दुर्घटना न्यूनीकरणको गफैगफ, मङ्सिरमा मात्रै ९१६ जनाको मृत्यु

दुर्घटना न्यूनीकरणको गफैगफ, मङ्सिरमा मात्रै ९१६ जनाको मृत्यु

काठमाडौं : सडकको अवस्था र चालकको लापरबाहीका कारण दुर्घटनामा धेरैले ज्यान गुमाउनु परेको छ। मङ्सिर महिनामा भएका छुट्टाछुट्टै दुर्घटनामा ९१६ जनाले अकालमा ज्यान गुमाउनु परेको छ। सडक दुर्घटनामा मानिसको मृत्यु नभएको कुनै दिन छैन। हरेक दिन सडक दुर्घटनामा मानिसको मृत्यु भइरहेको छ।

सरकार भने दुर्घटना न्यूनीकरणको बाँसुरी बजाइरहेको छ। सरकार दुर्घटना न्यूनीकरणमा गम्भीर रहेको र समाधान गर्ने गरी काम गरिरहेको बनावटी जवाफ दिएर बसेको छ।

नेपाल प्रहरीको तथ्याङ्क प्रस्तुत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालेको हो? भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।

सरकार भने सवारी दुर्घटना कम गर्न तिर नलागी गफैगफमा भुलिरहेको छ। बालकुमारी घटनामा राजीनामा दिनुपर्ने अवस्थामा पुगेका यातायात मन्त्री प्रकाश ज्वालाले रास्वपाका सांसदहरूलाई दुर्घटना न्यूनीकरण गर्ने गरी सरकारले काम गरिरहेको जवाफ दिएका छन्।

राष्ट्रिय सरोकार तथा समन्वय समितिले माघ ५ गते सडक सुरक्षाबारे मन्त्री ज्वालालाई बोलाएको छ। समितिको बुधवार बस्ने बैठकमा भने सडक सुरक्षा र नागरिक अधिकारबारे गरिएको अध्ययनमा छलफल गर्न लागिएको समितिकी सचिव सिता काफ्लेले जानकारी दिइन।

सरकार र सडक प्रयोगकर्ताले चालकको लापरबाहीका कारण सडक दुर्घटना भएको बताइरहँदा यातायात व्यवसायी भने स्वीकार गर्न तयार छैनन्। सडक दुर्घटनामा राज्यकै कमजोरी रहेको नेपाल यातायात राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जिकिर गरेका छन्। उनले चालकको कारण मात्रै दुर्घटना भएको देख्नु गलत भएको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायत सरकारका मन्त्रीहरू भने भाषणबाजीमै रमाइरहेका छन्।

२६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा गृहमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिले काठमाडौँको चन्द्रागिरिमा गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकार मिलेर काम गरिरहेको बताए। हालै गएको जाजरकोट, बाजुरा भूकम्प पीडितका लागि पनि सरकारले तीव्र रूपमा काम गरिरहेको उनले सुनाए।

दिवसकै अवसरमा काठमाडौं महानगरपालिकाले गरेको कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका रहेका स्वयंसेवकलाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको बताए।

काठमाडौँकी उपप्रमुख सुनिता डङ्गोलले विद्यालयको पुनः निर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताइन।

नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भने जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका छन्। भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरमा आयोजित जनचेतनामूलक शैक्षिक प्रदर्शनीमा सुवालले देश विकास गर्ने योजना नभए राजीनामा दिन सुझाव दिए।

एक वर्षमा २ हजार ३१८ जना नेपाली डाक्टर विदेश गएको उल्लेख गर्दै उनले सरकारको काम असल चरित्रको प्रमाण पत्र दिने मात्र हो? भनेर प्रश्न गरे। परराष्ट्रमन्त्री एन पी साउदले आफ्नो काम राहदानी बाँड्ने मात्र भएको बताएको भन्दै उनले मन्त्रीलाई कार्यक्षेत्रबारे स्मरण गराए।

सरकार अक्षम

सरकार रुस–युक्रेन युद्धमा मृत्यु भएका नेपालीको शव ल्याउन अक्षम बनेको छ। इजरायल र हमास युद्धमा बेपत्ता भएका विपिन जोशीको अवस्था अझै अज्ञात छ। रुसी सेनामा भर्ना भएका लमजुङको दुधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको छ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश जान लागेको जानकारी गराएका उनी रुसी सेनामा भर्ती भएका थिए। उनको पुस १४ गते मृत्यु भएको खबर पाएको माओवादी केन्द्रको भातृ सङ्गठन वाइसीएलका केन्द्रीय सचिव सुनिल सुनारले जानकारी दिए।

साजन वाइसीएल दुधपोखरी गाउँपालिकाका अध्यक्ष हुन्। साजनका पिता श्रीमान् गुरुङका अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका थिए। तर उनी रुसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्रै पाएको थियो।

साजन पुस १४ गतेसम्म परिवारको सम्पर्कमै थिए। साजनसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सङ्ख्या १२ पुगेको छ। दर्जन बढी नेपाली युवाका शव रुसस्थित शव गृहमा राखे पनि सरकारले स्वदेश ल्याउन सकेको छैन। बरु रुसी सेनामा मृत्यु हुने नेपालीको सङ्ख्यामा बढोत्तरी भइरहेको छ।

१३३ परिवारले आफ्ना परिवारका सदस्यहरू त्यहाँ जोखिममा परेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन्। सरकारले आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता गराउन पहल गरिरहेको बताए पनि सफलता पाएको छैन।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading