इन्ट्रा-नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेशन-अमेरिका भन्ने संस्थाका अध्यक्षले अगष्ट तोस्रो साता काठमाडौंमा आयोजित एउटा कार्यक्रमको मञ्चबाट भूटानका नेपालीभाषीहरुको सम्बन्धमा ऐतिहासिक तथ्य फेर पर्नेगरी बोलेको कुरालाई लिएर केही दिनदेखि ‘फेसबुके साहित्य’ मिश्रित स्वरहरुको घुर्मैलो चिच्याहट फलाकेर उर्लिरहेको छ।
उनको सो गलत मन्तव्यमा टिकाटिप्पणी गरेर आलोचना गर्नेहरु धेरै छन्। यद्यपि, आलोचकहरुले उनका विरुद्धमा व्यक्तिगत तहसम्म पुगेर पर्गेल्ने काम गरेझैं देखिएको छैन। कोही छन् भने पनि उनको गौंडा ढुकेर पर्खिरहेका शिकारीहरु होलान्, त्यो कुरो उनैलाई थाहा हुनुपर्छ। तर, उनको जय जयकार गाउने एउटा पक्ष छ जो उनले जे भने पनि, जतिसुकै गम्भीर त्रुटी गरे पनि ‘जिब्रो चिप्लिएको’ अर्थमा लिएर एक झट्कामा क्षमा दिनुपर्ने जिद्धि कसिरहेको छ।
‘उनले यति गरे, उति गरे, कल्याणमस्तु गरे, हिमालमाथि चढेर उष्मकभवन खडा गरे, अन्तरीक्षमा उडी रहने घर बनाए, तर, अरु कसैले केही गरेन, सिन्को भाँचेन, माखो मारेन’ भनेझैं गरी त्यस्तो ‘आठौं आश्चर्यको वीरता खडा गरेको देखेर त्यसो गर्नै नसक्नेहरुले इर्ष्या-डाह गरे है’ भन्दै उनको आलोचना गर्नेहरुतर्फ धारे हात देखाइरहेको छ त्यो समूह! तर, यथार्थ त्यस्तो होइन।
त्यो समूह भन्नाले त्यसभित्र इन्ट्राका अध्यक्षले नियुक्त गरेका मान्छेहरुमात्र छन् भन्ने होइन। त्यसमा कोही स्वतःफूर्त सोच मिलेका हुनसक्छन्, कोही धमिलो पानीमा माछा मार्नुपर्छ भन्ने चिन्तनका होलान्, कोही त्यो अमुक संस्थामा जागिर नपाएको झोंक पोख्नेहरु होलान् वा कोहीचाहिं चित्तै नबुझे पनि खुम्चिएर मौन बस्ने, भित्रका कुरा सुटुक्क बाहिर फ्याँकेर विवादको आगो पनि झोस्तै गर्ने अनि, यता आफूचाहिं पाएको जागिर जोगाउन समर्थनको नगरा बजाएर स्वाङ गर्नेहरु पनि होलान्!
एकथरीको रडाको छ, ‘झापामा बन्दकीको उधारो सास फेर्न बसेका मानिसहरुलाई चाहिएको सिर्तो बुझाउने साहु-महाजनलाई चलाउनै हुँदैन! उसले जे जे गरे पनि, जे जे भने पनि; पहिले नै माफीको हकदार छ ऊ। राणाकालीन दरबारका बच्चाहरु जन्मिँदै कर्णेल, जर्नेल र सुवेदार बनेजस्तो गल्ती गर्नुभन्दा पहिले नै क्षमाको वरदान पाएको वरदपुत्र हो ऊ!’
अर्का थरी छन् जो; उनले आफ्नो संस्थामा ठूलो राशीको तलबी जागिर दिनु हो भने चुप लागिहाल्छन्-नदिएका कारण उनी लाञ्छित भएको देख्न चाहन्छन्। अथवा कोही व्यवसायमा साझेदारीको मौका नपाएर भुट्भुटिएका पनि हुनसक्छन्।
ठूलो सोच राखेर ठूला काम गर्न लागेको व्यक्ति वा संस्था सानातिना त्रुटीहरुमा समाजप्रति सहजै निहुरिन सक्छ।
क्षमाशील हुनसक्छ। उल्टा गल्तीमाथि ‘अपराध’ थपेर आफ्नो पक्षको पृष्ठपोषण गर्दैन।
तेस्रो थरीमा एउटा सानो तप्का मात्र छ जो विषयको अन्तरतहमा रहेर सैद्धान्तिक मर्मको मिमांसा गर्नचाहन्छ! तर, गलत गर्ने पक्ष निर्लिप्त भएर यो निष्कलंक तेस्रो पक्षलाई पनि ‘डाही-इर्ष्यालु समूह’को पुलिन्दामा पोको पारेर मलखाडीमा हाल्न चाहन्छ।
म यहाँनेर अदबका साथ भन्छुः उनले गरिरहेका धेरै कामहरु प्रशंसायोग्य छन् र, प्रशंसायोग्य काम गर्नेहरु अरु पनि धेरै छन्। आ-आफ्ना तहमा सबै सम्मान र प्रतिष्ठाका भागिदार छन्। अहिलेको चर्चा भनेको ‘उनले समुदायको उत्पति र इतिहासका बारेमा बोल्दा गलत तथ्य प्रस्तुत गरेकोमा हो। आफ्नै समुदायको अस्तित्वमाथि बज्र हान्ने सत्ताशक्तिको बोलीमा लोली मिलाए; त्यो सुधार्नुपऱ्यो’ भन्नेमात्र हो।
यो साझा सरोकारको विषयमा एक्लो व्यक्ति वा एउटा संस्थाले गरेको त्रुटी दस्तावेज बनेर नबसोस्-आफ्नै बिरादरीबाट सिंगै समुदायले बोकेको ‘मणिरहित अस्वत्थामा शिर’जस्तो इतिहासमा थप घाउ नलागोस् भनेर यो अर्जी गरिएको मात्र हो। यस्तो अर्जीलाई अन्यथा लिएर उल्टै विषमाथि जहर, जहरमाथि हलाहल थप्तै लाने हो भने उनले के जित्न चाहेका हुन् अथवा उनको घिड्घिडोमा सती जानेहरुले के जिताउन चाहेका हुन्, उनीहरु नै जानून्।
अहिले डिल्ली र उनको टोली नेपालबाट झिकाइएका एक चलचित्र पत्रकारलाई अन्तरवार्ता दिएर आफूमाथि लागेको अर्घेल्याइँको कलंक टाल्टुल पार्ने जमर्को गरिरहेका छन्। तर, आफ्नो समुदायको इतिहासको सन्दर्भ नेपाल केन्द्रित सञ्चारकर्मीलाई अन्तरवार्ता दिएर सच्चिन्छ भन्ने सोच्नु बहुलट्ठीपन हो।
हु न त डिल्ली अधिकारीले नेपाली सञ्चारकर्मीलाई अन्तरवार्ता दिनै नहुने होइन। यद्यपि, आफ्नो सामुदायिक अस्तित्वको सरोकारलाई आफ्नै समुदायभित्र व्यापक बहस र परामर्शबाट निष्कर्षमा पुऱ्याउनुपर्छ भन्ने तथ्यबोध उनले बिर्सनु हुँदैन! यदि उनले प्र.सु.लाई अन्तर्वार्ता दिएपछि ती सामुदायिक दायित्वका मर्महरु सबै बिलाउँछन् भन्ने सोचेका भए त्यो अस्ति काठमाडौंको मञ्चमा बोलेको त्रुटीभन्दा अधिक अर्घेल्याइँ साबित हुनेछ।
द्रव्यलगानी र आर्थिक आय-व्ययको हिसाब देखाएर इतिहासिक तथ्यको अर्घेल्याइँ शुध्रिँदैन। जहाँ भत्किएको छ त्यहाँ टाल्नुपर्छ। “गल्ती भयो, अब दोहोरिन्न, अबउसो समुदायको बारेमा बोल्नअघि सल्ला-परामर्श गर्छु” भनिदिँदा सकिने कुरालाई बढाएर उनलाई ‘अलौकिक उपकारी’को रूपमा धुरी चढाउने र उनीबाहेकका अरु सबैलाई ‘अपकारको शूली’ चढाउने प्रवृत्तिले समाजलाई कहाँ पुऱ्याउँछ? उनको धनबलको तुलनामा अरु सबै नगन्य भए, विलिन् भए, बे-अर्थका भए भनेर अन्य सबैको एकमुष्ट अवमूल्यन गर्नु एउटा गलतकार्यको ढाकछोप गर्ने बहानाबाजीको माऊ प्रवृत्ति हो।
यस्तो प्रवृत्ति बेलैमा निस्तेज भएन भने ‘हामी’, ‘हाम्रो समाज’, ‘हाम्रो समुदाय’ भनिरहनुको पनि कुनै अर्थ रहने छैन। ‘उनले चारपाउ ठाडा पारेर हाम्रो टाउकोमाथि झर्न लागेको आकाश थामिरहेका छन्- आलोचना गर्नेहरुका कारण उनले रुद्ररूप धारण गरे यदि र आफूले थामेको आकाश छोडिदिए भने हामी किचिएर मर्छौं’ भनेजस्ता आशयहरु बग्रेल्ती देखिन्छन् जतासुकै।
यद्यपि, यो त्यसो भन्नेहरुको मात्र अर्घेल्याइँ होइन। देश, कानून, समाज र आफू स्वयंको इतिहासप्रतिको संवेदनशीलता नबुझेपछि आगम पुस्ताले गर्ने कुरा यस्तै हुन्छन्। यसमा अग्रज पुस्ताले आफ्नो समाजको इतिहासलाई दस्तावेजीकरण गर्न नसक्नु मूल कारक मानिन्छ। यसरी नै उदासीन रहिरहने हो भने हामीलाई ‘भृत्य र यौनदासीका अवैध सन्तान’ भनेर सम्बोधन गरिएका कुरा पनि कुनै दिन इतिहासको साबिक स्रोत बन्ने छन्।
अहिले इन्ट्राको एउटा मानवशक्ति आलोचकहरुको एउटा तालिका बनाएर उनीहरुका पछि गोटागन्ती अनुसन्धानमा लागेको छ। त्यो उर्जा र लगानी साझा लक्षित योजनाहरुमै खपत गर्नु राम्रो होला। यस्ता अपर्झट आइपर्ने निकृष्ट षडयन्त्रतिर धेरै आकर्षित हुनु बुद्धिमता होइन। ठूलो सोच राखेर ठूला काम गर्न लागेको व्यक्ति वा संस्था सानातिना त्रुटीहरुमा समाजप्रति सहजै निहुरिन सक्छ। क्षमाशील हुनसक्छ। उल्टा गल्तीमाथि ‘अपराध’ थपेर आफ्नो पक्षको पृष्ठपोषण गर्दैन।
अनुसन्धान र मूल्यांकन आ-आफ्ना तहमा सबैले गरेका हुन्छन्। मेरो आफ्नो आँकलनमा माथि उल्लेख गरिएको पहिलो थरी मनोवृत्तिमा जो ‘पृथ्वीनारायण शाह’को महिमा बखान गर्ने वीरकालीन कवि सुवानन्द दासको यो निम्न कविता-भाव चरितार्थ गर्नेहरुको एउटा जत्था छ।
“…धनको दुबलो भञा भोककं भोर्जन नाहिं
काम करुँ दाहि नाहि बतयेको करेम नाहिं
ठंण्डसं वस्त्रा नाहि राजैभक्ति कृति जानी
लाउने सुवानन्ददास है:”
यद्यपि, यस्ता मूल्यांकन र अनुमानहरु सधैं सबै ठाउँमा शतप्रतिशत सही नहुन पनि सक्छन्। कुनै एउटा पक्षको किटानी निर्धारणमा लालमोहर ठोकिदिने यहाँ कोही पनि सर्वसम्मत न्यायधीश छैन। यसर्थ आफ्नै मात्र पक्षमा लिँडेढिप्पी गर्दै सिंगै समाजको साझा दृष्टिकोणमा दखल दिन खोज्नु सामान्य भूल नभई एउटा अक्षम्य अपराध हुनेछ भन्ने कुरा समय छँदै सोच्नु हितकर हुन्छ।
जे होस्, एउटा विषयले समाजमा धेरैखाले प्रवृत्तिहरु देखाउँछ नै। अहिले पनि त्यस्तै भइरहेको छ। जुनसुकै साझा विषयले पक्ष-विपक्ष र तटस्थ समीक्षकहरुको पहिचान त गराउँछ नै। त्यसमा धेरै आत्तिनुपर्ने केही छैन।
यहाँ मूल चिन्ताको विषय कति हो भने जातीय अस्मिता र इतिहासको सामाजिक संरक्षण गर्ने सरोकारविरुद्ध नागरिक स्वतन्त्रताको आवाजलाई ‘जातिसफाया’ मा रूपान्तरण गरेर उनीहरुको पौरखी इतिहाससमेत निर्मूल गर्न लागिपरेको एउटा वर्ग छ। त्यो वर्गको परिचालन र संरक्षणमा एउटा सिंगै देशको सत्ताशक्ति छः क्षेत्रीय शुभचिन्तक-प्रचारकहरु क्रियाशील छन्। अनि त्यही वर्गले षड्न्त्रको ताँबे गाग्रोमा ढड्याएको उगाल घुड्क्याउँदै मातेका केही हुलियाहरु धमाधम उसैले निर्माण गरेका भ्रमजालमा सिफारिशको औंठाछाप ठोखेर लाखेनाच नाचिरहेका छन्।
यस्तो गम्भीर अवस्थामा आफ्नो समाजका सबैले साझा सरोकारका तमाम पक्षको बचाउ गर्नुपर्ने जिम्मेवारी बोध हुनुपर्छ। आफ्नै समाजको जरा उखेल्ने नियतमा क्रियाशील एउटा शक्तिलाई सहयोग पुग्नेगरी कुनै कार्य गर्नुहुँदैन भन्ने सन्देशमात्र दिन खोजिएको छ अधिकांश समालोचकहरुको मनाशयमा। यसर्थमा गल्ती भइसकेपछि गल्ती गर्ने पक्षले समालोचकहरुकै विरुद्ध सिँगौरी खेल्ने नियत देखाउनु मूर्खताको हद् हो। त्यस्तो मूर्खताले भविष्यमा गरिनुपर्ने सहकार्य लक्षित सम्बन्धका सेतुहरु पनि भत्काउँछ।
आदरणीय पाठकहरुमा एउटा कुरा प्रष्ट पारौं! अहिलेसम्म यो पंक्तिकार कसै व्यक्तिको नाम प्रत्यक्ष उल्लेख नगरी लेख सिध्याउने अभिप्रायमा थियो। तर, त्यो कुरा साध्य भएन। यहाँनेर प्रसंगवश इन्ट्रा-आध्यक्ष डिल्ली अधिकारीको नाम जोडिने नै भयो। उनको नामबिना सन्दर्भ नजोडिने भयो, उठाइएको प्रसंग टुट्ने खतराबाट जोगाउन म यहाँनेर उनको नाम उल्लेख गर्न बाध्य भएँ।
अँ ! डिल्ली अधिकारीले दिएको वक्तव्यमा ‘भूटानका तेस्रो राजा जिग्मे दोर्जी वाङ्चुकले हाम्रा पुर्खाहरुलाई सन् १९७० को दशकभित्र भूटान लगेका र उनकै पुत्रराजा जिग्मे सिंगेले देशबाट लखेटेका’ भनेर प्रष्ट बोलेका छन्। उनको वक्तव्यमा कुरो त्यतिमात्र छैन।
भूटानमा रहेर पनि हाम्रा पुर्खाहरुले भूटानको विश्वासपद्धतिलाई अमान्य गरेका, दैलोमा नेपालकै राजा-रानीको तस्वीर राखेर पूजा गरेका इत्यादि कुरा पनि छन् त्यो वक्तव्यमा जो सर्वथा झूटा नभए पनि तिनका पछि विशेष कारणहरु छन् जो वक्तालाई ज्ञान नहुन सक्छ। त्यो अध्ययन गर्ने दायित्व उनको हो। वक्ताको आशयले के देखाउँछ भने उनी मुढेबलमा आफूलाई ‘नेपाली’ साबित गर्न सिंगै समाज मुछेर भूटानमा नेपालीभाषीहरु अल्पकालीन अवधिका लागि अस्थायी बसोबास गर्दथे भन्ने प्रमाणित गर्न लालायित छन्।
डिल्ली अधिकारीले कैयौं मानिसहरुसँग व्यक्तिगत तहमा कुराकानी गर्दा ‘भूटानका नेपालीभाषी पुर्खाहरु गोर्खाबाट ताँबोपत्र गरी त्यहाँका धर्मराजाले लगेको’ भन्ने विभिन्न लेखक-इतिहासकारका टिपोटहरु निराधार र झुटा भएको दाबीसमेत गर्न भ्याएका छन्। उनका कुरा सुन्दा लाग्छ उनी नजान्ने मान्छे त होइनन् तर, जानेरै पनि उनी आफ्नो जिद्धिमा अडिन चाहन्छन्। ताँबोपत्रको प्रसंग र त्योबेलाका पुर्खाका सन्तान आज कहाँ छन् त? भन्ने जिज्ञासा अरु धेरैमा पनि हुनसक्छ। त्यो बुझ्नलाई भारत-भूटानको सीमा राजनीति अध्ययन गर्नुपर्ने हुन्छ। कतिपटक भूटानभूमि भारतले हडप गरेको छ, कति भूटानका गाउँ-क्षेत्रहरु नागरिकसँगै भारत-भारतीय बनेका छन् भन्ने तथ्यहरु केलाउनुपर्छ।
अहिले यतिमात्र भनौः रामशाहकालीन गोर्खाबाट ताँबोपत्र गरी विसुन थापा मगरको नेतृत्वमा भूटान पुऱ्याइएका ५० परिवारका सन्ततीहरु आज पनि भारतको पश्चिमबंगाल राज्यको एउटा देहाती गाउँमा छन्। यसबारे तल थप बुँदामा व्याख्या गरिनेछ! भन्न खोजिएको कुरा कति भने विसुन थापाको सन्तति-उत्तराधिकार म हुँ भनेर दाबी गर्ने कोही भेटिएन भन्दैमा त्यो ताँबोपत्रको प्रसंग नै झूटो भनेर अपव्याख्या गर्नु एउटा गम्भीर षड्यन्त्रको सूत्रधार साबित हुनु हो।
यसबारेमा सचेतता अपनाउनु डिल्ली अधिकारीमा निहित समाजप्रतिको नैतिक दायित्वभित्र पर्छ कि पर्दैन? उनले नेपालीहरुको भूटान प्रवेश केही दशक अघि (सन् १९७० तिर) मात्र भएको र उनीहरु भूटानमा रहँदा पनि त्यहाँको प्रणालीलाई नै उपेक्षा गरेर ‘सधैं नेपाली’ रहन सफल भएका भन्दै यसमा सबैले गर्व गर्नुपर्ने आशय व्यक्त गरेपछि विवाद शिखरमा पुगेको हो। भूटानबाट निर्वासित समुदायले आफ्नो नेपालीपनलाई प्रमाणित गर्न भूटानका अस्थायी वासिन्दा बन्नुपर्ने, भूटानमा बनिबुतो गरिखाने मजदुरका रूपमा पेश हुनुपर्ने होइन। उनीहरुका पुर्खा भूटानी बनेर १५ सय वर्ष पार गरिसके पनि उनीहरुले नेपालीभाषा बोलुञ्जेल, उनीहरुको ज्यान-मनमा नेपाली ढाँचा र शैली रहेसम्म, नेपाललाई उनीहरुले पितृभूमि मानेसम्म उनीहरु सधैं ‘सांस्कृतिक नेपाली’ बनिरहन्छन्। यो कुरा प्रमाणित गर्न डिल्ली अधिकारी र प्रचण्ड दाहालको सिफारिश आवश्यक छैन।
काठमाडौंको कार्यक्रम समापनपछि इन्ट्राद्वारा झापामा आयोजित स्थानीय भेलामा त्यहाँका पूर्व-उपसचिव टीबी राईले डिल्ली अधिकारीको गलत वक्तव्यको समर्थनमा बोलेका थिए। विचार पनि नमिलिरहेको तर, समर्थन गर्नैपर्ने दोधारको स्थिति स्पष्ट थियो उनको बोलीमा।
उनी भन्दै’थे,“हामीलाई भूटानी भनिसकेपछि, हाम्रो परिचय भूटानी भइसकेपछि को कहिले कताबाट भूटान गयो भनेर किन वक्तव्यबाजी गरिरहन पऱ्यो!” उनलाई त्यहाँनेर डिल्ली अधिकारीको काठमाडौं वक्तव्यमाथि आलोचना गरेका बलराम पौडेलप्रति विरोध जनाउनु’थ्यो! उनको भनाइ बलराम पौडेलले जारी गरेको प्रेस विज्ञप्तिको आशयमा ठ्याक्क मिलिरहेको थियो। तर, संकट थियोः पौडेलको विरोध र अधिकारीको समर्थन गर्नैपर्ने उनको बाध्यता। त्यसर्थ उनी आफ्नो मन्तव्य मोडेर विषयान्तर गर्न हतारिएझैं थिए।
पूर्व-उपसचिव राई विस्तारै विषय मोडेर पौडेलले विज्ञप्ति जारी गरेको लेटर-हेडमा ‘मुख्यालय थिम्पू-भूटान’ लेखिएको प्रसंगतिर तर्क दिनलागे! उनी जोडतोडका साथ प्रचण्डको समर्थन गर्दै प्रचण्डहरुले क्रान्ति गरेर नेपालमा गणतान्त्र स्थापना गरेको तर, भूटानका निर्वासित नेताहरुले आन्दोलनको कुनै उपलब्धि नगरेको, आफूहरुलाई शरणार्थी शिविरमा अलपत्र पारेको अभियोग लगाइरहेका थिए।
उनलाई थाहा छैन शायद, नेपालको राजतन्त्रसित भारत असहमत रहेको कारण उसैको जोडबलमा नेपालको आन्दोलन सफल भएको हो तर; भूटानको राजतन्त्र जसरी पनि बँचाउने भारतले कसम खाएको छ। त्यसैले स्वतन्त्रता पक्षधरहरुलाई सधैं थिचेर कल, बल, छल गरी बद्नाम र लाञ्छित गराउन भारत नै लागिपरेको छ भन्ने मूल्यांकन गर्न राईको क्षमताले भ्याउने कुरो भएन शायद! बलराम पौडेलहरुले आफ्नो पार्टीको मुख्यालय ‘थिम्पूमा छ’ भनेर लेखेको कुरामा त्यत्रो उपहास गर्ने टीबी राईले के विचार पुऱ्याउँदा हुन्, उनले इष्टदेव ठानेका प्रचण्डहरुले भारतमा बसेर नेपालमा भूमिगत युद्ध गरिरहँदा उनीहरुको मुख्यालय रोल्पा र रुकुमतिर किन थियो?
खैर जो होस्, राई विचरा हुन्, अघि माथि नै भनियो, उनलाई विरोध गर्नुपर्ने विचारको समर्थन र समर्थन गर्नुपर्ने विचारको विरोध गर्न कठिन भइरहेको थियो।
राई स्वयं शिविर व्यवस्थापनमा काम गरेका मान्छे। अधिकारी पनि पहिले कुनै बेला शिविर व्यवस्थापनमा अनुभव लिएकै मान्छे। नेपालका शरणार्थी शिविरहरुको व्यवस्थापन गर्ने क्रममा नेपाल सरकार र यूएनएचसीआरले राखेको प्रावधानले शरणार्थीबीचकै भए पनि राजनीतिक दलका पदाधिकारीहरुलाई शिविरभित्र बसोबास गर्न दिइएन। सोही व्यवस्थाबमोजिम डीबी राई, भीम सुब्बा, बुढाथोकी, पौडेल, बस्नेत, रिजालजस्ता केही मानिसहरु शिविरभन्दा बाहिर बसेका हुन्। टीबी राई र डिल्ली अधिकारीहरुलाई यूएनएचसीआरको यो व्यवस्थापकीय प्रावधान थाहा नहुने कुरै भएन।
अनि अहिले काठमाडौंको कार्यक्रमपछि विकसित परिस्थितिमा अमेरिकाको एउटा नागरिक अधिकारी, झापाको शरणार्थी शिविरमा पुगेर ‘मचाहिं यहाँसम्म आएँ, खै ती नेता भनिनेहरु यहाँ किन आएनन्-भन्ने; टीबी राई मन मिचेर गलत वक्तव्यलाई सघाउनेः संसारभरि छरिएका भूटानीको त कुरै नगरौः यस्तो थेत्तरो नौटंकीबाट अहिले झापामै रहेका शरणार्थीको भविष्यमा के लाभ हुन्छ?
भूटानको सरकार त दिल्लीकै अधीनमा छँदैछ, नेपालको सरकार पनि दिल्ली (भारत) को निर्देशनभन्दा टाढा छैन। राजनीतिक सम्भावनाको सुई जता पनि घुम्छ! भोलि लु त्यो शरणार्थी शिविरका मान्छे त भखरै भूटान गएका रहेछन्, शिविरबाट तुरुन्तै हटाऊ भनेर दिल्लीले आदेश गऱ्यो भने प्रचण्ड-नेतृत्वको सरकारले डोजर लिएर शिविर भत्काउने मान्छे पठाउन सक्छ! त्योबेला डिल्लीले के गर्न सक्छन्; टीबी राईले के गर्न सक्लान्?
प्रचण्डका सामु उभिएर ‘भूटानमा राजतन्त्रको स्थापना हाम्रै पुर्खाले गराएका हुन्, त्यो भुगोललाई आधुनिक देश बनाउने हाम्रै अग्रजहरु हुन्! आज हाम्रो विचल्ली बनाउने त्यो देशको सरकारलाई छलफलमा ल्याउ र चाँडो निर्णयमा पुऱ्याउ दर्बिलो कदम चाल भनेर दवाब दिनु हो भने डिल्ली अधिकारी र टीबी राईहरुको केही नोक्सान हुन्थ्यो? आज संसारभरि छरिएकाहरु ‘हामी एकमुष्ट छौं’ भनेर गोलबद्ध हुने दिशा तय गर्नुपर्ने ठाउँमा आफैं भाँडको स्थिति पैदा गरेर कहिले ‘ती शिविर बाहिर बसेकाहरुले नेपाली नागरिकता लिएका हुनसक्छन्; तिनीहरुप्रतिको विश्वास र निष्ठा त्याग, केवल हामी (अहंकार परस्तम म) प्रति भरोसा गर’ भनेर संशय पैदा गराउने, कहिले गुप्तचरको धम्की दिने! यस्ता अनर्गल गतिविधिले उनी वा उनको दल नै हरेक जुक्तिबाट, हरेक कोणबाट भूटानको शासकसत्ताले गर्दै आएको दाबीलाई टेवा दिने मनाशयमा क्रियाशील छन् भन्ने संकेत गर्दछ।
‘बोल्दा उनको जिब्रो फुत्किएको’ दाबी गर्नेहरुले उनी बोलेको श्रव्यदृश्य चित्र सयपटक हेर्नुहोस् । शब्द शब्द केलाउनुहोस्। एक-ढेड वर्षदेखिका उनका भनाइहरु, दाबीहरु केलाउनुहोस्। यसै पनि प्रष्ट भइहाल्छ।
अँ ! एउटा कुरा बडो इमान्दारी साथ भन्नुपर्छ; निर्वासित भूटानीहरुको इतिहास र राजनीतिक दायित्वबोधमा धक्का दिन जमर्को गर्ने डिल्ली अधिकारी नै प्रथम व्यक्ति होइनन्। यसमा अनेक सूत्रधारहरुको लस्कर रहेको अनुमान गर्न सकिन्छ।
सबैभन्दा पहिले हाम्रो इतिहासमाथि कलंकको धब्बा पोतेर WIKIPEDIA: the free Encyclopedia लेख्छः
“…slaves who arrived in Bhutan ….were the forefathers of modern Lhotshampa, a heterogeneous community of Nepalese origin in southern Bhutan. Although slaves had no personal or professional liberty, they filled military and administrative ranks within the government, including high posts, a silver lining of upward mobility. The Royal Government placed male youths in the service of the palace and in provincial administrative centers. This provided generations of technically competent, politically dependable cadres serving lifelong roles. Female slaves, however, were used mainly as sex slaves in brothels.”
[The above picture is just for clue. You must follow other pages to find all the content regarding the topic we talked here.]
भूटानका पूर्वविदेशमन्त्री दावा छिरिङका निम्न प्रस्तुत मन्तव्यको ढल्पले दोहोरो अडानले के पुष्टि गर्छः पाठकहरु स्वयं आँकलन गर्नुहोस्!
“The Nepalese have been settling down in our Southern plains from the seventh century. We welcomed them because they were hard-working people. But they cannot be permitted to swamp us.” Bhutanese Foreign Minister Dawa Tshering: [The Statesman, 12 February 1991.]
“Many of the illegal immigrants had come to Bhutan to work on development projects like roads, buildings and dams in the 1960’s and 1970’s. And they never teturned, just stayed on.” Bhutanese Foreign Minister Dawa Tshering: [The NewYork Times, 6 June, 1993.]
निर्वासित समुदायका विद्वान अग्रज मानिएका डा. डि.एन.एस. ढकाल पनि दोहोरो मापदण्डको कुरा गर्नबाट छुटेका छैनन्। उनका थुप्रै कथनहरुमा विमति रहे पनि म यहाँनेर एउटा मात्र उदाहरण पेश गर्नचाहन्छु। ‘भूटानः निर्वासनमा संघर्षको एउटा अभियान’ (द मुभमेण्ड इन एक्जाइल) नामक आफ्नो पुस्तकको प्रस्तावना (Preface) देखि विभिन्न अन्य अध्याय र शीर्षकहरुमा उनी नेपालमा रिजालजीको ‘अपहरण’ [Abduction] भएको थियो भनेर लेख्छन्। [“After Rizal’s abduction members of PFHR dispersed for a while, partly due to the lack of central leadership and partly to escape abduction or harrasment of the royal government.”] {D.N.S. Dhakal/Christopher Strawn: Bhutan: Movement in Exile: P- 285}
तर, भखरै प्रकाशित उनको अर्को कृतिमा भने उनले टेकनाथ रिजाललाई ‘…स्वदेश फिर्ती गराइएको’, लेखेका छन् । (“At the Request of Bhutanese Government, the Government of Nepal forcibly repartriated Rizal and his associates to Bhutan”. [‘Bhutan:A memoir of refugee struggle and suggetion for an Amicable Resolution’ P- 26].
यस्ता अमेल विचार, तथ्य र भनाइहरुले समाजको विकास र स्थायित्व, पहिचान निर्धारण र सम्बोधन, न्यायिक निरुपण र सहजीकरणमा बाधा गर्नबाहेक अरु के उपलब्धि हुन्छ?
हुन त Weakipedia र यी निजी तहमा प्रकाशित यस्ता पुस्तकहरुलाई आधिकारिक सरकारी दस्तावेज मान्न नसकिएला। यद्यपि, भूटानको सरकारी सक्रियता अथवा त्यहाँको दरबारद्वारा ‘रेड कार्पेट ह्वेलकम’ पाउने अतिशयोक्ति लालचाले यस्ता विचार प्रवाहित भइरहेको गन्ध भने यथेष्ट पाइन्छ। हुँदाहुँदै अहिले आएर डिल्ली अधिकारीजस्ता इतिहासको गम्भीरतर्फ संवेदनहीन, बेपरवाह प्रवृत्तिको उत्पादनमा पनि तिनै लालची अभिप्रायहरु जोडिन्छन् कि भन्ने थप सन्देह पैदा भएको छ।
त्यो माथि उल्लेख भूटानीहरुप्रतिको भद्दा र अश्लील सम्बोधन भूटानको दरबार अथवा सरकारी रायबिना ह्विकीपेडिया ‘ह्वेब ब्राउजर एक्लै’ले कदापि लेख्न सम्भव छैन भनेर सबैले बुझ्ने कुरा हो। सन् १९८८ मा प्रकाशित ‘ब्रिटिश लाइब्रेरी’ मा रहेको जसवीरसिंह कौरको पुस्तक Himalayan Triangle: A Historical Survey of British India’s Relations with Tibet, Sikkim, and Bhutan, 1765-1950 हेरियो भने पनि माथि लेखिएका (खासगरी भूटानले खर्च गरेर लेखाएका)- का कथनहरुको पुष्टि गर्न सहज हुन्छ।
अतः यस्ता तथ्यहरुबाट प्रष्ट हुन्छ भूटानको शासकीय शक्ति नेपाली भाषा र संस्कृतिमा आबद्ध त्यहाँका नागरिहरुलाई बेइज्जत, लाञ्छित बनाई बेइमान साबित गराउँदै लखेट्ने मात्र नभएर उनीहरुको इतिहास नै कलंकित गराउन सधैं लागिपरेको छ। अनि निर्वासनमा रहेका कथित नेतादेखि उनीहरुका चेला-चपेटासम्मले आफ्नै इतिहासमाथि यसरी गोब्र्याउँदै गर्दा पनि उनी (हरु)लाई कुनै प्रश्न, आलोचनारहित धन्यवाद दिइनुपर्दछः किन दिइएनः स्याब्बासी किन दिइएन? भनेर उकुर्जी गर्नेहरुको समूहसमेत हुर्किरहेको देखिन्छ । योभन्दा दुःखदायी कुरा अर्को के हुनसक्छ?
बिर्सनै नहुने ऐतिहासिक पक्षहरुः
दक्षिण एशियाको भूटान भनिने एउटा देशसित सम्बन्ध राख्ने हरेक नेपाली सांस्कृतिक पृष्ठभूमिका मानिसहरुले अध्ययन गरी सधैं जोगाइराख्नुपर्ने केही ऐतिहासिक पक्षहरुः
• उहिले एकबेला नेपाल टिस्टा नदीसम्म फैलिएको थियो। अंग्रेजसित युद्धमा हारेको कारण सन् १८१६ मा सन्धि गरी मेची पूर्वको जमीन भारतमा गाभिएको थियो। त्योबेला भूमिसँगै भारतीय बनेका नेपालीहरुको लेखाजोखा भएको छैन!
• सन् १७७४ सम्म भूटानको दक्षिणी भाग कुचबिहारमा टुंगिन्थ्यो। युद्धमा जितेर कुचबिहार अंग्रेजले हडपेपछि बंगालको एउटा जिल्ला बनेको हो। सन् १८४१ सम्म भूटानको पश्चिमी सीमाक्षेत्र कालेबुङमा र पूर्वदक्षिण भाग ग्वालपाडामा पुगेर टुंगिन्थ्यो! त्यहाँ पनि अंग्रेजसितको युद्ध हारेकै कारण सन् १८६५ मा सन्धि गरी कालेबुङलगायत अहिले आसाम र पश्चिम बंगालमा पर्ने १८ वटा द्वारक्षेत्र अंग्रेजी भारतमा गाभियो।
माथिका यी दुइ प्रसंगबाट यहाँहरुले बुझिसक्नुपर्छ; इतिहासको कुनै कालखण्डमा आज भूटान भनिने मुलुक र नेपाल देश आपसमा सिमाना जोडिएका भूगोल थिए। अझ प्राचीन इतिहासको कुरा गर्ने हो भने नेपाल हाल आसामको कामक्षसम्म फैलिएको प्रसंग पनि छँदैछ। पछि विभिन्न युद्धका कारण खुम्चिँदै आएको तथ्यलाई नकार्न सकिँदैन।
सिमाना जोडिएको भूगोलमा एकतिरका बासिन्दाहरु अर्कोतिर जानु वा आउनु, कुनै सारन-तारन गर्नुलाई खास्सै ठूलो कुरो मानिँदैन। युद्धको स्थितिबाहेक उहिले आजजस्तो अनेक नाम राखिएका कुनै देशको पनि राज्यव्यवस्था सुदृढ भइसकेको थिएन। यसर्थ को कुन देशको नागरिक भन्ने त कुरै भएन ! त्योबेलाको परिस्थिति नकेलाईकन आजको सन्दर्भमा कसले कसलाई कहाँबाट कता लग्यो भन्ने कथा बेढंगको बुद्धिविलासमात्र हुन्छ। आजकै परिवेशमा पनि नेपाल-भारत-भूटानबीच खुल्ला सिमानाको प्रभाव र असर देखिसकेका मानिसहरुलाई त्यो प्राचीन अवस्थाको व्याख्यान गरिरहन आवश्यक छैन शायद! सबैले सहजै बुझ्ने कुरा हो। आज पनि सिमाना सरेको/सारिएको कारण एक देशका नागरिक अर्को देशमा परेका अनेक घटनाहरु छँदैछन्।
सन् १९७३ देखि शुरु गरिएको भारत-भूटान सीमा निर्धारणको क्रममा राति भात खाएर भूटानमा सुतेका मानिसहरु बिहान उठ्ता भारतीय भएका घटना ताजै दिमागमा बोक्ने मानिसहरु अहिले पनि जीवितै भेटिन्छन्।
यस सरोकारमा गमेर सोच्नुस् त, सन् १८१६ मा नेपाल खुम्चिएपछि कति नेपालीहरु पारीपटि छुटे होलान्! त्यसअघि कति मानिसहरु टिस्टा तरेर पारितिर पसेका थिए होलान्? अथवा टिस्टाको सिमाना जोडिएका आज भूटान भनिने देश र नेपालबीच कति मानिसहरु वारिपारि भए होलान्! त्यसै गरी उत्तरतिर सिमाना जोडिएको भोटबाट कति भोटियाहरुको आउजाउ भयो होला? हाल नेपालमा वा भूटानमा भएका भोटियाहरुमध्ये को कताबाट आएका होलान्? त्यसबेलाको अंग्रेजी भारत, भूटान र नेपालमा रहेका आज ‘नेपाली’ संज्ञाले चिनिने मानिसहरु को को कताबाट आए वा कहाँ गए होलान्! यो आएको, गएको वा लगेको र लगिएको सन्दर्भ आजको विश्वमा किन मुद्दा बनिरहेको छ, कसको कारण? यसबारेमा चिन्तन/विश्लेषण जरुरी छ।
“सन् १६२४ मा गोर्खाका राजा रामशाह र भूटानी लामाराजा शाब्ड्रुङ नावाङ नाम्गेलबीच सम्झौता गरी बिसुन थापा मगरको नेतृत्वमा ५० परिवार भूटान लगिएको भनिन्छ तर, हामी बिसुन थापा मगरका सन्तती हौं भन्ने मान्छे भूटानमा भेटिँदैनन्? छन् भने कहाँ होलान् ?” भनेर मलाई कसैले प्रश्न गऱ्यो, प्रश्नकर्ता भुलें तर, प्रश्नचाहिं याद छ।
नभेट्नेहरुले भेटेनन् भन्दैमा इतिहासमा भएको कुरो फेरिँदैन। ती प्रश्नकर्तालाई म सविनय निवेदन गर्दछु कि आजको भूटान भनिने भुगोलमात्र त्योबेलाको देश थिएन। आजको पश्चिम बंगाल भनिने राज्यको कुनै देहाती गाउँमा बिसुन थापा मगरका सन्ततीहरु अहिले पनि छन्। अझै पनि उनीहरुसित जिजु-च्याब्जुको नासो छ; उनीहरुको स्मरण र श्रुतीमा आधारित इतिहास मरेको छैन। यस विषयमा म स्वयंले धेरै अध्ययन गर्न भ्याएको छैन। स्वयं अध्ययन नगरेको कुरामा धेरै व्याख्या गर्न चाहन्न। तर, उनीहरु छन् भन्नेसम्मको जानकारी दिन यति कुरा जोडिए। केही समयभित्रै सो विषयको खोजबीन हुने कुरामा पाठक र प्रश्नकर्ताहरुलाई आश्वास्त रहन अनुरोध छ।
अब शुरु गरौं भूटानमा नेपाली सांस्कृतिक पृष्ठभूमिका मानिसहरुको प्रवेशबारेको कुरा! सातौं शताब्दिमा गुरु पद्मसम्भवको भूटान यात्रा, प्राचीन नेपालकी छोरी भृकुटी देवीका खसम, तिब्बती राजा सोङ्सेन गेम्पोको समय र शाब्ड्रुङ नावाङ नाम्गेलका कुरा धेरै पुराना भए-तिनको सन्दर्भ छोडौं। नयाँ ताजा समयकै विषय उठान गरौं!
सन् १७८० मा शाब्ड्रुङ व्यवस्था अन्तर्गतको देशी वा देवराजा मुख्य प्रशासक रहने प्रणालीमा उम्जे ‘थापा’लाई देशी बनाइएको प्रसंग डा. डि.एन.एस. ढकालले पनि उठाएका छन्। (The movement in Exile: P-116) । यद्यपि, भूटानले राखेको शासकहरुको तथ्यांकमा चाहिं डा. ढकालको टिपोटविपरित ती देशीको नाम र कार्यकाल फरक छ। भूटानको सरकारी तथ्यांकमा उम्जेको कार्यकाल सन् १७९२ मा शुरु भएर सोहीवर्ष अन्त्य भएको उल्लेख छ भने उनको नामथर पनि उम्जे थापा नभएर ‘उम्जे चाबछाब’ लेखिएको छ। हुन त जोङ्खा भाषाको अपूर्ण उच्चारणविधि, भाषान्तरको सुविधा अभाव, भोटिया शासकीय कर्मचारीहरुको उदासिन्ता वा धुर्त्याइँले पनि ‘थापा’ लाई ‘चाबछाब’ बनाउने काम गरेको हुनसक्छ। सन् १९८८ को ‘कालो’ जनगणना र ‘सी.ओ.’ को समस्या भोगेकाहरुले भूटानमा नामथरको हेरफेरबाट हुने पीडाबारे राम्रै ज्ञान लिएका छन्। अनि ती ‘थापा’ देवराजा बनेको प्रसंग त झण्डै दुइसयवर्ष अघिको कुरा थियो; कुरो जे पनि हुनसक्छ! जे होस्, यस्ता कुराको तथ्य पुष्टि गर्ने ठोस आधार नपाइए पनि नेपालीभाषीहरु सन् १८०० पूर्व नै भूटानका प्रशासकीय पदहरुमा समेत विद्यमान थिए र नेपालीहरुको भूटानप्रवेश कहिलेदेखि भयो होला भन्ने अनुमान लगाउन गाह्रो छैन।
त्यो समयभन्दा अझ धेरै पछि सन् १८९० मा जोहन क्लड ह्वाइटद्वारा लिखित ‘Sikhim And Bhutan Twenty-One Years On The North-East Frontier 1887-1908’ मा एउटा चाखलाग्दो प्रसंग यस्तो छः
“विगत १५ वर्षदेखि भूटानको दक्षिणी भेग-समतल क्षेत्र सिब्चु (सिब्सु) वरिपरिका गौचरनलाई नवप्रवेशी नेपाली वासिन्दाहरुले ओगटिदिएका कारण ‘हा’ का पशुपालकहरु रुष्ट बनेका छन्। उनीहरुको सम्पत्तिको प्रमुख स्रोत गोधन र दुग्ध पदार्थको उत्पादनमा यसरी बाधा परेपछि उनीहरु [हा जिल्लावासी] र पहाडिया [नेपालीहरु] बीचमा उठ्ने गरेको झगडाले धेरै चिन्ता र चासो बढाएको छ।”
ह्वाइटको यो भनाइले के पुष्टि गर्दछ भने नेपालीभाषीहरु भूटानमा जग्गाको स्वामित्वसहित बसोबास गरेको समय सन् १९०० भन्दा धेरै पहिले हो।
ह्वाइटभन्दा एकवर्ष अगाडि नै (सन् १९०४) चार्ल्स वेलले पनि भूटानबारे लेखेको पुस्तकमा सिब्चु र ‘साङ-बी’ का मुखिया ठिकादारहरु काजी नन्दलाल क्षेत्री, गर्जमान गुरुङ र लालसिङ गुरुङले आ-आफ्नो अख्तियारीमा जम्मा २ हजार ७ सय ३० परिवारको रेखदेख गरेको जनाएका छन् जसको कूलसंख्यामा १५ हजार व्यक्तिहरु थिए र तीमध्ये १४ हजार नेपालीहरुमात्र थिए भन्ने उल्लेख छ। (AC SINHA-2004 P-29)
लेखक अवधेश कुमार सिन्हाले सन् १९३० को ‘राजकीय भारतीय श्रमिक आयोग’लाई उद्धृत गर्दै सन् १९११ देखि १९२१ सम्म असीमित संख्यामा नेपालीहरु भूटान प्रवेश गरेका जनाएका छन्। खेती-किसानी र पशुपालन गर्दै सीमासुरक्षामा राजालाई साथ दिने वाचाबन्धनमा भूटानका तत्कालीन शासकहरुले अत्यधिक प्रलोभन देखाएपछि भारतमा चियाकमानको मजदुरी त्यागेर नेपालीहरु त्यता भागेका सिन्हाको आरोप छ।
अहिलेसम्म व्याख्या गरिएका यी तमाम कुरा पढिसकेपछि यहाँ बौद्धिक पाठकहरुले स्वयं निर्धारण गर्नुहुनेछः ‘तेस्रो राजाले सन् १९७०/१९७२ तिर भूटान लगेर चौथो राजाले खेदेका’ भूटानीहरु को थिए-कहाँ थिए! उनीहरुको न्वारनदेखि श्राद्धसम्मको लेखाजोखा गर्नुपर्ने बाध्यता नआवोस्- सबैमा सिर्जनशील, अध्ययनशील चेतना बढोस्, सर्वे भवन्तु सुखिनः!
►इति◄
लेखक घिमिरे अमेरिका निवासी भुटानी नागरिक हुन।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.