गठबन्धनका उम्मेदवारविरुद्ध एमालेको उजुरी

गठबन्धनका उम्मेदवारविरुद्ध एमालेको उजुरी

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध प्रतिपक्षी एमालेले उजुरी दिएको छ। एमालेले सत्ता गठबन्धनका दुई जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न उजुरी दिएको हो।

एमालेले उजुरी दिएका उम्मेदवारमा एक जना काँग्रेस र अर्का एक जना माओवादी केन्द्रका उम्मेदवार हुन्। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी दर्ता भएको छ।

उम्मेदवारी दिएका मध्ये दुई जनाविरुद्ध मात्रै उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए।

पौडेलका अनुसार सुदूरपश्चिम प्रदेशबाट उम्मेदवारी दिएका काँग्रेसका अपाङ्गता तर्फका उम्मेदवार नारायण दत्त भट्टविरुद्ध उजुरी परेको छ। भट्टविरुद्ध एमालेका रामचन्द्र जोशीले उजुरी दिएका हुन्।

कर्णाली प्रदेशसभाबाट नेकपा माओवादी केन्द्रका दलित तर्फका उम्मेदवार विष्णु बहादुर विश्वकर्मा विरुद्ध पनि उजुरी परेको छ। विकविरुद्ध पनि एमालेका उम्मेदवार हिक्मत विकले उजुरी दिएका हुन्।

प्रवक्ता पौडेलका अनुसार बुधवार र बिहीबार उम्मेदवारहरूको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशन गरिने कार्यक्रम छ। २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गरिने छ।

पुस २८ गते आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ। राष्ट्रिय सभामा रिक्त १९ सदस्य चुन्नका लागि माघ ११ गते मतदान हुनेछ।

सत्तारुढ नेपाली काँग्रेसका नेताहरूले समेत गत चुनावमा पराजित नेताहरू राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बन्नुलाई नैतिकता नभएको भनेका छन्।

काँग्रेसबाटै गत मङ्सिरको चुनावमा पराजित नेताहरू राष्ट्रियसभा सदस्यमा उम्मेदवार बने पछि प्रतिनिधिसभा सदस्य समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उम्मेदवार बन्ने व्यक्तिलाई दोषी देखाएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पनि निर्वाचनमा पराजित भएकाहरूलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन्। हारेकालाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि प्रहार भएको लामिछानेको टिप्पणी छ।

सरकार जोगाउन राप्रपालाई सभामुख

सत्ता गठबन्धनले कोशी प्रदेशमा सरकार जोगाउन सङ्घीयता विरोधी राप्रपालाई सभामुख पद जिम्मा लगाएको छ। सरकार जोगाउन गठबन्धनले राप्रपालाई सभामुख दिएको हो।

सत्ता राजनीतिको चक्रव्यूहमा परेर गत साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त सभामुख पद राप्रपाले पाएको छ। सत्ता गठबन्धन र एमालेको समेत समर्थनमा मङ्गलवार बसेको कोशी प्रदेश सभा बैठकले राप्रपाका सांसद अम्बरबहादुर विष्टलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। वर्तमान सरकार जोगाउन सभामुख पद एमाले र राप्रपामध्ये एउटालाई बुझाउनुपर्ने बाध्यता गठबन्धनलाई थियो। गठबन्धन दलसँग ४७ सांसद मात्रै छन्।

सभामुख विष्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। तर, विष्ट सभामुख बने लगत्तै राप्रपाभित्र भने विवाद भएको छ। उनलाई सभामुख पदबाट फिर्ता हुन राप्रपाको केन्द्रीय निर्देशन समितिले निर्देशन दिएको छ।

समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीले सभामुख पद लिएकोमा असन्तुष्टि जनाउँदै फिर्ता हुन निर्देशन दिएका हुन्। पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति पार्टी अध्यक्ष समेतको सहभागितामा भएको लोहनीले उल्लेख गरेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.