निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

वायु सेवाको रकम शङ्कास्पद खातामा, फिर्ता गर्न दुबईमा वकिल नियुक्त

वायु सेवाको रकम शङ्कास्पद खातामा, फिर्ता गर्न दुबईमा वकिल नियुक्त

536
SHARES

काठमाडौं : नेपाल वायु सेवा निगमले दुबई स्टेसनको क्याटरीङसँग सम्बन्धित शङ्कास्पद खातामा जम्मा रकम फिर्ता गराउने प्रयास भइरहेको जनाएको छ।

दुबई स्टेसनको इमेल ह्याक गरी क्याटरीङसँग सम्बन्धित ५ लाख ३५ हजार ९१३ दिराम शङ्कास्पद बैङ्क खातामा जम्मा भएको जानकारीमा आए लगत्तै समिति गठन गरी छानबिन भइरहेको निगमले जनाएको छ।

निगमका नायव महाप्रबन्धक जनकराज कालाखेतीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले प्रारम्भिक प्रतिवेदन पेस गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। ‘समितिका एक सदस्यले स्थलगत रूपमा सम्बन्धित कर्मचारीसँग सोधपुछ एवम् अन्य निकायमा सत्य तथ्य बुझ्ने कार्य समेत गर्नुभएको छ,’प्रवक्ता पौडेलले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘वस्तुगत अध्ययन पश्चात् अन्तिम प्रतिवेदन दिने तयारी रहेको छ।’

निगमले रकम फिर्ता गर्न दश हजार दिराममा दुबईमा कानुनी सल्लाहकार नियुक्त गरेको जनाएको छ। नियमानुसार प्रहरी सम्बन्धित बैङ्क तथा अन्य निकायको सहयोगमा कानुनी कारबाही अगाडि बढाइसकिएको प्रवक्ता पौडेलले बताए।

रकम फिर्ता गर्ने कार्यमा लाग्ने खर्च समेत सम्बन्धित पक्षबाट शोधभर्ना गरिने विज्ञप्तिमा उल्लेख छ। निगमले विदेश स्थित कार्यालयमा कर्मचारी सरुवा तथा पदस्थापनको कार्य निगमको पोस्टिङ कार्यविधि अनुसार भएको दाबी पनि गरेको छ।

कर्मचारीको सुपरभाइजर र विभागीय प्रमुखले दिएको अंकभार तथा अन्तरवार्ता समेतको आधारमा निष्पक्ष तथा पारदर्शी ढङ्गले कार्यकारी अध्यक्ष युवराज अधिकारी र निगमका नायव महाप्रबन्धक जनकराज कालाखेतीसमेतको पाँच सदस्यीय पोष्टिङ्ग कमिटीको निर्णयले नियमानुसार भएको निगमले दाबी गरेको छ।

विज्ञप्तिमा ‘निगमको हितमा अहोरात्र खटिई कार्य सम्पादन गर्दागर्दै वास्तविकता बुझ्ने प्रयास नगरी वस्तुगत यथार्थ नकेलाई निगमको साखमा आँच आउने तथा कर्मचारीको मनोबल गिर्ने गरी आधारविहीन ढङ्गले प्रचार प्रसार भएकोमा निगम दुःख व्यक्त गर्दछ’लेखिएको छ।

समाचार शेयर गर्नुहोस्
536
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.