पहिलो ‘इन्द्रेणी’ विवाह दर्ता गर्ने जोडीलाई सम्मान

पहिलो ‘इन्द्रेणी’ विवाह दर्ता गर्ने जोडीलाई सम्मान

काठमाडौं : नेपालमा व्यक्ति व्यक्तिबीच भएको विवाहले कानुनी मान्यता पाउन थालेको छ। जुन विवाहलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले ‘इन्द्रेणी’ विवाहको पहिचान दिएका छन्।

मुलुकी देवानी संहिताको विवाह सम्बन्धी महलमा पुरुष र महिलाबीच विवाह हुने व्यवस्था छ। तर, स्थानीय तहहरूले भने सर्वोच्च अदालतको आदेश अनुसार लिङ्ग नहेरी विवाह दर्ता गर्न थालेका छन्।

लमजुङको दोर्दी गाउँपालिकाले दक्षिण एसियामै पहिलो ‘इन्द्रेणी’ विवाह दर्ता गरेर इतिहास राखेको छ। गाउँपालिकाले वडा नं २ सल्लाबोटका माया गुरुङ्ग र नवलपरासी वडा नं ८ का सुरेन्द्र पाण्डेले ६ वर्ष अघि गरेको विवाहलाई कानुनी मान्यता दिएको हो।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पत्रले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सहज भएको दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले बताउँछन्। ‘विभागको सफ्टवेयरमा रहेको सामाजिक परम्परा अनुसार विवाह दर्ता भयो,’उनले भने,‘विभागको पत्र आउँदा विवाह दर्ता गर्न सहज भयो।’

विवाह दर्ता भए पछि ‘के आधारमा गरेको’ भनेर प्रश्न सोध्नेहरूलाई विभागको पत्र अनुसार भन्ने जवाफ दिएको उनले बताए। ‘किन गरेको भनेर दबाब जस्तै आएको थियो,’प्रमुख प्रशासकीय अधिकृत काफ्लेले पहिचानसँग भने,‘नवलपरासीमा नगरेर किन लमजुङमा भन्ने पनि प्रश्न गरेका थिए।’

इन्द्रेणी विवाह दर्ता : पहिचानको सक्सेस स्टोरी

१२ असार २०८० मा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले दिएको अन्तरिम आदेशलाई पञ्जीकरण विभागले विवाह दर्ता गर्ने आधार मान्यो। ‘पालिकाले विभागको पत्र अनुसार विवाह दर्ता गर्‍यो,कुनै समस्या भएन,’उनले भने,‘अब विभागको त्यो पत्रले देशभरका स्थानीय तहमा अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न बाटो खुल्यो।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पहिचान सहितको अधिकार पाउन थालेको ६ पुस २०६४ मा सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश पछि नै हो।

सुनिलबाबु पन्तविरुद्ध नेपाल सरकार रहेको रिटमा अदालतले पुरुष र महिला भन्दा भिन्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई पहिचान सहितको अधिकार दिन निर्देशनात्मक आदेश दिएको थियो। त्यही आदेशलाई नजिरको रूपमा लिँदै सर्वोच्च अदालतले १२ असारमा अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको हो।

नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले २३ वर्षदेखि उठाउँदै आएको विवाह दर्ता गर्ने व्यवस्था भएको छ। लमजुङको दोर्दी गाउँपालिकाले विवाह दर्तामा नजिर बनाइदिएको प्रमुख प्रशासकीय अधिकृत काफ्ले बताए।

माया र सुरेन्द्र ‘इन्द्रेणी’ विवाह दर्ता गर्ने पहिलो जोडी बनेको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता नगर्ने राज्यका निकायलाई अब कानुन संशोधन गर्न यो विवाह दर्ताले दबाब समेत दिएको छ।

माया र सुरेन्द्रको विवाह दर्ता भए लगत्तै कैलालीको कैलारी गाउँपालिकामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले तीन वर्ष अघि गरेको विवाह दर्ता गरेर प्रमाणपत्र लिएका छन्। दाङका मनिला न्यौपाने र कैलालीका प्रकाशबाबु चौधरीले वडा कार्यालयबाट विवाह दर्ताको प्रमाणपत्र पाएका छन्।

समलिङ्गी, तेस्रोलिंगी जोडीको विवाह दर्ता गर्ने नेपालको समावेशी चरित्रको चर्चा भइरहेको छ। यौनिक तथा लैङ्गिक पहिचानका आधारमा विवाह दर्ता नहुने परम्परागत मान्यतामा सुधार भएको छ। यसले विश्वलाई नेपालमा मान्छेमान्छेबीच लिङ्गका आधारमा विभेद नहुने सन्देश समेत गएको छ।

दक्षिण एसियाकै पहिलो ‘इन्द्रेणी’ विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई सल्लाबोट आमा समूहले काठमाडौँमा सम्मान गरेको छ।

तमु ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा आमा समूहले ‘इन्द्रेणी’ विवाह दर्ता गरेर देशकै नाम राख्न सफल भएका माया र सुरेन्द्रलाई सम्मान गरेको जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading