सम्पदा अवलोकनमा कूटनीतिक अधिकारी

सम्पदा अवलोकनमा कूटनीतिक अधिकारी

622
SHARES

काठमाडौं : नेपालस्थित अमेरिका, बेलायत लगायत विभिन्न १० देशका कूटनीतिक नियोगका अधिकारीहरूले पाटनका पुरातात्त्विक एवं ऐतिहासिक सम्पदाहरूको अवलोकन भ्रमण गरेका छन्।

पाटन क्षेत्रका सम्पदाको संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यसहित रोटरी क्लब अफ पाटन हेरिटेज र द कन्स्यूलेट अफ द रिपब्लिक मरिसस काठमाडौँको संयुक्त समन्वयमा पाटन क्षेत्रको अवलोकन भ्रमण आयोजना गरिएको नेपालका लागि मरिससका वाणिज्यदूत गणेश कार्कीले बताए।

अमेरिका, बेलायत, स्विजरल्याण्ड, पाकिस्तान, श्रीलङ्का, मलेसिया, थाइल्यान्ड लगायत १० भन्दा धेरै देशका राजदूत र कूटनीतिक नियोग प्रमुखहरूले पाटन ढोकाबाट पाटन दरबार स्क्वायरसम्मका दर्जनौँ सम्पदाको अवलोकन गरे।

सम्पदा अवलोकनमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका पूर्व गभर्नर दिलेन्द्रराज श्रेष्ठ, निर्वाचित गभर्नर राजेन्द्रमान शेरचन, मरिससका तर्फबाट नेपालका लागि वाणिज्यदूत तथा रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्की, वर्तमान अध्यक्ष सोनु शाक्य, ललितपुर महानगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय सम्पदासम्बन्धी जानकारहरू, रोटरी क्लब अफ पाटनका पदाधिकारीहरू, सदस्यहरू तथा रोट्रयाक्टका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

पाटनढोकाबाट सुरु भएको अवलोकन भ्रमण मिखा बहाल, गणेश मन्दिर, गोल्डन टेम्पल लगायत दर्जन भन्दा बढी सम्पदाहरूको अवलोकनपछि पाटन दरबार स्क्वायरमा पुगेर समापन भएको थियो।

पाटन क्षेत्रभित्रका पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाको जानकारी दिनुका साथै मरिसस र नेपालको सम्बन्ध विस्तार गर्ने उद्देश्यले भ्रमण आयोजना गरिएको नेपालका लागि मरिससका वाणिज्यदूत कार्कीले बताए।

समाचार शेयर गर्नुहोस्
622
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.