भुटानको लोकतन्त्र नक्कली, चुनाव नाटक मञ्चन मात्रै

भुटानको लोकतन्त्र नक्कली, चुनाव नाटक मञ्चन मात्रै

काठमाडौं : भुटानमा मङ्गलवार चौथो राष्ट्रिय आम निर्वाचन हुँदैछ। आशङ्का र विवादकाबीच मतदाताले आम चुनावको निर्णय गर्दै छन्।

भुटान सरकारले मतदानको दिन मङ्गलवार सार्वजनिक बिदा दिएको छ। मतदान नसकिएसम्म नाइट क्लबहरू बन्द गर्न भुटानको निर्वाचन कमिसनले भनेको छ।

मतदाताहरूले मतदान केन्द्रहरूमा मूल नागरिकता परिचयपत्र साथमै लिएर जानु पर्नेछ। राजनीतिक दलहरू, उम्मेदवारहरू, दलका प्रतिनिधिहरू र पार्टी संयोजक समर्थकहरूलाई मतदाताहरू लैजान निषेध गरिएको छ।

हतियार बोक्न कडाइका साथ निषेध गरिएको छ। मतदान बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ। मतदान केन्द्रहरूमा मतदातालाई राष्ट्रिय पोसाक अनिवार्य गरिएको छ। इलेक्सन कमिसन भुटानले सबै योग्य मतदाताहरूलाई आम निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ।

सन् २००७ मा संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्र घोषणा गरेपछि भुटानको यो चोथो आम निर्वाचन हो। भुटानको संसद्मा आगामी चार वर्षका लागि ४७ सदस्य चुनिनेछन्।

भुटानी जनतालाई स्वतन्त्र र निष्पक्ष रूपमा मतदान गर्न अनुमति दिइँदैन। निर्वाचित प्रतिनिधिहरू आफ्नो विवेक अनुसार जनताको सेवा गर्नबाट वञ्चित भएका छन्। भुटानमा प्रजातान्त्रिक प्रक्रियालाई कहिल्यै स्वतन्त्र रूपमा काम गर्न दिइएन।

भुटानको संसद्ले अझै पनि सार्वभौम कानुन बनाउने निकायको सट्टा रबर स्ट्याम्पको रूपमा काम गरिरहेको छ। यस्ता अलोकतान्त्रिक हस्तक्षेपहरूले भुटानमा प्रजातन्त्र नक्कली हो भन्ने आभास दिएको नदेरल्याण्ड्सको हेगमा रहेको भुटानी राजबन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले बताएका छन्।

तत्कालीन भुटानी राजपरिषद्का पूर्व सल्लाहकार टेकनाथ रिजाललाई जेल हालेको भुटानले अन्तर्राष्ट्रिय मञ्चमा देखाउन र अन्ततः केही व्यक्तिको स्वार्थ पुरा गर्नका लागि मात्रै चुनावको नाटक मञ्चन गर्दै आएको छ।

रिजाल भुटानमा लोकतन्त्र, सुशासन र मानवअधिकारको माग गर्दा १० वर्ष जेल परेर देश निकाला गरिएका भुटानका पूर्व जनप्रतिनिधि हुन्। देश निकालिएकाहरू ६ हजार ५ अझै पनि नेपालमा शरणार्थी भएर बसेका छन्। अधिकांश तेस्रो देश पुर्नवास भैसकेका छन्।

विरोधका आवाज दबाउन देश निकाला गर्ने भुटानी राज्यसत्ताले नेपालमा रहेका भुटानी शरणार्थीहरूको स्वदेश फिर्तीको मागलाई बेवास्ता गर्दै आएको छ। राज्यसत्ताको अत्याचारविरुद्ध आवाज उठाउनेलाई जेल हाल्ने भुटानले कैद सजाय भुक्तान गरेकालाई देश निकाला गर्दै आएको छ। पछिल्लो पटक भुटानको जेलबाट रिहा भएका मधुकर मगर नेपालको शरणार्थी शिविरमा आइपुगेका छन्।

भुटानमा चौथो आमनिर्वाचन अन्तर्गत मतदान सुरु हुँदै गर्दा अभियानका संयोजक कार्कीले धेरै सावधानीपूर्वक, स्वतन्त्र रूपमा, तर्कसङ्गत र ठुलो गोपनीयताका साग मतदान गरेमा देशमा संवृद्धि ल्याउन सक्ने उल्लेख गरेका छन्। तर, दुरुपयोग भएमा राष्ट्रका लागि विनाशकारी हुने उनले बताए।

संयोजक कार्कीले भुटानी जनतालाई यो निर्वाचनमा डर, पैसाको लालच वा जुनसुकै दबाब बिना उपयुक्त उम्मेदवारहरूलाई मतदान गर्ने अवसरको रूपमा लिन अनुरोध गरेका छन्। उनले भने,‘नयाँ संसद्ले देशका सबै राजनीतिक बन्दीहरूलाई रिहा र सम्मान गरोस्, जनताका सबै वर्गलाई लोकतान्त्रिक माध्यमबाट निर्माण प्रक्रियामा समावेश गर्ने नीति तर्जुमा र कार्यान्वयन गरोस्।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading