बालकुमारी घटनालाई प्रधानमन्त्रीले दिए ‘डिजाइन’ को संज्ञा

बालकुमारी घटनालाई प्रधानमन्त्रीले दिए ‘डिजाइन’ को संज्ञा

काठमाडौं : कोरिया रोजगारीको सपना बालकुमारीमा अन्त्य गरेका मृतक दुई परिवारका १/१ जना सदस्यलाई सरकारले रोजगारी दिने भएको छ। परिवारका सदस्यहरूसँगको सल्लाहमा १/१ जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमति सरकारले गरेको हो।

सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने मृतकका परिवारसँग सरकारले सहमति भएको छ। मृतक वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणाका लागि गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यथाशीघ्र अनुरोध गर्ने सहमति भएको छ।

मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुर्‍याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउनेछ। अछामका वीरेन्द्र शाहका बुवा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन्।

सरकारले ललितपुरको बालकुमारी घटनाबारे छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्य उच्चस्तरीय छानबिन आयोग गठन गरेको हो।

आयोगको सदस्यमा नेपाल प्रहरीका पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई छन्। आयोगलाई एक महिनाको कार्यअवधि दिइएको छ।

यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिवको हस्ताक्षर किर्ते गरी इपिएस कोरिया बारे भ्रामक सूचना सार्वजनिक भएको बताएको छ।

ईपीएस कोरियाबारे विवाद चर्किरहेका बेला सहसचिव राजीव पोखरेलको दस्तखत किर्ते गरी सामाजिक सञ्जालमा भ्रामक सूचना सार्वजनिक गरिएको भन्दै भ्रामक सूचना सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा आवश्यक कारबाहीका लागि पत्राचार गरेको मन्त्रालयले जानकारी दिएको छ।

भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्री ज्वालाले भिडलाई उत्तेजित बनाउँदा घटना भएको आरोप लगाएका छन्।

४८ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेसले सोमबार काठमाडौँमा गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालकुमारी घटनलाई सहज रूपमा लिन नसकिने टिप्पणी गरे।

एमाले त्यागेर एकीकृत समाजवादी पार्टीमा रहेका यातायात मन्त्री ज्वाला आफैँ हुलमा गाडी लिएर जानुको मक्सदबारे ओलीले प्रश्न गरे। ओलीले हुलमा गएर मन्त्री आफैँले भिडलाई उत्तेजित बनाएर घटना घटाएको आरोप लगाए।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि बालकुमारी घटनामा मन्त्री प्रकाश ज्वालाको उपस्थितिका कारण तनाव बढाएको बताएका छन्। संसद्को राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै मन्त्री श्रेष्ठले भीडमा गाडीबाट ओर्लिएर सवाल जवाफ गर्न लागेकाले स्थिति तनावपूर्ण बनाएको बताए।

सरकारका मन्त्री र प्रतिपक्षी एमालेले मन्त्री ज्वालामाथि आरोप लगाए पछि समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले बालकुमारी घटनामा मन्त्री ज्वालाको कुनै दोष नभएको दाबी गरेका छन्।

राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा काँग्रेसले गरेको कार्यक्रममा अध्यक्ष नेपालले बालकुमारी नजिकै पार्टीको केन्द्रीय कमिटीको बैठकबाट सरकारी कामको सिलसिलामा बाहिर निस्किने क्रममा मन्त्री ज्वालाको गाडीमाथि आगजनी भएको सुनाए। मन्त्री ज्वालाले पनि आफूमाथि लागेको आरोपको खण्डन गरेका छन्।

मन्त्री ज्वालाले आफ्नो कारण घटना नभएको प्रस्टीकरण दिए पनि संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भूमिका बारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने घटनालाई डिजाइनको संज्ञा दिएका छन्। प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताए। उनले घटनामा व्यवस्था उल्ट्याउनेहरूको हात रहेको समेत बताए।

सत्तापक्ष र प्रतिपक्षी दललाई वक्ताका रूपमा बोलाएर नेपाली काँग्रेसले सोमबार मनाएको ४८ औँ मेलमिलाप दिवसमा भएको कार्यक्रममा प्रधानमन्त्री देखि प्रमुख प्रतिपक्षी दलका नेताले बालकुमारी घटनाबारे बोलेका हुन्।

काँग्रेसले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला लगायतका नेताहरू राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ।

लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा काँग्रेसले गरेको विमर्श सभामा सभापति शेर बहादुर देउवाले भने लोकतन्त्र र गणतन्त्रको विकल्प नभएको बताए। उनले फालिसकेको राजतन्त्र आउने सम्भावना नरहेको सुनाए।

काँग्रेसले मनाएको मेलमिलाप दिवसको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भने प्रमुख राजनीतिक दलहरूको संयुक्त सरकार बनाउने प्रस्ताव गरे।

भट्टराईले सरकारलाई पाँचै वर्ष चलाउनका लागि प्रमुख दलहरूको संयुक्त सरकार बनाउनुपर्ने बताए। उनले आपसमा भागबन्डा गरेर सरकार नबनाई एउटा सर्वमान्य व्यक्तिको नेतृत्वमा पाँचै वर्ष सरकार चलाउन सकिने सुनाए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading