यौनकर्मीको सपना : कमाएको पैसाले शिक्षा दिलाउने

यौनकर्मीको सपना : कमाएको पैसाले शिक्षा दिलाउने

एजेन्सी : युगान्डामा यौनकर्मीहरू अनेक लाञ्छना र दुर्व्यवहारको सामना गर्दै आएका छन्। तर यौनकर्मी महिलाहरूमा रहेको भगिनीत्वले भने उनीहरूलाई अनेकन् चुनौतीसँग लड्न सहयोग गरिरहेको छ।

कम्पालाको पूर्वी किनारामा रहेको वाबिडुकुस्थित एक दुर्गन्धित बस्ती अनि फोहोरले भरिएको गल्लीको तलपट्टि तारेको माछाका टुक्रा बेच्ने ठाउँमा उज्यालो, गुलाबी ढुवानी कन्टेनर देखिन्छ, जसलाई एचआइभी÷एड्स परीक्षणको महत्वको विज्ञापन गर्ने कार्टुन कन्डम र ब्यानरहरूले चित्रित गरिएको छ।

युगान्डाको राजधानीमा अप्रत्याशित यो रङ्गिन ठाउँ लेडी मरमेड एम्पावरमेन्ट सेन्टरद्वारा सञ्चालित छ। यौनकर्मीहरूको नेतृत्वमा रहेको यस सङ्गठन निःशुल्क गर्भ निरोधक एवं परामर्श प्रदान गर्दै आफ्नो पेसालाई अपराधरहित बनाउन लडिरहेको छ। वार्षिक २५ हजार महिलाहरूलाई आबद्ध गराउँदै कार्यरत यो सङ्गठन कम्पाला र अन्य दुई जिल्लाका १२२ वटा हट स्पट (सडकका किनारा, बार, वेश्यालय र लजहरू) मा फैलिएको छ।

सेन्टरका कार्यकारी निर्देशक संयु हजराह बट्टेले अल जजीरालाई भने–‘यौनकर्मीहरूको सेवामा हरेक दिन गरिने स–साना कार्यले मलाई उत्प्रेरित गर्छ। यौनकर्मीको अनुहारमा मुस्कान ल्याई उनीहरूको जीवन परिवर्तन गर्न सक्छु भन्ने कुरालाई मैले महत्त्वपूर्ण ठानेको छु।’

रुढीवादी युगान्डामा उनको यो काम निकै गाह्रो छ। युगान्डामा औपनिवेशिक युगको दण्ड संहिता अन्तर्गत वेश्यावृत्ति गैरकानूनी छ र सात वर्षको जेल सजाय तोकिएको छ।

युगान्डाको समाजले यौनकर्मीहरूलाई फरक स्थानमा राखेको छ। ग्राहकहरूबाट दुर्व्यवहारको खतरा, छिमेकीबाट लाञ्छना र आफ्नो सुरक्षाको आस गरिएका प्रहरी बलबाटै घृणा उनीहरूको दैनिक भोगाई हुने गरेको छ।

आलिया अधिकांश जसो बिहानको चहलपहल र गर्मीकाबीच लेडी मरमेड ड्रप–इन सेन्टर पुग्छिन्। केही घण्टा उनी आफ्ना साथी यौनकर्मीहरूलाई यो सानो शरणस्थलमा स्वागत गर्ने कार्यमा खट्छिन्। उनी त्यहाँ आउनेहरूलाई चियाको कप दिन्छिन् अनि आराम गर्ने, नुहाउने ठाउँ देखाउँदै पढ्नको लागि जानकारीमूलक ब्रोशरहरू देखाउँछिन्। २९ वर्षीया आलियाले उनीहरूलाई भनिन्–‘यो घर हो।’

साँझ पर्ने बित्तिकै महिलाहरू अलिकता पर रहेको वेश्यालयमा फर्किन्छन्। सङ्गीतको ठुलो आवाजसँगै पसीना अनि बियरको दुर्गन्धकाबीच उनीहरूले रातको व्यापार सुरु गर्छन्। त्यहाँका लजहरू नग्न, नृत्य गरिरहेका महिलाहरूको फ्लोरोसेन्ट छवि चित्रित जीर्ण क्ल्यापबोर्डबाट बनाइएका छन्। तिनका बालबालिकाहरू अँध्यारो कुनामा खेल्छन्।

आमाबुबाको मृत्यु पछि दुई साना भाइबहिनीको हेरचाह गर्ने जिम्मेवारी थपिएपछि आलियाले १७ वर्षको उमेरमा यौन कार्य थालेकी थिइन्। एक जना मानिसले विवाह गर्ने र बच्चाहरूको हेरचाह गर्न मद्दत गर्ने वाचा गरेपछि उनले ती व्यक्तिसँगै रात बिताइन्।

तर पछि ती व्यक्तिले मन परिवर्तन गरे र आलियालाई आफ्नो शरीर बेचेर पैसा कमाउन सल्लाह दिए। ग्राहकहरू उनलाई ५ हजार युगान्डा शिलिंग (करिब १.३० डलर) तिर्छन्।

सेन्टरका निर्देशक बट्टे यस्ता चुनौतीसँग साक्षात्कार भइसकेका छन्। १४ वर्षको उमेरमा दोस्रो पटक महिनावारी भएको बेला आफ्नै काकाले उनलाई बलात्कार गरे जसबाट उनी गर्भवती भइन् र किशोरावस्थामा नै बच्चा जन्माइन्। उनका आमाबाबुले परिवारको इज्जत र लाज बचाउन काकासँगै विवाह गर्नुपर्ने बताएपछि आफ्नी नवजात छोरीलाई छाडेर, बट्टे घरबाट भागे।

उनी डान्स क्लबहरूमा, आफूलाई खाना र सुत्न न्यानो ठाउँ उपलब्ध गराउन सक्ने पुरुषहरूको खोजीमा हुन्थिन्। पछि उनलाई आफूभन्दा ठुलो उमेरका महिलाहरूले एउटा कोठा उपलब्ध गराउँदै काम गर्ने तरिका र निरन्तररुपमा ग्राहकहरू कसरी प्राप्त गर्ने भनेर सिकाए। ‘यौनकर्मीहरू मेरो पहिलो परिवार थिए’ उनले भनिन्।

अहिले उनी लेडी मरमेड एम्पावरमेन्ट सेन्टर कार्यक्रममार्फत आफ्नो समुदायका यौनकर्मीहरूलाई सहानुभूतिसँगै समर्थन प्रदान गर्छिन्। ‘मेरो भोगाई सबैभन्दा नराम्रो होइन, मैले यौनकर्मीहरूको यो भन्दा पनि दयनीय अवस्था र भोगाई देखेको छु’ बट्टेले अल जजीरालाई वास्तविक कुरा बताइन्।

भयको वातावरण

धेरै पुरुषहरू सुरक्षित यौनकार्यका लागी मान्दैनन्। आफूहरूलाई कुटपिट गर्ने, चक्कु देखाएर पैसा चोरी गर्ने अल जजीराले अन्तरवार्ता लिएका यौनकर्मीहरूको अनुभव छ। वाबिदुकुकी अर्की यौनकर्मी रशिदाले आफ्नो हातको गहिरो दाग र चिथोरिएका धर्साहरू देखाइन्। उनीमाथि लुटपाट र बलात्कारको प्रयास भएको थियो।

पतिको मृत्युपछि आफ्ना छोराछोरीलाई पर्याप्त खाना खुवाउने आशामा रशिदाले २८ वर्षको उमेरमा यौनकार्य गर्न थालेकी थिइन्। अहिले दुई दशक भन्दा बढी भइसकेको छ। अब भने उनको शरीरले यो कामलाई निरन्तरता दिन कठिन भइरहेको छ।

अधिकारीहरूलाई आफूहरूमाथि हुने हिंसा र सामना गर्नुपरेका चुनौती रिपोर्ट गर्ने उनीहरूको प्रयास पनि व्यर्थ हुने गर्दछ। प्रहरीले हामीलाई “तिमीहरू स्वयं आफूलाई बेच्छौ, अनि हामीबाट के चाहन्छौ?” भनी हप्काउँछन्’ रशीदाले भनिन्–‘जहाँ गए पनि कुनै सहयोग पाउँदैनौँ।’

युगान्डामा स्वास्थ्य सेवामा समेत यौनकर्मीहरूको पर्याप्त पहुँच छैन। युगान्डाले संसारमा सबैभन्दा कठोर समलैंगिकता विरोधी ऐन पारित गरेपछि यसमाथि थप प्रतिबन्ध लगाइएको छ।

युगान्डामा गत मेमा हस्ताक्षर गरिएको नयाँ कानुनले समलिङ्गी सम्बन्धका लागि कडा जेल सजाय र मृत्युसम्मको सजायको तोकेको छ। देशमा समलिङ्गी सम्बन्ध पहिलेदेखि नै गैरकानुनी मानिन्थ्यो। यद्यपि कानुनले प्रत्यक्षरुपमा यौनकर्मीहरूलाई लक्षित गरेको छैन तर यसले उनीहरूमा भयको वातावरण पैदा गरिदिएको छ।

युगान्डा एनजिओ ब्युरोबाट लिक भएको रिपोर्ट अनुसार, लेडी मरमेड एम्पावरमेन्ट सेन्टरलाई पनि समलैङ्गिकतालाई बढवा दिने २२ संस्थाहरूको सूचिमा अनुसन्धानका लागी सूचीबद्ध गरिएको थियो। नयाँ कानुन अन्तर्गत अब यसलाई पनि गैरकानूनी मानिनेछ।

लेडी मर्मेड एम्पावरमेन्ट सेन्टरकी सञ्चार र वकालत अधिकृत नबिरा नामवान्डाले नयाँ कानुन पारित भए लगत्तै डरले यौनकर्मीहरू लुकेर बसेको अनुभव सुनाइन्। ‘विधेयक पारित भएपछि हामी शून्यमा झर्यौं’ सेन्टरका कार्यक्रम प्रबन्धक डोरोथी नाकाएंगाले भने। ‘हामी सबै बाहिर जान र आफ्नो समुदायमा सेवा दिन पनि डराउँथ्यौँ’ बट्टेले थपिन्।

यस हप्ता युगान्डाको संवैधानिक अदालतमा लिखित निवेदन परेपछि कानुनलाई चुनौती दिने सुनुवाइ सुरु भयो। यदि यसलाई खारेज गरियो भने कानुनका कारण हुने कठिनाइसँगै त्रास पनि बढ्ने अधिकारकर्मीहरू बताउँछन्।

न्यायको बाटो

बट्टे युगान्डा र पुरै अफ्रिकी महाद्वीपमा यौन कार्यलाई अपराधको श्रेणीबाट हटाइयोस् र यौनकर्मीहरू पनि अन्य पेशेवरहरू जस्तै आफ्नो जीवन बिताउन स्वतन्त्र होउन् भन्ने चाहन्छिन्।

‘यसको सुरुवात तल्लो तहबाट हुने हो। अब यौनकर्मीको रूपमा आफ्नो अधिकारका लागि अदालत जानु अघि समुदायलाई संवेदनशील बनाउन आवश्यक छ’ बट्टेले भनिन्।

अहिलेको लागि, कठिनाइ र खतराको सामना गर्दै, महिलाहरूले वेश्यालयबाट कमाएको पैसा आफ्नो र परिवारको लागि खर्चिरहेका छन्। ‘यौन कार्यमार्फत, मैले बच्चा जन्माएँ, तिनीहरूको हेरचाहमा खर्च गरेँ अनि धेरथोर पैसा बचत गरेको छु’ अर्की यौनकर्मी होपले भनिन्। एक दिन आफ्नो लागि घर बनाउने आलियाको योजना छ। आफूले पढ्न नपाए पनि कमाएको पैसाले छोराछोरीलाई शिक्षा दिलाउने उनको सपना छ। हरेक सानो जीत पनि सुरक्षा र संरक्षणको दिशामा अर्को कदम हो’ उनी भन्छिन्।

बट्टे भविष्यमा यौनकर्मीका लागि भेदभावरहित सेवा प्रदान गर्ने क्लिनिकहरू हुने, ग्रामीण क्षेत्रमा पनि महिलाहरू हिंसाको रिपोर्ट गर्न तयार भएको र सबै भन्दा महत्त्वपूर्ण कुरा, मानिसहरू आफ्नो लागि आफैँ वकालत गर्न सक्षम भएको कल्पना गर्छिन्। उनले भनिन् ‘म कानुनलाई चुनौती दिन सक्ने शिक्षित र सशक्त यौनकर्मीहरूको समुदाय देखिरहेकी छु’ बट्टेले भनिन्।
“व्यक्तिको पहिचान सुरक्षित गर्न नामहरू परिवर्तन गरिएका छन्”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading