चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

चौधरी ग्रुप र अदानी ग्रुपबीच सिमेन्ट व्यवसायका लागि रणनीतिक साझेदारी

काठमाडौं : नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अदानी ग्रुपबीच दुई देशबीचमा सिमेन्ट बिजनेसको अभिवृद्धिका लागि रणनीतिक साझेदारीका लागि सहमति भएको छ।

नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई अझै सुदृढ गर्दै लैजाने उद्देश्यका साथ दुई देशका प्रतिष्ठित व्यावसायिक घरानाले सिमेन्ट बिजनेसमा नयाँ अध्याय सुरु गरेका चौधरी ग्रुपले बताएको छ। नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले गरिएको यस साझेदारीले चौधरी ग्रुपको यस क्षेत्रको उन्नति र प्रगति प्रतिको अटल समर्पणलाई दर्साउने चौधरी ग्रुपले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरीले कृतज्ञता व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्त्वपूर्ण कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। ‘यस रणनीतिक सहकार्य मार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’प्रबन्ध निर्देशक चौधरीले भने।

नेपालमा भएको यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्साउँदै दुवै व्यापारिक समूहहरू सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेका छन्। साझा मूल्य मान्यता र आकाङ्क्षा प्रतिबिम्बित गर्दै प्रगति, समृद्धि र सुदृढ द्विपक्षीय सम्बन्धको भविष्यका लागि प्रतिबद्ध रहँदै थप आर्थिक सम्बन्धहरूलाई बढवा दिनेतर्फ यस सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहले लिएका छन्।

प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यावसायिक सहकार्य गर्ने अवसरको लागि धन्यवाद व्यक्त गरे। उनले अदानी ग्रुपका चेयरपर्सन गौतम अदानीलाई यस रणनीतिक साझेदारीलाई सफल बनाउन नेतृत्व दिई भूमिका खेल्नु भएकोमा र अटल समर्थनको लागि आभार व्यक्त गरे।

हालै मात्र वरुण चौधरी मालदिभ्समा रहँदा गम्भीर दुर्घटनामा परेको समयमा गौतम अदानीले गरेको सहयोगले उनको जीवनमा ठुलो महत्त्व राखेको कुरा पनि स्मरण गरे। अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको छ।

दशकौँदेखि औद्योगिक र व्यापारिक विरासत बोकेको नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपले एफएमसीजी, हस्पिटालिटी, रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रहरूमा बलियो उपस्थितिको साथ नेपालको आर्थिक वृद्धि र विकासमा समर्पित रहँदै आएको उल्लेख गरेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.