परिवारले जुटाएको धरौटीमा रिहा भए रिजाल, दिए सबैलाई धन्यवाद

परिवारले जुटाएको धरौटीमा रिहा भए रिजाल, दिए सबैलाई धन्यवाद

काठमाडौं : ‘अभागी रैछन। भुटानी राज सभाका सदस्य हुन। मैले चिन्छु उहाँले चिन्नुहुन्न।’ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई नमस्कार गर्दै त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले भने।

काठमाडौं जिल्ला अदालतमा आइतबार १५ लाख धरौटी बुझाएका रिजाललाई बुधवार बयानका लागि सम्पत्ति शुद्धीकरण विभागमा लगिएको थियो। बिहान १० पछि विभागमा बयान दिन पुगेका रिजालले नमस्कार फर्काए। मुसुक्क हाँसे। प्रतिक्रिया केही दिएनन्।

केन्द्रीय कारागार कार्यालय जगन्नाथदेबलले सुरक्षाकर्मी सहित रिजाललाई विभागमा पठाएको थियो। विभागले रिजालसँग बयान लिएर थप धरौटी रकम माग्यो। रिजालले विभागमा थप धरौटी बुझाए। रिजालले विभागमा झन्डै ३ घण्टा बिताए।

रिहा भए रिजाल, मानवअधिकारवादीको टोलीले गर्‍यो स्वागत

विभागमा धरौटी बुझाएर रिजाललाई दिउँसो ३ बजेतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगियो। आयोगले बयान लिएर रिजाललाई छोड्ने आदेश दिए पछि कारागारबाट खटिएका सुरक्षाकर्मी फिर्ता भए। उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा तोकेको धरौटी रकम जुटाउन समय लाग्दा रिजाललाई कारागारमै राखिएको थियो।

धरौटी रकम जुटाउन परिवारलाई समय लाग्यो। क्यानडामा रहेका छोराहरूले रकम जुटाएर पठाए। रिजालका कानुन व्यवसायी राजकुमार सुवालको खातामा रकम जम्मा हुन समय लाग्यो। रिजालको बैङ्क खाता रोक्का भएकाले छोरा विक्रमले सुवालको खातामा रकम पठाए। आमा कौशिलाको समेत बैङ्क खाता बन्द भएकाले रकम पठाउन समस्या परेको थियो।

उच्च अदालत पाटनको आदेशमा रिजाल रिहा हुने खबर पाए पछि डिसेम्बर १३ मा नेपाल आएका भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा विश्वनाथ क्षेत्रीले संयोजन गरे।

उनले रिजाललाई कारागारमै गएर भेट गरे। परिवारसँग समन्वय गरे। रकम जम्मा गराउन उनी माध्यम बने। काठमाडौं जिल्ला अदालतमा १५ लाख धरौटी बुझाएका रिजालले सम्पत्ति शुद्धीकरण विभागमा थप १ लाख रुपैयाँ धरौटी बुझाएका हुन्।

‘भुटानी प्रजातान्त्रिक आन्दोलनको खम्बा’

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर धरौटीमा छाड्ने आदेश पाएकाहरूसँग विभागले थप धरौटी लिएर तारेखमा छोडेको थियो। १० लाख धरौटीमा छोड्ने आदेश पाएका रामशरण केसीले विभागमा १ लाख रुपैयाँ थप धरौटी बुझाएका थिए।

रिजालसँग पनि विभागले १ लाख धरौटी लिएको जनाएको छ। भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै आएका रिजालले नक्कली प्रकरणका कारण ७ महिना जेल जीवन बिताए। मुद्दाको छिनोफानो भएको छैन। मुद्दा अदालतमा विचाराधीन रहेको छ।

रिजालको रिहाइका लागि माध्यम बनेका क्षेत्री बुधवार मानवअधिकारवादी गोपालकृष्ण सिवाकोटीका साथमा सम्पत्ति शुद्धीकरण पुगेका थिए। उनले रिजालको रिहा हुने दिन आफूसँगै हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। ‘धरौटी रकम सबै परिवारले नै गरेको हो,’क्षेत्रीले पहिचानसँग भने,‘मैले संयोजन मात्रै गरेको हुँ।’

रिजाललाई ‘डाँसो’ भनेर सम्बोधन गरेका मानवअधिकारवादी सिवाकोटीले अझै न्यायिक लडाइ बाँकी रहेको बताए। रिजालले कारागारबाट बाहिर निस्कन पाउँदा फुक्का हुन पाएको अनुभूति सुनाए। रिजालले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

भुटानी शरणार्थी : प्रधानमन्त्रीको कुरा नक्कली, पीडामा सक्कली

रिजालको नेपालमा रहेका, तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकले स्वागत गरेका छन्। भुटानी राज्यसत्ताको अत्याचारमा परेर देश निकालिएका नागरिकले स्वदेश फर्कन पाउने आशा मारेका छैनन्। मानवअधिकारवादीहरूको टोलीले आवश्यक सहयोग गर्ने बचन दिएको छ।

अख्तियारको प्राङ्गणमा पुगेका मानवअधिकारवादीहरूको टोलीले रिजाललाई न्यायिक लडाइमा साथ दिने प्रतिबद्धता जनाए। मानवअधिकारवादीहरूको टोलीले रिजाललाई कारागारमै गएर पनि भेटेको थियो। खान, बस्न र स्वास्थ्यमा ध्यान दिन मानवअधिकारवादीको टोलीले जेल प्रशासनको ध्यानाकर्षण गराएको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल सरकारका उच्च तहका व्यक्तिहरू संलग्न रहेको सूचना रिजालले नै दिएका थिए। पत्रकार देवेन्द्र भट्टराईले सुरु देखि नै यो प्रकरणको रिपोर्टिङ गरे। रिजाललाई मानवीय सहयोग गर्नुलाई भट्टराईले दायित्व सम्झिए। नक्कली शरणार्थीको सूचना दिने रिजाललाई पत्रकार भट्टराईले साथ दिए।

भुटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानको नेतृत्व लिँदा पक्राउ परेका हुन रिजाल। बालकृष्ण पन्थी संयोजक रहेको कार्यदलले दिएको सुझावमा थप व्यक्तिको नाम समावेश भए पछि सुरु भएको हो नक्कली प्रकरण। जेलमा परे पछि सबै भन्दा धेरै चिन्तित थियो परिवार। ३ छोरा थिएनन् साथमा। श्रीमती कौशिला र टेकनाथ मात्रै थिए नेपालमा।

टेकनाथ जेल परेपछि परिवारले दाल चामल किन्ने पैसा पाएन। भएको एउटा गाडी समेत बिक्री गरे। बैङ्क खाता रोक्का भएकाले रिजाल परिवारलाई दाल चामल किन्न भएको गाडी बिक्री गर्नु परेको छ।

तेस्रो देश पुर्नवास भएका भुटानी शरणार्थीले मानवीय सहयोग गरे पनि आर्थिक सहयोग गरिदिएनन्। रिजाल अब पुस २० गते काठमाडौं जिल्ला अदालत उपस्थित हुनुपर्नेछ। सम्पत्ति शुद्धीकरणले माघ १५ गते हाजिर हुन भनेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading