नयाँ बसपार्क २४ सै घण्टा सञ्चालन गर्न माग

नयाँ बसपार्क २४ सै घण्टा सञ्चालन गर्न माग

काठमाडौँ : मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कलाई २४ सै घण्टा सञ्चालन गर्नुपर्ने माग भएको छ।

नयाँ बसपार्कस्थित सञ्चालित कान्तिपुर मलले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी खुलाएको उपहार योजनाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा मलका महाप्रबन्धक अमर निरौलाले नयाँ बसपार्कलाई आवश्यक सुरक्षा दिएर २४ सै घण्टा सञ्चालन गर्ने वातावरण राज्यले निर्माण गर्नुपर्ने बताएका हुन्।

नयाँ बसपार्कबाट हाल देशभरका ६० भन्दा बढी जिल्लामा सवारीसाधन आवतजावत हुँदै आएका छन्। निरौलाले भने,‘मुलुकको राष्ट्रिय बसपार्क नयाँ बसपार्कलाई चौबीसै घण्टा सञ्चालन गर्नका लागि व्यवसायी तयार छन्, यसमा राज्यले आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्छ।’

काठमाडौँ महानगरपालिकासँग सम्झौता गरी २०५४ सालदेखि ल्होत्से बहुउद्देश्यीय प्रालिले सञ्चालन गरेको नयाँ बसपार्कबाट हाल देशभर दैनिक ५०० भन्दा बढी सार्वजनिक बस तथा माईक्रोबस आवतजावत गर्दै आएका छन्।

महाप्रबन्धक निरौलाले सरकारले विमानस्थललाई २४ सै घण्टा सञ्चालन गरेजस्तै नयाँ बसपार्कलाई समेत सञ्चालन गर्न सके मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। कान्तिपुर मलले विगत १६ वर्षदेखि दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजनासमेत सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

मलले एक हजार रुपैयाँ भन्दा बढी रकमको सामान खरिद गर्ने ग्राहकलाई उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सिसीको यमाहा मोटरसाइकल, द्वितीय पुरस्कार ११३ सिसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौथो पुरस्कार डिएचआई १८५ लिटरको फ्रिज दिने घोषणा पनि गरेको छ। यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ।

उक्त पुरस्कार आगामी मङ्सिर ११ गते खोलेर विजयी घोषणा गरिने मलले जनाएको छ। कान्तिपुर मलमा करिब २०० व्यावसायिक सटर सञ्चालनमा छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.