र अरबी अलाइड मिलिसियाले हत्या गरी दिएका थिए।
आरएसएफ ‘अपराधी’ : राष्ट्रसङ्घ
सुडानमा संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगको कार्यालयले जुलाईको सुरुवातमा कम्तीमा ५७ जना महिला र किशोरीहरू माथि यौन हिंसाका २१ वटा घटना भएको रिपोर्ट प्राप्त भएको बताएको थियो। संयुक्त राष्ट्रसङ्घ मानव अधिकार प्रमुख वोल्कर तुर्कले कार्यालयमा रिपोर्ट गरिएका लगभग सबै मुद्दामा आरएसएफलाई ‘अपराधी’ को रूपमा पहिचान गरिएको बताए।
राष्ट्रसङ्घ र स्थानीय अधिकारवादी समूह यो सङ्ख्या अपराधको वास्तविक परिमाणको एक अंश मात्र हो भन्ने ठान्दछन्। सुडानी मानव अधिकार कार्यकर्ता अहलम नासिरले मानिसहरूलाई आतङ्कित गर्नका लागि बलात्कार युद्धको हतियारका रूपमा योजना बद्ध ढङ्गले प्रयोग गरिएकोमा कुनै शङ्का नरहेको बताए।
‘यसअघि डार्फरमा बलात्कार जस्ता अपराधलाई माध्यम बनाइएको थियो र खार्तूममा जारी युद्धमा पनि विशेष गरी आरएसएफद्धारा यही भइरहेको छ, उनले भने–‘खार्तुतका केही महिलाका डरलाग्दो कथा छन्। केही महिलामाथि तीनकै छोराछोरीका अगाडी बलात्कार गरिएको छ।’
आरएसएफद्धारा अस्वीकार
यस्ता घटनाहरूमा आफ्ना लडाकुको हात रहेको आरएसएफले अस्वीकार गर्दै आएको छ। प्रवक्ता मोहम्मद अलमुख्तारले लडाकु युद्धको उच्चतम नैतिक मूल्यमान्यतामा प्रतिबद्ध रहेको दाबी गर्दै भने–‘सैन्य जीत हासिल गरेपछि हाम्रा लडाकुहरूको प्रतिष्ठालाई धमिल्याउनका लागि जानाजानी अभियान चलाइदैछ।’ आरएसएफ सदस्यको रूपमा भेष बदलेर मानिसहरूले अत्याचार गरेको उनको आरोप छ।
सङ्घर्षका कारण बलात्कार र यौन हिंसाबाट बचेकाहरूले निकै कम सहायता प्राप्त गरेका छन्। अधिकांश अस्पताल बन्दछन् भने खुलेका अस्पतालसम्म पुग्न कठिन छ।
पटक पटकको सङ्घर्ष विरामका बाबजुद राजधानी खार्तूममा सेना र अर्धसैन्य बल आरएसएफबीच लडाइँ भइरहन्छ।
संयुक्त राष्ट्र सङ्घले गत शुक्रवार एक वक्तव्य जारी गर्दै युद्धको शृङ्खलाले मानवीय आपत्काललाई बढाइरहेकोले सुडान युद्ध र भोकले नष्ट हुने खतरा रहेको चेतावनी दिएको छ।
आरएसएफको इतिहास
आरएसएफको गठन सन् २०१३ मा भएको थियो। सेना भन्दा छुट्टै यति बलियो सुरक्षा बल हुनु सुडानको अस्थिरताको कारण मानिन्छ। यसको उत्पत्ति कुख्यात जन्जावीद विद्रोही सङ्गठनको रूपमा भएको थियो, जसले डार्फरमा विद्रोहीहरू विरुद्ध क्रूरता पूर्ण लडाई लडेको थियो। त्यस क्रममा ठुलो सङ्ख्यामा नृ जातीय (नरसंहारपूर्ण) हिंसा भएको आरोप छ।
जनरल हेमेदतीले त्यसयता एक शक्तिशाली सुरक्षा सङ्गठन तयार गरेका छन्, जसले यमन र लिबियाको सङ्घर्षमा पनि हस्तक्षेप गरेको छ। कुनै बेलाका एक व्यापारी हमदानले सुडानमा सुनको कयौँ खानी नियन्त्रण गर्नुका साथै बलियो आर्थिक साम्राज्य पनि बनाएका छन्।
युद्धको जड–दुई जनरल
सुडान आफ्ना दुई शक्तिशाली जनरलहरू सुडानी आम्र्ड फोर्सेज एफएएसका प्रमुख अब्देल फतहअल बुरहान र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज आरएसएफका नेता मोहम्मद मोहम्मद हमदान दगालो (जसलाई हेमेदतीको नामले पनि चिनिन्छ) एक अर्काको सामुन्ने आएपछि गत अप्रिल देखि गृह युद्धमा फसेको हो।
ताजा सङ्घर्ष सुरु भए यता चार महिनामा झन्डै ४६ लाख (४.६ मिलियन) मानिस घर छाडेर भाग्न बाध्य भएका राष्ट्रसङ्घले जनाएको छ। भागेकाहरूमा अधिकांश मासालिट समुदायका रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
त्यस क्षेत्रमा कति मारिए भन्ने यकिन भइसकेको छैन। अलजेनिनामा मृतकको सङ्ख्या सबैभन्दा कम पाँच हजार अनुमान गरिएको छ। आरएसएफ लडाकुमाथि सुडानका सबै भन्दा धेरै जनसङ्ख्या भएको राज्य र राजधानी खार्तूममा अत्याचार गरेको आरोप छ।
यो अर्ध सैनिक बलले राज्यका अधिकांश क्षेत्रमा कब्जा जमाएको छ। सेना उनीहरूलाई भगाउन असफल भएको छ भने लडाइँका कारण अप्रेलदेखि अहिलेसम्म करिब २० लाख मानिस पलायन भइसकेका छन्।
पुराना साथी
टकराबको केन्द्रमा रहेका यी दुई जनरल कुनै समय एकसाथ काम गर्थे। एकसाथ मिलेर देशमा सत्ता उल्टाएका उनीहरूबिच अहिले आफ्नो दबदबाका लागि चलिरहेको लडाइँले सुडानको अवस्था भयावह बनाइदियो।
पहिलो पटक सन् २००३ मा सङ्घर्ष भड्किदा तीन लाख मानिसको ज्यान गएको अनुमान छ। पश्चिमी सुडानमा गृहयुद्ध हुँदा डार्फरमा विद्रोहीहरू विरुद्धको कारबाहीमा दुवैले मुख्य भूमिका निर्वाह गरेका थिए। त्यसपछि जनरल बुरहान, डार्फरमा सुडान आर्मीका नेताको रूपमा उदाए।
हेमेदती केही अरब मिलिसिया (जसलाई सामूहिक रूपमा जन्जावीदको नामले चिनिन्छ) मध्ये एक कमान्डर थिए। सरकारले डार्फरमा गैर–अरब विद्रोहीहरूलाई बर्बर तरिकाले कुल्चनका लागि जन्जावीदलाई प्रयोग गर्दथ्यो।
त्यस समय नेशनल इन्टेलिजेन्स एन्ड सेक्युरिटी सर्भिसेजका डेपुटी डाइरेक्टर मजकडी अगूत (जो साउथ सुडान अलग हुँदा डेपुटी डिफेन्स मिनिस्टर थिए) का अनुसार बुरहान र हेमेदती त्यस समय एउटै टिमका रूपमा काम गर्थे।
देशको स्वतन्त्रतापछि धेरै समयसम्म सेना नै सुडानको कर्ताधर्ता रह्यो। सुडानका एक्सपर्ट एलेक्स डीवालका अनुसार, डार्फरमा सरकारले चरमपन्थी विरोधी कडा कारबाही गर्यो। विद्रोहीसँग लड्न सेनासँगै, जातिवादी मिलिसिया र एयर फोर्सको प्रयोग गरियो र हताहती र नागरिकप्रति थोरै पनि नरम पन प्रदर्शन गरिएन। यसलाई २१ औँ शताब्दीको पहिलो नरसंहार पनि भनिन्छ।
जंजावीदमाथि जातीय नरसंहार र सामूहिक बलात्कारलाई युद्धको हतियारका रूपमा प्रयोग गरेको आरोप लाग्यो। हेमेदतीले यमनमा साउदी गठबन्धनको तर्फबाट लड्नका लागि सेनाको सप्लाई गर्न सुरु गरे, त्यसपछि उनको शक्ति झन् बढ्यो।
बशीरको सत्ता
करिब एक दशकसम्म देशमा सैन्य शासन गरेका ओमर अलबशिर सेनासँग सन्तुलन बनाउनका लागि हेमेदतीसँगै आरएसएफलाई निक्कै विश्वास गर्थे। उनलाई मात्र एक सैन्य समूहले सत्ता उल्टाइ दिन सक्दैन भन्ने भ्रम पूर्ण विश्वास थियो। तर सन् २०१९ अप्रेलमा जब महिनौँसम्म विरोध प्रदर्शन भयो र बशिरको सत्ता उल्टाउन दुवै जनरल एक ठाउँमा उभिए।
त्यसपछि दुवै जनरलले प्रदर्शनकारीहरूसँग नागरिक सरकार गठन गर्ने सम्झौता गरे। यसको जिम्मा नागरिक र सैन्य नेता संलग्न सम्प्रभु समितिलाई दिइयो जसको चेयरमेन बुरहान र डेपुटी हेमेदती बने।
यो सरकार अक्टोबर २०२१ सम्म दुई वर्ष चल्यो। त्यसपछि सेनाले आक्रमण गरी सत्ता हत्यायो। त्यस क्रममा पनि सरकारका शीर्ष नेता जनरल बुरहान बने र हेमेदती उनका डेपुटी रहे।
सम्प्रभु समितिमा नागरिक सदस्यका रूपमा रहेका सादिक तोवर काफी, २०२१ को सत्ता पल्टाउने बेलासम्म दुवै जनरलबिच कुनै किसिमको असहमतिको सङ्केत आफूले नदेखेको बताउँछन्। बशीरको पुरानो सरकारलाई सत्तामा ल्याउने बुरहानको योजना स्पष्ट हुँदै गएपछि हेमेदती भड्किन थालेको सादिकको ठम्याई छ।
प्रतिद्वन्द्वी शक्ति
सुडानी राजनीतिमा पहिलेदेखि नै सम्पन्न वर्गको दबदबा रह्यो र यसमा धेरैजसो खार्तूम र नील नदिको आसपास बसेका जनजाति समूहका मानिसहरू आउँछन्। हेमेदेती डार्फरबाट आएका हुन् र सुडानी सम्पन्न वर्ग प्रायजसो उनको र उनका सैनिकका बारेमा ‘गाउँले’, ‘सरकार चलाउन नसक्ने’ जस्ता अपमानजनक शब्दावलीको प्रयोग गर्छन्।
पछिल्लो दुई तीन वर्षयता हेमेदतीले स्वयंलाई एक राष्ट्रिय नेता र सीमान्तकृत मानिसहरूको प्रतिनिधिका रूपमा स्थापित गर्ने प्रयास गर्दै आएका छन्।
नागरिक सरकार बनाउने समय सीमा नजिकिँदै गएपछि सेना र आरएसएफवीच तनाव बढ्यो र सेनामा आरएसएफलाई मिलाउने मुद्दा चुलियो। त्यसपछि सुडानी सरकारमाथि नियन्त्रण पाउनका लागि सेना र आरएसएफमा बुरहान र हेमेदतीवीच लडाई सुरु भयो।
भोको र प्यासी खार्तूम
यसबिचमा नागरिकले नाजुक अवस्थाबाट गुज्रनु परेको छ। खार्तूममा पानी सप्लाई गर्ने मुख्य पंपिङ्ग स्टेसनमा समेत आक्रमण गरियो। स्थानीय अबरी अर्थात् घैँटाको केही घुट्को पानीले तिर्खा मेटाउन बाध्य भए।
वरपरका पसल बन्द भए, खुलेका बेकरीमा पिठो सकियो। लडाई सुरु हुनु अघि शहरको वरपर आरएसएफका सुरक्षा बल तैनाथ गरी नागरिकहरूलाई खाद्यान्न सङ्कलन गर्न चेतावनी दिइयो। अवस्था भयावह होला भन्ने नसोचेर केही परिवारले मात्र त्यो चेतावनीलाई गम्भीर रूपमा लिए।
अफ्रिकामा सुडान– इतिहास
दशकौँको गृह युद्धपछि सन् २०११ मा दक्षिण सुडान अलग हुनु अघिसम्म सुडान, क्षेत्रफलको हिसाबले अफ्रिकाको सबैभन्दा ठुलो देश थियो। अफ्रिका उत्तर–पूर्वमा अवस्थित यो देशको सीमा सात देशसँग जोडिएको छ। यसको उत्तरमा शक्तिशाली देश इजिप्ट (मिश्र) रहेको छ भने पूर्वमा इरिट्रिया र इथियोपिया छ।
देशको अन्तर्राष्ट्रिय कारोबारको हिसाबले निक्कै महत्त्वपूर्ण लाल सागर यसको उत्तर–पूर्वमा रहेको छ भने चाड र लिबिया सुडानको पश्चिममा अवस्थित छ।
अरबी भाषामा सुडानको अर्थ काला मानिसहरूको देश हुन्छ। उत्तर पूर्व अफ्रिकाको देश सुडान १९५६ जनवरी १ मा स्वतन्त्र भएपछि अधिकांश समय सैन्य शासन र गृह युद्धसँग जुधिरहेको छ।
लोकतन्त्रको चाहना लिएर सुडान र उसका मानिसहरू ऐतिहासिक परिवर्तनकालबाट गुज्रिए। एक समय अफ्रिकाको सबैभन्दा ठुलो देश रहेको सुडान २०११ म विभाजन भयो र दक्षिण सुडान नामले अर्को देश जन्मियो। तर यो विभाजनको रेखा १९ औँ शताब्दी भन्दा कयौँ दशक पहिले नै कोरिएको थियो।
सुडानको उत्तरी हिस्सामा कुनै बेला तुर्क साम्राज्यको शासन रह्यो। १८ औँ शताब्दीमा पुरै सुडानमा मिश्रले शासन गर्यो। यस कारण सुडानको उत्तरी हिस्सामा बहुसङ्ख्यक मुस्लिम जनसङ्ख्या भयो र उनीहरूलाई आधा अरबी भनिन्छ जबकि दक्षिणी हिस्सामा पछि इसाई बहुसङ्ख्यक भए।
२० औँ शताब्दीमा ब्रिटेनले मिश्रसँग मिलेर सुडानमाथि शासन गर्यो र त्यही बेला उत्तर र दक्षिण सुडानबिच विरोध र हिंसाको खाडल बढ्दै गएको थियो। ब्रिटेनले सुडानमा शासन गर्दा मिश्रको सीमामा रहेको उत्तरी सुडानमा विकास भएको तर दक्षिण भागमा कुनै प्रगति नभएको पायो र दक्षिणी भागलाई १९२० मा बन्द क्षेत्र घोषित गरेर चर्चलाई त्यहाँको विकासको जिम्मा दियो।
स्वतन्त्रताअघि सुडानमा गृहयुद्ध
जनवरी १९५६ मा सुडान स्वतन्त्र भयो तर त्यसअघि अप्रिल १९५५ मा उत्तर र दक्षिणमा गृहयुद्ध सुरु भयो। १९६९ मा पहिलो सैन्य सत्ता उल्टिए पछि जाफर मुहम्मद निमेरी १९६९ देखि १९८५ सम्म राष्ट्रपति बने। १९८६ मा सादिक अलमहदी प्रधानमन्त्री बने तर १९८९ मा ब्रिगेडियर ओमर हसनअल बशिरले उनको सत्ता हत्याए र २०१९ सम्म देशको राष्ट्रपति बने।
देशमा सत्ता परिवर्तन भइरह्यो तर उत्तर र दक्षिणबिच गृहयुद्ध जस्ताका तस्तै चलिरह्यो। १९७२ मा राष्ट्रपति मुहम्मद निमेरीले शान्ति सम्झौता गरे तर सुडानमा तेलको खोजी भयो जसका कारण सम्झौता तोडियो।
तेलको ठुलो हिस्सा दक्षिणी सुडानमाथि यो जसका कारण दुवैले यो क्षेत्रलाई आफ्नो दाबी गरे। २००५ मा फेरी शान्ति सम्झौता भयो र २०२१ मा यस मार्फत जनमत सङ्ग्रह भयो जसमा ९९ प्रतिशत मानिसले स्वतन्त्रतालाई चुने।
एजेन्सीको सहयोगमा
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.