बिदेसिएका नेपालीलाई फर्काउने कसरी?

बिदेसिएका नेपालीलाई फर्काउने कसरी?

युएईमा तीन लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन्। अन्य देशमा पनि हजारौँको सङ्ख्यामा बिदेसिएका छन्। रोजगारी, अध्ययन, उपचार, भ्रमण लगायत अन्य सेवा सुविधा बढी पाउने आसका साथ दिनहुँ हजारौँको सङ्ख्यामा युएई लगायत अन्य देश पुग्ने क्रम बढ्दो छ।

यसरी परदेश लागे पश्चात् पुनः आफ्नै देशमा फर्केर केही गर्ने आसा, हुटहुटीले मनमा अनेकौँ सपना बोकेर स्वदेश फर्केका र फर्कन लागी पर्नेको जमातको कमी पनि छैन।

नेपालीले केही निश्चित समय प्रवास बसाई पछि रोजगार होस् या अध्ययन गरेर स्वदेश फर्केर विभिन्न पेसा व्यवसाय, सिप प्रयोग गरेर साथीभाइ परिवारसँग आरामको जिन्दगी बिताउने साथै आफ्नो अनुभव देश र समाजको विकासमा टेवा पुर्‍याउने सोच राखेको हुन्छ। त्यस्तै योजनाको परिकल्पना सोचका साथ बिदेसी जीवनको अन्त्य गर्दै स्वदेश फर्कने निर्णय गरेको हुन्छ। तर स्वदेश फर्के पछिको अवस्था सोचे अनुसार अत्यन्त फरक हुने गर्छ।

आखिर स्वदेश फर्के पछि के चाहेको हुन्छ त? कस्तो देश र समाजको अपेक्षा लिएको हुन्छ त वैदेशिक नेपालीले? परदेश बसुन्जेल स्वदेशको चिन्ता र स्वदेश बसे पछि यहाँको(विदेश) माहौल देखेर पुनः विदेश जाने बाध्यतामा रुमलिएको हुन्छ। यसको कारक तत्त्व के हो? किन विदेशबाट फर्केका नेपाली स्वदेशमा केही गर्न चाहँदैन त ! यस विषयमा न कुनै बहस न कुनै छलफलै भएको पाइन्छ।

स्वदेश फर्केका नेपालीहरू सामान्य आफ्नो देशले केही गरी दिए हुने भन्नेमा आसावादी रहेका हुन्छन्। पहिलो त रोजगारी होस्, जसले आफूले सिकेको सिपलाई आफ्नो ठाउँमा प्रयोग गर्न सकोस् जसका लागि स्थानीय तह, उद्योगीले सिपका आधारमा वर्गीकरण गरी रोजगारीको सुनिश्चितता गर्न आवश्यक छ।

दोस्रो स्थानीय श्रोत साधनलाई प्रयोग गरी स्थानीय तहमा नै भाषा, धर्म, रहनसहन, भेसभुसालाई प्राथमिकताका आधारमा पर्यटन प्रवर्धन गर्न मद्दत पुर्‍याउन र आफू विदेशमा बसेका बेला त्यहाँको मानिसलाई देशमा ल्याएर पर्यटक आगमनमा पुलको काम गर्न सकिन्छ।

तेस्रो काम हो वैदेशिक रोजगारबाट फर्किआएका कामदारहरूको डाटा सङ्कलन गर्नु हो। स्थानीय तहले गर्न सक्छ र सोही अनुसार दक्षता र सिप अनुसार रोजगार दिन सकिन्छ।

सामाजिक सचेतनाका लागि पारिवारिक सहभागितामा सामाजिक मेलमिलाप, परामर्श, नेतृत्व विकास, स्वयं सेवक परिचालन जस्ता कार्यक्रम गरी फर्केका नेपालीको मनोवैज्ञानिक चेतना विकास गराउन सके राम्रो हुन्छ। जसले गर्दा उनीहरूमा आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने भान हुन्छ।

स्थानीय बजार माग अनुसार कृषि, पशुपालन, जडीबुटी, बन पैदावारलाई प्राथमिकता दिई सोही अनुसार सिप मूलक तालिमको व्यवस्था, परम्परागत पेसालाई आधुनिकीकरण गराउने र क्षमता अनुसारको रोजगारी प्रदान गराउन सकिन्छ साथै सोही अनुसार उद्योग कलकारखाना विकास एवं प्रवर्धन गर्ने।

समय समयमा अनुगमन, परीक्षण सुपरिवेक्षणको अभ्यास र राम्रालाई प्रोत्साहित गर्ने गराउने। वैदेशिक रोजगारीमा सिकेका सिप, प्रविधिलाई अनुभवका आधारमा वित्तीय साक्षरता, प्राविधिक पहुँचमा वृद्धि गर्ने र उद्यमलाई बजारीकरण गर्ने।

विदेशबाट फर्केकालाई देशमा अर्कै देशको नागरिक सरह हेर्ने दृष्टिकोण छ त्यसलाई हटाउन जरुरी छ। किनकि विदेश आफ्नो घर परिवार छोडेर केही समयका लागी रोजगारी र घरको आर्थिक स्थिति मजबुत गराउने चाहना चाहेको हुन्छ यसलाई मनन गर्नु आवश्यक छ। विशेष गरी महिलाहरू माथि लाञ्छना, हिंसा बढी देखिन्छ।

सीप र पुँजी दुवै लिएर आएकालाई लगानीको वातावरण राज्यले गर्नु पर्छ र सिप र पुँजी दुवै नलिई आएकालाई समेत राज्यले सोही अनुसार कार्यान्वयन गर्नु पर्दछ। सर्वसुलभ बैङ्क सुविधा प्रदान गराउने, प्रशासनिक ढिला सुस्तीलाई कम गरी छिटो छरितो काम गराउने र वैदेशिक नेपालीलाई प्राथमिकता दिने। हाम्रालाई भन्दा राम्रालाई प्रोत्साहन गर्ने।

विदेशका मल्टिनेशनल कम्पनीलाई देशमानै ल्याउने परिकल्पना तयार गरी एनआरएनए जस्ता संस्थाको सहयोग लिने। अहिले सानो सानो कामका लागि भारत लगायतका देशबाट आउने क्रम छ यसलाई रोक्न जरुरी छ।

देशको अभिन्न हात रेमिटेन्स भएका कारण रेमिटेन्स जसले धेरै पठाएका छन् उनीहरूलाई प्राथमिकताका आधारमा राज्यको सेवा सुविधामा सहज पहुँच प्रदान गर्ने।

अध्ययन गरेर फर्केकाले विदेशको अध्ययन गर्ने शैली अत्यन्त फरक हुने भएका कारण पुरानो शिक्षा प्रणालीलाई हटाई आधुनिक प्रविधि र वैज्ञानिक तवरको शिक्षा गराउन सके आगामी बालबालिकाको सिकाइमा वृद्धि हुन्छ।

विदेशबाट आएको पुँजीलाई देशमा काम गर्नका लागी चाहिने कच्चा पदार्थ ल्याउन, उत्पादित समान बजार सम्म ढुवानी गर्न, बिजुली बत्ती पानीको व्यवस्था गर्न छुट र क्षति भए राहतको व्यवस्था गर्न सक्नु पर्दछ।

स्वदेश फर्किएपछि उनीहरूलाई धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक साथै राजनीतिक क्रियाकलापमा पुनः सक्रिय बनाउन एवं पुनर्स्थापन गराउनमा जोड दिनु पर्दछ।

र अन्त्यमा जे भने पनि देशको राजनीतिक माहौल सरकारको राज्य व्यवस्था दिगो हुनु आवश्यक छ। स्वदेशमा नै नेपालीलाई परिणाम मुखी र अर्थतन्त्र बलियो बनाउन मुख्य कारकत्व गैरजिम्मेवार राजनीतिक शक्ति भएकोले यसको ठोस कदम चाल्ने र भ्रष्टाचार मुक्त समाज र देश बनाउन सके वैदेशिक रोजगारमा रहेका नेपाली फर्कने वातावरण छिट्टै मिल्ने सम्भावना छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading