एलजीबीटीआई परियोजनाले दिलायो पर्यटन बोर्डलाई ‘पाटा गोल्ड अवार्ड’

एलजीबीटीआई परियोजनाले दिलायो पर्यटन बोर्डलाई ‘पाटा गोल्ड अवार्ड’

काठमाडौं : नेपाल पर्यटन बोर्डले २५ औँ वार्षिक उत्सव मनाएको छ। बोर्ड सन् १९९८ डिसेम्बर ३१ मा स्थापना भएको हो। तमु ल्होसारको दिन परेको बोर्डको रजत महोत्सवलाई जुरेको संयोगले भव्य बनाएको छ।

बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मीले नेपाललाई सुरक्षित गन्तव्य स्थल बनाउन सफल भएको बताए। पर्यटनबाट आर्थिक संवृद्धि हासिल गर्न सकिने सुनाए।

नेपालको पर्यटन क्षेत्र बल्ल लयमा फर्कन थालेको बताउँदै उनले डिसेम्बर ३१ को बिहानसम्म यो वर्ष १० लाख १२ हजार पर्यटकले नेपाल भ्रमण गरेको जानकारी दिए।

पर्यटन बोर्ड स्थापनाको वर्ष साढे ४ लाख विदेशी नेपाल भ्रमणमा आएका थिए। प्रतिवर्ष १२ लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य रहेको कार्यकारी अधिकृत रेग्मीले बताए।

कोभिडले पर्यटन क्षेत्रसँग सम्बन्धित रोजगारीमा प्रत्यक्ष असर गरेको र ठुलो सङ्ख्यामा पर्यटन मजदुरहरू बेरोजगार भएर बस्नु परेको अवस्थामा नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को सह-लगानीमा जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) नामक परियोजना सुरु गरेको उनले जानकारी दिए।

उनले पर्यटनसँग सम्बद्ध संस्थाहरुसंगको सहकार्यमा पहिलो वर्ष नै ६ हजार जना पर्यटन मजदुरहरूलाई अल्पकालीन रोजगारी सिर्जना गर्ने काम गरेको बताए। ‘यो परियोजनाबाट स्थानीय स्तरमा विभिन्न पर्यटकीय गन्तव्यको विकास विस्तार, जनशक्ति विकास तथा पुराना पर्यटकीय गन्तव्यको मर्मत संहार गर्ने काम भएको छ’उनले भने।

अन्तर्राष्ट्रिय स्तरबाट बोर्डले सन २०२१ मा पाटा गोल्ड अवार्ड २०२१ प्राप्त गर्न सफल भएको उनले जानकारी दिए। कोभिडपछि महिला एवं यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) समुदायलाई पर्यटनसँग जोड्न परियोजनाले सञ्चालन गरेका विभिन्न रोजगारमूलक तालिम तथा कार्यक्रमबाट महिला एवं यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरू लाभान्वित भएको उनले जानकारी दिए। परियोजनाले गरेको यस प्रकारको कार्यलाई प्रोत्साहन गर्दै बोर्डले २०२२ समेत अर्को पाटा गोल्ड अवार्ड प्राप्त गरेको उनले सुनाए।

पर्यटन सम्बन्धी नयाँ ऐन समय सापेक्ष आउने आशा गर्दै उनले पर्यटन उद्योगलाई नयाँ उचाइ दिने बताए। पर्यटन बोर्ड स्थापनाको २५ औँ वर्षमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सहभागी गराइएको उनले बताए।

होटेल एसोसिएसनकी पूर्वअध्यक्ष सिर्जना रानाले युवाहरूलाई देशभित्र राख्न पर्यटन उद्योग महत्त्वपूर्ण रहेको बताइन। उनले गन्तव्य क्षेत्रलाई वर्गीकरण गर्नुपर्ने सुनाइन।

सन् २०११ मा मनाइएको पर्यटन वर्षका नेसनल कन्भेनर योगेन्द्र शाक्यले ८ लाख भन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सुनाए। उनले फुटेर होइन जुटेर सँगसँगै भन्ने सन्देश प्रवाह हुँदा पर्यटन क्षेत्रमा सकारात्मक परिवर्तन देखिएको बताए।

हालका पर्यटन मन्त्री सुदन किराँतीलाई उनले ‘बिचरा मन्त्री’को संज्ञा दिए। पर्यटन क्षेत्रका सङ्घसंस्थाहरू एकजुट हुन नसकेको भन्दै उनले ‘बिचरा मन्त्री’ले ६० वटा आवाज सुन्नु परेको बताए। ‘बिचरा मन्त्री ज्यू नै भन्नु पर्ला उहाँलाई ६० जनाले ६० वटा कुरा गरे पछि उहाँले कसको कुरा सुन्ने?’शाक्यले भने,‘त्यसकारण हामीहरू ६० जना उहाँ (मन्त्री)लाई भेट्नु भन्दा प्रधानमन्त्रीलाई भेट्नु भन्दा पहिला हामी भेटौँ र एउटै आवाज उठाऔँ, ६० वटा आवाज होइन।’

पर्यटन उद्योगको विकासका लागि यसअघि दिएका समितिका प्रतिवेदनहरू खोल्न मन्त्री किराँतीलाई उनले सुझाव दिए। फेरी समिति गठन गरिरहनु नपर्ने उनले बताए।

बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको विकासका लागि ऐन नियमावली परिवर्तन गर्न नसकिएको सुनाए। सरकार र राजनीतिक दललाई बुझाउन सके २० औँ लाख पर्यटकलाई नेपाल भित्र्याउन सकिने उनले बताए।

बोर्डका पहिलो अध्यक्ष दीपेन्द्र पुरुष ढकालले पर्यटन क्षेत्रको विकासका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताए भने पर्यटन मन्त्री सुदन किराँतीले आर्थिक विकासको मेरुदण्ड पर्यटन रहेको बताए।

किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताए। पर्यटन क्षेत्रमा नेपालीपन झल्काउन आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेको उनले उल्लेख गरे। तर, त्यसलाई मातहतका निकायले बुझ्न नसकेको उनको भनाइ छ।

गाउँमा नयाँ पर्यटन गन्तव्यको खोजी गर्नु पर्ने मन्त्री किराँतीले बताए। ‘संस्कृति र प्रकृतिको समायोजनबाट निर्माण हुने पर्यटन नेपाली पर्यटन हुनेछ,’उनले भने,‘अब हामीले काठमाडौँमा मात्र विकास गरेर मान्छे नबस्ने भयो। अब गाउँमा नयाँ पर्यटकीय गन्तव्यहरू हामीले विकास गर्नुपर्नेछ।’

पर्यटन बोर्डको २५ औँ रजत महोत्सवमा पहिलो पटक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले संस्थागत सहभागिता जनाएका छन्। नेपालमा पहिलो ‘इन्द्रेणी’ विवाह कानुनी रूपमा दर्ता गर्न सफल मायाको पहिचान नेपालले बोर्डको वार्षिकोत्सव कार्यक्रममा सहभागिता जनाएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading