बग्गीमा जाने भए राष्ट्रपति पौडेल

बग्गीमा जाने भए राष्ट्रपति पौडेल

काठमाडौँ : इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ। इन्द्रजात्राको लिङ्गोलाई भदौ ३१ गते भोटाहिटीमा ल्याएर राखिएको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ।

इन्द्रजात्राको लिङ्गोलाई बाजागाजा सैनिक सलामी साथ असोज ६ गते शनिवार बिहान १०ः३९ को शुभ साइतमा नगर प्रवेश गराई भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमान ढोका अगाडी पुर्‍याई सुरक्षित साथ राखिने समितिले जनाएको छ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा मनाउँदै आएको इन्द्रजात्रा पर्व प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइने गरिएको छ।

विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म इन्द्रजात्रा मनाउने प्रचलन छ। असोज १५ गते साँझ राष्ट्रपति रामचन्द्र पौडेलले श्री कुमार, श्री गणेश र श्री भैरवको दर्शन गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ।

जात्रा सञ्चालनका लागि कुमारी घर, गणेश, भैरव, पुलुकिसी, लाखे आजु, हल्चोक आकाश भैरव, दश अवतार प्रदर्शन तथा प्रवर्धन समाज, दागीं गुठी, आकाश भैरवनाथ गुठी, स्वच्छन्द भैरव गुठी र वतु सानागु खल वाकादे गुठी क्रियाशील रहेका छन्।

जात्रा सञ्चालनका लागि व्यवस्थापन समितिले काठमाडौँ महानगरपालिकासँग आर्थिक सहयोग माग गरेको छ। समितिले महानगरसँग ६४ लाख रुपैयाँ खर्चको प्रस्ताव गरेको जनाएको छ।

संस्कृति मन्त्रालयले गर्‍यो छलफल

तस्बिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्द्रजात्रा व्यवस्थापनबारे जानकारी लिएको छ। सरोकारवाला समूहलाई मन्त्रालयमै बोलाएर पर्यटन मन्त्री सुदन किरातीले मङ्गलवार जानकारी लिएका हुन्।

मन्त्री किरातीले जात्रालाई पर्यटन उद्योगसँग जोड्नु पर्ने बताए। जात्रालाई महोत्सवका रूपमा मनाउन र विदेशी पर्यटक भित्र्याउन सुझाव दिए। ‘हाम्रा जात्रा महोत्सव हेर्न विदेशीहरूले ६ महिना अगाडीदेखि टिकट काट्नु परोस्,’मन्त्री किरातीले भने,‘नेपालको जहाँ टेक्यो त्यहाँ पर्यटन हुन्छ, जात्रा, पर्व, महोत्सवलाई पर्यटन उद्योगसँग जोड्नु पर्छ।’

उनले इन्द्रजात्राको मुख्य दिन सवारी बन्द गर्न सकिनेबारे पनि कुरा उठाए। ‘अरू देशमा सवारी बन्द गरेर मान्छेले सडक भर्ने पनि हुन्छ,’उनले भने,‘नेपालमा अहिले त्यो सम्भव नहोला।’

उनले इन्द्रजात्रा सञ्चालनका लागि देखिएका समस्या समाधानका लागि कोसिस गरिरहेको बताए। उनले जात्रा विधि र पद्धतिमा सञ्चालन हुनु पर्ने बताए।
मन्त्रालयका सचिव भरतमणि सुवेदीले इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रूपमा मनाउँदै आएको बताए।

उनले जात्रा सञ्चालनका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको बताए। ‘एकजुट भएर लागौँ, सभ्य र भव्य रूपमा जात्रा सम्पन्न गरौँ,’सचिव सुवेदीले भने,‘आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’ उनले राष्ट्र प्रमुखको सुरक्षा, रथको मर्मत सम्भार र तारहरूको व्यवस्थापनमा गम्भीर भएर लाग्नु पर्ने बताए।

सुरक्षाका लागि ८ सय प्रहरीले नपुगे थप ४ सय प्रहरी परिचालन गर्न सकिने सुरक्षा निकायका अधिकारीहरूले बताए। इन्द्रजात्राका लागि असोज ५ गते नै सरोकारवालासँग छलफल गर्ने तयारी गरेको जनसेवा प्रहरीले जनाएको छ। जात्रामा ड्रोनको प्रयोग नियण्त्रणबारे निर्णय गर्ने प्रहरीले जनाएको छ।

राष्ट्रपतिलाई बग्गी

इन्द्रजात्रा अवलोकनका लागि हनुमान ढोका कुमारी घर पुग्ने राष्ट्र प्रमुखलाई बग्गीमा राखेर लैजानेबारे पनि सरोकारवाला गुठीका प्रतिनिधिहरूले सुझाव दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो पटक राष्ट्र प्रमुखका रूपमा इन्द्रजात्राको अवलोकन गर्नेछन्। डीबाट ओर्ले पछि कुमारी घरसम्म बग्गीमा लैजान सकिन्छ कि भनेर पनि छलफल भएको जात्रा व्यवस्थापन समितिले जनाएको छ।

राष्ट्रपति पौडेललाई जुद्ध सालिकदेखि कुमारी घरसम्म बग्गीमा लैजाने प्रस्तावमा निर्णय भने नभएको समितिले जनाएको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भने राष्ट्रपतिलाई जुद्ध सालिकबाट पैदल लैजानु पर्ने प्रस्ताव गरेका छन्।

‘बालेनले पैदल लैजानु पर्ने प्रस्ताव राख्नु भएको छ,’समितिका सदस्य एवं जीवित भैरवका जन्मबाबु ज्ञानुप शाक्यले पहिचानसँग भने,‘सुरक्षाका कारणले बग्गीमा लैजाने प्रस्ताव समितिको छ, निर्णय भइसकेको छैन।’

उनले यसबारे सुरक्षा निकाय र काठमाडौँ महानगरपालिकासँग छलफल गर्ने बताए। हाल जुद्ध सालिकदेखि कुमारी घरसम्म सवारी साधन प्रवेश निषेध छ।

विश्वलाई सानका साथ इन्द्रजात्रा देखाउने तयारी रहेको समितिले जनाएको छ। नाटकीय ढङ्गले मात्रै देखाउनु पर्ने अवस्था आउन नदिन सचेत रहेको समितिका अध्यक्ष गौतम रत्न शाक्यले बताए। उनले मन्त्री किरातीलाई जात्रा व्यवस्थापन समितिको तर्फबाट ज्ञापन पत्र पनि बुझाए।

सरोकारवाला गुठीका प्रतिनिधिहरूले नाइकेहरूलाई भत्ताको व्यवस्था हुनु पर्ने माग गरेका छन्। कुमारी घर वरपर नक्सा पास विना बनेका घरलाई व्यवस्थित गर्नुपर्ने माग पनि उनीहरूले गरेका छन्।

इन्द्रजात्रा सञ्चालनको विवरण

तस्बिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

येंया इन्द्रजात्रा पर्वको सुरुको दिन हनुमान ढोकाको श्री काल भैरव मन्दिर परिसरमा असोज ६ गते शनिवार बिहान १०ः३९ बजेको साइतमा योसिं नगर प्रवेश गराई असोज ९ गते मङ्गलवार बिहान १०ः३७ बजेको शुभ साइतमा ३३ फुटे इन्द्रध्वजोत्थान गरी जात्रा सुरु भएको सङ्केत हुनेछ।

इन्द्रजात्रा पर्वको सुरुको दिन देखि जात्रा अवधिभर प्रदर्शनमा राखी अन्तिम दिन असोज १५ गते सोमबार राति ८ः३७ बजेको शुभ साइतमा इन्द्रध्वज पतन गरी जात्रा समापन गरिने समितिले जनाएको छ।

येंया इन्द्रजात्रा पर्वको सुरुको दिनको साँझ वर्ष भरिका दिवङ्गत व्यक्तिका आफन्तहरू पाल्चा (बत्ती) बाल्दै उपाकु मार्ग (पुरानो बस्ती नगरको बाहिरी मार्ग) भई दिवङ्गत आत्माको स्वर्गमा बास होस भनी उपाकु जाने छ।

इन्द्रजात्रा पर्वको सुरुको दिन श्री लाखे आजु, श्री एरावत हात्ती पुलु किसी, श्री देवी नाच गण, श्री महाकाली नाच गण, श्री हलचोक आकाश भैरव नाच गण लगायत विभिन्न देवदेवीहरूको विधिवत् पूजा गरी बाहिर निकाल्ने र जात्रा अवधिभर नगरको विभिन्न भागमा पूजा अर्चना गरी परम्परागत नृत्य प्रदर्शन गर्ने समितिले जनाएको छ।

इन्द्रजात्रा पर्वको सुरुको दिनदेखि जात्रा अवधिभर नगरका विभिन्न भागहरूमा विभिन्न आकर्षित तथा आकृतिका भैरवका मूर्तिहरू हनुमान ढोकाको श्वेत भैरव, इन्द्रचोकको श्री आकाश भैरव, श्री बाका दे: भैरव, श्री स्वच्छन्द भैरव, मरु टोलमा श्री इन्द्र देवताको प्रदर्शनी तथा नीति पूजाको परम्परा रहेको छ।

पर्वको सुरुको दिनदेखि जात्रा अवधिभर साँझ तिर श्री कुमारी घरको प्रागंणमा रहेको श्री लक्ष्मी नारायण देवलमा स्टेज बनाई श्री नारायणको दश अवतार प्रदर्शन गर्ने समितिले जनाएको छ।

 

श्री गणेश, श्री भैरव र श्री कुमारीलाई श्री तलेजुका मूल पुजारी, सुसारे र मोही नाइकेहरूको टोलीबाट विशेष तान्त्रिक विधिबाट पूजा गर्ने परम्परा रहेको छ। श्री पञ्च बुद्धका प्रतीक ५ जना बज्राचार्य गुरुजुहरुको पनि रथ यात्राका क्रममा श्री भैरव रथको पछि श्री कुमारी रथको अगाडि भै नगर परिक्रमा गर्ने समितिले जनाएको छ।

यस अवसरमा इन्द्रचोकको श्री आकाश भैरवको मूर्ति तथा बाका दे: आजुको मूर्ति मन्दिर परिसरको बाहिरी भागमा प्रदर्शनी गराउने परम्परा रहेको छ। जात्राको हरेक दिन हनुमान ढोकाको श्री श्वेत भैरवको मुखबाट श्रीको प्रसाद स्वरूप जाँड रक्सीको धारा बगाइने परम्परा रहेको छ।

इन्द्रजात्रा अवधिभर विश्वले मान्ने जीवित देवी देवताहरू क्रमशः श्री कुमारी, श्री गणेश र श्री भैरवको तीन दिन रथमा रथारोहण गराइ नगर परिक्रमा गराइने परम्परा रहेको छ। पहिलो दिनको रथयात्रा अवसरमा वसन्तपुर कुमारी घर अघिको गद्दी बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सम्पूर्ण मन्त्रीगण लगायत विदेशी कूटनीतिज्ञहरूको उपस्थिति हुने र श्री हलचोक आकाश भैरव, श्री लाखे आजु र श्री पुलुकिसीको नाच प्रदर्शन गरी श्री कुमारी, श्री भैरव र श्री गणेशलाई रथारोहण गराई पूजाआजा गरी तल्लो टोलको रथयात्रा गर्ने र श्री कुमारीको रथयात्रा सम्पन्न पश्चात् सोही दिन श्री दागीको नगर परिक्रमा क्रममा वर्ष भरि दिवङ्गत भएको मृत आत्माको चिर शान्तिको कामना गरी दागी सँग सँगै नगर परिक्रमा गरी सोही राति मानन्धर समुदायबाट विशेष प्रकारले बौमत निकाल्ने परम्परा रहेको दागीको नगर परिक्रमा सम्पन्न भए पछि सोही राति यंकी द जाने परम्परा रहेको छ।

जात्राको अन्तिम दिन राष्ट्रपतिको बाहुलीबाट टिका ग्रहण गर्ने परम्परा रहेको छ।

इन्द्रजात्राको अन्तिम दिन नानीचायाको दिनमा श्री कुमार, श्री गणेश, श्री भैरवको रथ स्थानीय महिला दिदी बहिनीहरूको नेतृत्वमा विगत १२ वर्षदेखि निरन्तर रथ तान्ने गरी मनाउँदै आएको छ।

इन्द्रजात्रालाई अझ बढी सुव्यवस्थित गर्नको लागि व्यवस्थापन अन्तर्गत रहने गरी विभिन्न उपसमिति गठन गरिएको समितिले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.