कान नसुन्ने समस्या के हो? (भिडियो)

कान नसुन्ने समस्या के हो? (भिडियो)

काठमाडौं : नेपालमा १६.६ प्रतिशत मानिसमा बहिरोपना देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका ६ प्रतिशत जनसङ्ख्यामा बहिरोपनको समस्या रहेको छ। 

८.०४ प्रतिशत बालबालिकामा कानको समस्या रहेको छ भने ५.७३ प्रतिशतमा बहिरोपनको समस्या रहेको तथ्याङ्कले देखाएको छ। नेपालमा १६ वर्ष भन्दा कम उमेरका बालबालिकामा ५० प्रतिशत भन्दा बढी बहिरोपना जनचेतना र उचित प्राथमिक उपचारद्वारा रोकथाम गर्न सकिने चिकित्सकहरू बताउँछन्।

समयमै उपचार पाए ५० प्रतिशत भन्दा बढीलाई बहिरोपनको सिकार हुनबाट बचाउन सकिने दाबी इयर केयर नेपालले गरेको छ। 

कानको परीक्षण, औषधी उपचार, शल्यक्रियाको साथै बहिरोपन तथा कानको उचित स्याहारको बारेमा जनचेतना पुगेको छैन। विभिन्न नाममा तेल राख्नाले बहिरोपनको जोखिम हुने गरेको चिकित्सकहरू बताउँछन्। तेल, जडीबुटीहरूको रस हाल्नाले कानलाई हानी पुर्‍याउँछ, त्यसैले यिनीहरूको प्रयोग गर्नु हुँदैन। 

कानको बाहिरी भागले बाहिरी आवाजलाई सङ्कलन गरेर कानको नली हुँदै जालीमा ठोक्काउँछ। त्यसपछि जाली पछाडि सँगै जोडिएको स-साना तीन वटा हड्डीहरू हलिन्छ। हड्डीहरुले भित्री कान कोक्लियामा रहेको तरल पदार्थमा तरङ्ग पैदा गर्छ। 

यो तरङ्गले कोक्लियामा रहेको स-साना कपाल जस्तो कोशिकाहरूमा कम्पन पैदा गर्छ। जसले विद्युतीय तरङ्ग पैदा गर्छ। सो विद्युतीय तरङ्ग सुन्ने नशाको माध्यमबाट मस्तिष्क सम्म पुग्छ र हामी सुन्छौँ। 

गर्भवतीले जथाभाबी औषधि खाँदा, खोपहरू नलाउँदा, आमा र बच्चालाई हामी पुर्‍याउन सक्छ, बच्चालाई बहिरोपन लगायत अरू पनि स्वास्थ्य समस्या हुनसक्छ। सिन्का, कनकने, इयर बड र प्वाँखहरूले कान कोट्याउनु हुँदैन। यसले कानको जालीलाई हानी पुर्‍याउन सक्छ र सधैँको लागि बहिरो समेत हुन सकिन्छ। 

चर्को आवाजले गर्दा पनि कानमा नसाको समस्या देखिने गरेको छ। यसको उपचार नै छैन। चर्को आवाजबाट बच्नु नै एक मात्र उपाय भएको बताउँछिन् इयर केयर नेपालकी संस्थापक अध्यक्ष डा. मिलन महर्जन। कान पाक्ने रोग भनी हेलचक्र्याइँ गर्नु हुँदैन। 

गर्भावस्थामा सबै खोपहरू लगाउनु पर्छ। पौष्टिक आहार सेवन गरेर आफ्नो स्वास्थ्यमा ध्यान राख्नुपर्छ। गर्भवती हुँदा समयमै सुरक्षित प्रसूति सेवा लिनु पर्छ। बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाएको र २ वर्ष नपुगुन्जेल दूध लगायत अन्य पौष्टिक आहार सेवन गराउनु पर्छ।

दादुरा, मम्स, रुवेला तथा न्युमोकोकल लगायत सबै खोपहरू समयमै लगाएमा बहिरोपनको समस्याबाट धेरै टाढा रहन सकिने चिकित्सकहरू बताउँछन्। बहिरोपनलाई अभिशापको रूपमा लिएको पाइन्छ। उनीहरूलाई लाटो भनी हास्यको पात्र बनाइन्छ।

‘बहिरा मानिसहरू अरू अपाङ्ग र असक्षम व्यक्ति जस्तो नभई बाहिरबाट सामान्य देखिने हुँदा उनीहरूलाई समाजले अटेरी, अबुझ भनी हेला गर्ने गर्दछन्,’इयर केयर नेपालकी संस्थापक महर्जनले भनिन्,‘बहिरो मानिसलाई समाजको बोझ नठानी समान अधिकार दिनु पर्छ भन्ने जनचेतना दिँदै आएका छौँ।’ 

चर्का आवाजबाट बच्ने र ध्वनि प्रदूषण हुने ठाउँमा काम गर्नु परेमा कानमा उपयुक्त श्रवण संरक्षण उपकरणको प्रयोग गर्न, कतिपय औषधिले कानको श्रवण शक्ति खराब गर्न सक्ने हुँदा कानमा समस्या भएमा औषधि सेवन गर्नु भन्दा पहिले डाक्टरसँग सल्ला गर्न इयर केयर नेपालले सुझाव दिएको छ। 

बहिरोपनको एउटा मुख्य कारण कान पाक्ने रोग हो। यो सबै भन्दा धेरै बालबालिकाहरूमा देखिन्छ। कान पाक्ने रोगले गर्दा मस्तिष्क ज्वरो आउने र मस्तिष्कमा पिप जम्ने जस्ता ज्यान जाने खतरा भएको रोगहरू हुन सक्दछ।

कान पाक्नुको मुख्य कारण नानीलाई सुताएर दूध खुवाउनु, रुघा खोकी लागिरहनु, रुघा लाग्दा धेरै सीँ सीँ गर्नु, कानमा तेल तथा अन्य जडीबुटीको झोल हाल्नु, फोहोर पानीमा पौडी खेल्नु हुन्। 

बच्चा ६ महिना पुग्दासम्म पनि आवाज दिँदा आँखा नझिम्काउनु, बोलाएको दिशा तर्फ नहेर्नु नै कान नसुन्नुको पहिलो लक्षण हो। जन्मजात श्रवण शक्ति राम्रो भई भाषा बोलेता पनि यदि पछि गएर कान पाक्ने रोगको कारणले सुनाई कम भएमा बच्चा पढाइमा कमजोर हुनु, साथीहरूसँग घुलमिल नहुनु आदि लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य चौकी वा अस्पतालमा सम्पर्क राख्नुपर्छ। 

इयर केयर नेपालले १० वर्षमा १ लाख १२ हजार १९९ जना विद्यार्थीलाई सेवा दिएको जनाएको छ। देशभरका सरकारी, सामुदायिक तथा बौद्ध गुम्बाका बिद्यार्थीहरुको कानको परीक्षण, औषधि उपचार, शल्यक्रियाको साथै बहिरोपन तथा कानको उचित स्याहारको बारेमा जनचेतनामूलक कक्षाहरू सञ्चालन गर्दै आएको इयर केयरले जनाएको छ। 

इयर केयर नेपालका अनुसार समुदायस्तरमा रहेका जनस्वास्थ्य स्वयंसेविकाहरूलाई कान स्वास्थ्य सम्बन्धित जनचेतनामूलक कक्षा तथा तालिमहरू पनि सञ्चालन गर्दै आएको छ। 

इयर केयर नेपालले आफ्नो १० औ वर्ष पुरा गरेको अवसरमा उपाध्यक्ष पुरु रिसालले सबैको साथ पाउँदा सामाजिक काम गर्नलाई ऊर्जा मिलिरहेको बताए। तर, सरकारी निकायबाट संस्थाको नवीकरणको प्रक्रिया भने झन्झटिलो रहेको सुनाए। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले इयर केयरका लागि सरकारको तर्फबाट सहयोग रहने बताए। उनले नवीकरणका लागि सहजता प्रदान गर्ने बताए। लामा गुरु रिम्पोछेले १० वर्षको अवधि थोरै नभए पनि अझै वर्षौँसम्म संस्थाले सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे। 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading