‘झुटोको थुतुनो चल्दा सत्यको मुख बन्द’

‘झुटोको थुतुनो चल्दा सत्यको मुख बन्द’

काठमाडौं : सामाजिक संजालमा नियोजित रुपमा पटक पटक हुने झुटो प्रचार हेर्दा हेर्दै सत्य लाग्ने अबस्था बनेपछि सरकार, राजनीतिक दलका नेताहरु आत्तिएका छन्। राजनीतिक दलहरुको सहमतिमै सरकारले केही समय अघि सामाजिक संजाल टिकटक बन्द गराएको छ।

सरकार सत्यको मुख बन्द भएको र झुटोको थुतुनो चलेको निष्कर्षमा पुगेको छ। सम्पादक समाज नेपालले गोविन्द वियोगीका नाममा स्थापना गरेको पत्रकारिता पुरस्कार हस्तान्तरण गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक संजालका कारण सत्य गुमराहमा पर्ने खतरा बढेको बताए।

सत्य बुझेकाहरु चुप लागेर बस्दा झुट नै सत्य बनेको उनले सुनाए। ‘बीपी कोइरालाले भन्नुभएको थियो, जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ। अहिले सामाजिक सञ्जालबाट धेरैजसो झुटोको थुतुनो चलेको छ,’अर्थमन्त्री महतले भने,‘सत्य बुझेकाहरु गाली खाइन्छ भनेर चुप लागेर बसेका छन्, सामाजिक सञ्जालमा मात्र निर्भर हुनुहुँदैन, मूलधारका सञ्चारमाध्यमलाई पनि अगाडि ल्याउनुपर्छ।’

सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेको उनले बताए। ‘हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ। कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन्,’उनले भने,‘हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ। आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे। मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले। गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउन छाडे। यो अत्यन्तै खतरनाक हो।’

अर्थमन्त्री महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको बताए। मन्त्री महतले भने,‘पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो।’

वियोगी पत्रकारिता पुरस्कार भण्डारी र उत्सुकलाई

उनले विगतको पत्रकारिता स्मरण गर्दै लोकतान्त्रिक धारबाट होमनाथ दाहाल र वामपन्थीधारबाट गोविन्द वियोगीले प्रत्रकारिता गर्नु भएको स्मरण पनि गरे। ‘वियोगीजी सम्झिराख्नुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो। त्यसअर्थ ट्रस्ट स्थापना भएको छ। यसको कार्यालय नुवाकोटमा रहेको छ, यसमा म अन्त्यै खुशी छु,’उनले भने,‘ट्रस्टको विकास, गतिशीलता पत्रकारितासँग जोडिएको विषयवस्तुमा अन्तक्र्रिया होस्, छलफल होस्। यो परिसरको पूर्णरुपमा उपयोग होस्, ट्रस्ट जीवन्त बनोस्।’

विधिको शासन सुनिश्चित गर्नका लागि विषम परिस्थितिमा पनि निडर भएर वियोगीले काम गर्नुभएको मन्त्री डा. महतले स्मरण गरे। उनले भने, ‘यसैका आधारमा आज हामीले स्वतन्त्रता उपभोग गरिरहेका छौं भन्ने कुरा हामीले बिर्सन मिल्दैन।’

देशको आर्थिक अवस्था अप्ठ्यारा भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको उनले बताए। परिस्थिति सहज भएपछि संघसंस्थाको महत्वलाई बुझेर पुनः सहयोग उपलब्ध गराइने उनको भनाइ थियो। ‘मैले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै खालका बिथिति थिए। त्यसलाई अर्डरमा ल्याउने चुनौति मेरो सामू थियो,’अर्थमन्त्री महतले भने,‘बानी परिसकेपछि त्यसलाई छोडेर अर्को बाटो तय गर्नु एकदमै कठिन काम हुँदो रहेछ। त्यो बिथितिलाई एकै धक्कामा सफा गर्न पनि कठिन थियो। विस्तारै काम भइरहेको छ।’

‘समग्र अर्थतन्त्रमा बाह्य र आन्तरिक कारणबाट समस्याहरु रहेको उनले सुनाए। ‘कोभिड अगाडि र कोभिडका बेलामा धेरै ठूलो ऋण प्रवाह भयो, जुनबेला खर्च गर्न सक्ने ठाउँ नै थिएन। गलत समयमा धेरै ऋण प्रवाह भयो। लगानी गर्ने ठाउँ नभएपछि धेरै सेयर बजार जग्गा कारोबारमा भयो,’उनले भने,‘यसलाई रोक्न कसिलो मौद्रिक नीति आयो। लगानीको प्रतिफल नआउँदा दायित्व बढ्यो, ब्याज वृद्धि भयो। त्यो बेला ऋण लिएका ऋणी समस्यामा छन्। यो समस्या अहिले मुख्य छलफलको विषय बनेको छ।’

अर्थमन्त्री महतले अर्थतन्त्र विस्तारै लयमा फर्किदै गरेको सुनाए। ‘जग्गा कारोबार चलायमान भएको छ, नेप्से परिसूचक उकालो लागेको छ। धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएका छन्। बाहिरबाट सिस्टममा प्रशस्त पूँजी प्रवाह भएको छ। आत्मविश्वास पनि विकसित हुँदै गएको छ,’ मन्त्री महतले भने,‘आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्छ, लगानीको नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ। अर्थतन्त्रमा देखिएको अन्योल समाप्त हुँदैछ। सञ्चारकर्मी साथीहरुले सकरात्मक भाष्यलाई अगाडि बढाउनु हुनेछ। यसले आत्मविश्वास बढाउँछ।’

वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण

सम्पादक समाज नेपालले गोविन्द वियोगी पत्रकारिता पुरस्कार योहो टेलिभिजनका समाचार प्रमुख जिवराम भण्डारीलाई प्रदान गरेको छ। यो वर्षको गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार नुवाकोट कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका त्रिशूली प्रवाहका सम्पादक शरण उत्सुक सापकोटालाई प्रदान गरिएको छ।

अर्थमन्त्री महत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्का, पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट, गोविन्द वियोगी ट्रष्टकी संरक्षक कृष्ण बदन वैध्य, सम्पादक समाज नेपालका अध्यक्ष पुरु रिसाल संयुक्त रुपमा भण्डारी र उत्सुकलाई पुरस्कार हस्तान्तरण गरे।

भण्डारीले २५ हजार १ रुपैयाँ र उत्सुकले १५ हजार १ रुपैयाँसहित सम्मानपत्र प्राप्त गरे। गोविन्द वियोगी वरिष्ट पत्रकार सम्मान दुई जनालाई प्रदान गरिएको छ।

यो वर्षको सम्पादक समाज नेपालको सम्मानबाट वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले र एफ.एम. रेडियो मार्फत पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि उल्लेखनीय योगदान पुर्‍याए बापत कम्युनिकेशन कर्नरकी निर्देशक मन्टेश्वरी राजभण्डारी सम्मानित भए।

हरेक वर्ष सम्पादक समाज नेपालले वियोगीको स्मरणमा पुरस्कार एवं सम्मान गर्दै आएको महासचिव श्यामकाजी डोटेलले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.