"/>

मायाको पहिचान नेपाल : विवाह दर्ताका लागि सहयोग गर्ने, कसरी भयो पहिलो विवाह दर्ता (भिडियो)

मायाको पहिचान नेपाल : विवाह दर्ताका लागि सहयोग गर्ने, कसरी भयो पहिलो विवाह दर्ता (भिडियो)

1.1k
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गराउने सङ्घर्षपूर्ण यात्रा सफल बनाएको मायाको पहिचान नेपालले अब कानुन बनाउन सरकारलाई दबाब दिने अभियान सुरु गर्ने भएको छ।

लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा अध्यक्ष माया गुरुङ्ग र सचिव सुरेन्द्र पाण्डेले नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता गरेको अवसरमा काठमाडौँमा पत्रकार सम्मेलन गरेर मायाको पहिचान नेपालले सरकारलाई छिटो कानुन बनाउन आग्रह गरेको छ।

संस्था दर्ता गरेको तीन महिना मात्रै भएको छ। कतैबाट सहयोग नपाएको संस्थाले ठमेलको महाविहार मन्दिर नजिकै खुल्ला ठाउँमा पत्रकार सम्मेलन गरेको हो। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको नाममा खुलेका संस्थाहरूको वेवास्थाकाबीच आफ्नै खर्चमा विवाह दर्ता गर्न सफल भएको माया र सुरेन्द्रले बताए।

सर्वोच्च अदालतले १२ असारमा दिएको आदेश अनुसार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सर्वोच्चको आदेश उल्लेख गरी स्थानीय सरकारलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न १३ मङ्सिरमा परिपत्र गरेको छ। विभागले अनलाइन विवाह दर्ता प्रणालीमा परिवर्तन गरेर माया र सुरेन्द्रको विवाह दर्ता गरेर प्रमाणपत्र दिने व्यवस्था गरेको हो।

मायाको पहिचान नेपालले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरेर माया र सुरेन्द्र जस्ता सयौँ जोडीका लागि विवाह दर्तामा सहयोग गर्ने घोषणा गरेको छ। ‘हामीले विवाह दर्ताका लागि जुन सङ्घर्ष गर्नु पर्‍यो, अब समुदायका सदस्यले त्यो सङ्घर्ष भोग्नु नपरोस् भनेर सहयोग गर्ने छौँ,’मायाले भनिन्,‘समुदायको अधिकारका लागि निरन्तर अभियानमा लाग्नेछौ।’

माया र सुरेन्द्रले २०७४ साल असोज २७ गते विवाह गरेका थिए। उनीहरूको विवाह मङ्सिर १३ गते स्थानीय सरकारले औपचारिक रूपमा दर्ता गरेर प्रमाणपत्र दिएको हो। ‘विवाह गरेको दिन भन्दा पनि राज्यको निकायबाट प्रमाणपत्र पाएको दिन मङ्सिर १३ गते धेरै खुसी भए,’मायाले भनिन्,‘जन्म घरमा सल्लाबोटमा भव्य स्वागत गर्दा खुसीको सीमा नै रहेन, सुरेन्द्र र म पनि नाच्यौ।’

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले माया र सुरेन्द्रको विवाह दर्तालाई ऐतिहासिक क्षणका रूपमा लिएको बताए। उनले राज्यका निकायलाई सहयोगका लागि धन्यवाद दिए। माया र सुरेन्द्रलाई लमजुङको दोर्दीमा विवाह दर्तामा सहयोग गर्न यातायातका लागि गोर्खा ट्राभल्सले निःशुल्क पर्यटक गाडी सुविधा दिएको थियो।

उनले आउने दिनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको विवाह दर्ता, समुदाय भित्रको विकृति विसङ्गति अन्त्यको अभियान अझ सशक्त रूपमा सञ्चालन गर्ने बताए। ‘अहिले हामीसँग मायाको पहिचान नेपाल संस्था छ,यही संस्थामार्फत हामी देशभर अधिकार प्राप्तिको अभियान सञ्चालन गर्छौ,’पत्रकार सम्मेलनमा केसीले भने,‘बेरोजगार भएर सडकमा उभिन बाध्य बन्नु भएका साथीहरूलाई सीप मुलुक तालिम दिएर रोजगार दिने अभियानमा पनि लाग्नेछौ।’


माया, सुरेन्द्र र मधुले पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तको सहयोगका कारण विवाह दर्ता गर्न सफल भएको भन्दै पन्तलाई धन्यवाद दिए। पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि आफ्नो पूर्ण सहयोग र समर्थन रहिरहने बताए उनले माया र सुरेन्द्रको विवाह उत्सवका लागि सहयोग गरिदिन पनि आव्हान गरे।

काठमाडौँको कीर्तिपुरमा रहेको समर्पण सभ्य समाजले आइतबार माया र सुरेन्द्रलाई ऐतिहासिक नगरी कीर्तिपुरमा सम्मान गर्ने कार्यक्रम राखेको जनाएको छ। ‘यो त यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि ऐतिहासिक उपलब्धि हो,’समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जनले भने,‘हामी आइतबार माया र सुरेन्द्रसँगै सम्पूर्ण मायाको पहिचान नेपालको टिमलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ।’

नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता गर्ने माया र सुरेन्द्रलाई नेपालस्थित अमेरिकी दूतावास, अस्ट्रेलिया लगायतले सुखद दाम्पत्य जीवनको शुभकामना दिएका छन्।

कसरी भएको थियो विवाह दर्ता? हेर्नुहोस् भिडियो

समाचार शेयर गर्नुहोस्
1.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.