निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दैनिक ८ हजार युवा विदेश यात्रामा

दैनिक ८ हजार युवा विदेश यात्रामा

409
SHARES

काठमाडौं : नेपालीको दोस्रो महान चाड तिहार सुरु भएको छ। चार दिनपछि भाइटिका छ। तिहारलाई दाजुभाइ र दिदीबहिनीको पर्वमा रूपमा लिइन्छ।

दाजुभाइ र दिदीबहिनीले टिका माला लगाएर प्रेम र सद्भावमा खुसी हुने बेलामा नेपालबाट रोजगारीको सिलसिलामा विदेश जानेलाई तिहारले रोक्न सकेको छैन।

तिहारको मुखमा पनि दैनिक ८ हजार हाराहारीमा विदेश पलायन भइरहेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको तथ्याङ्क छ। शुक्रवार एकै दिन ८ हजार २ सय ३३ जनाले देश छोडेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए।

एकै दिन विदेश जानेमा ५ हजार १३७ पुरुष र ३ हजार ९५ जना महिला छन्। देशमा रोजगारीका अवसर छैन। कामको खोजीमा विदेश जानै पर्ने बाध्यता छ। देशको अर्थतन्त्र विदेश गएका नेपालीले पठाएको रेमिटेन्सको भरमा चलेको छ।

नेपाल राष्ट्र बैङ्कको तीन महिनाको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेर ३६५ अर्ब ३४ करोड रुपैयाँ छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४९ हजार २९७ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १ लाख ४७ हजार ९३२ र ५७ हजार ८६१ रहेको थियो।

सरकार रेमिटेन्स बढेकोमा मक्ख छ। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पनि विदेश जानेलाई तत्काल रोक्न नसकिने स्वीकार गर्छन्। ‘अर्थतन्त्रमा केही सुधार भएको छ। राजश्व पनि वृद्धि हुन थालेको छ। पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन्। रेमिटेन्स धेरै नै बढेको छ,’प्रधानमन्त्री प्रचण्डले भने,‘विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ। अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दै छु।’

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढी रहेका बेला श्रम मन्त्री शरद सिंह भण्डारी पनि यो बाध्यात्मक अवस्था भएकाले रोक्न नसकिने बताउँछन्।
‘मुलुकमा रोजगारी सिर्जना हुन सकेको छैन, नेपालको श्रम बजारमा हरेक वर्ष ५ लाख श्रमिक आउने अवस्था छ, अहिलेको अवस्थामा करिब १ लाखले मात्र रोजगारी पाउने अवस्था छ,’मन्त्री भण्डारीले भने,‘युवाहरू वैदेशिक रोजगारीमा जानु बाध्यात्मक अवस्था हो, युवाहरू गएका पनि छन्, फर्किरहेका पनि छन्।’

उनले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नेपालमा फर्काएर के के काम गर्न लगाउने भन्ने बारेमा अध्ययन गर्न विज्ञ समिति गठन गरिएको जानकारी दिए। उनले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न राष्ट्रिय आप्रवासन नीति तर्जुमा गर्न थालेको बताए।

समाचार शेयर गर्नुहोस्
409
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.