राष्ट्रिय सभा चुनाव : मौन अवधि उल्लङ्घनको प्रतिस्पर्धा

राष्ट्रिय सभा चुनाव : मौन अवधि उल्लङ्घनको प्रतिस्पर्धा

काठमाडौं : राष्ट्रिय सभाका १९ सदस्य चयन गर्न बिहीबार सातै प्रदेशमा मतदान हुदैछ। निर्वाचन आयोगले मतदानको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ। बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म मतदान हुनेछ।

आयोगका अनुसार १९ पदका लागि विभिन्न राजनीतिक दलहरूबाट ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिए लगत्तै मतगणना सुरु हुने र परिणाम बिहीबार बेलुकी ७/८ बजेसम्म आइसक्ने दाबी गरेका छन्।

निर्वाचन हुन केही घण्टा मात्रै बाँकी रहँदा आचारसंहिता उल्लङ्घन गर्न दलहरुबीच भने प्रतिस्पर्धा चलेको छ। मौन अवधिमा कुनै पनि प्रचार प्रसार, सभा, भेला, चियापन जस्ता कार्यक्रम गर्न पाइँदैन।

तर नेपाली काँग्रेसका नेता शेखर कोइरालाले विराटनगरस्थित निवासमा बोलाएर राष्ट्रियसभा चुनावका मतदाता रहेका प्रदेशसभा सदस्यहरू र पालिकाका प्रमुख उपप्रमुखहरूलाई बोलाएर चियापान कार्यक्रम गरेका छन्।

एमाले–राप्रपा गठबन्धनले पनि विराटनगरकै होटल ह्यारिसनमा चुनाव लक्षित भेला गरेको छ। आयोगका प्रवक्ता पौडेलले दुवै गठबन्धनका दुई कार्यक्रमलाई नजिकबाट निहालिरहेको र आचारसंहिता विपरीतका कार्य भएको पाइए कारबाही अघि बढाउने बताएका छन्।

विगतको तुलनामा यसपटकको निर्वाचन आचार संहिता केही खुकुलो भए पनि आचारसंहिता विपरीतका घटना भए आयोग चुप लागेर नबस्ने उनले बताए। यससम्बन्धमा मोरङका प्रमुख जिल्ला अधिकारीलाई स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता पौडेलले बताए।

बिहीबार हुने निर्वाचनमा प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी ७ मतदान स्थल र १४ वटा मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।

तोकिएका मतदान स्थलमा प्रदेश सभाका सदस्यले मतदान गर्न र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्ला बेग्लै मतदान केन्द्रहरू रहेको पनि आयोगले जनाएको छ।

माघ २२ गते सङ्घीय संसद्को बैठक

सङ्घीय संसद्को हिउँदे अधिवेशन माघ २२ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा माघ २२ गते दिउँसो ४ बजे सङ्घीय संसद्का दुवै सदनको बैठक आव्हान गरेका हुन्।

अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ। संसद्मा विचाराधीन अवस्थामा रहेका सत्य निरूपण तथा मेलमिलाप आयोग, विद्यालय शिक्षा लगायतका दर्जन विधेयक हिउँदे अधिवेशनको कार्यसूचीमा रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

कानुन निर्माणको थलो संसद्मा सरकारले नयाँ विधेयकहरू समेत ल्याउने अपेक्षा संसद्ले गरेको छ। संसद्ले बिजनेस पाउने नपाउने भन्ने कुरा सरकारमै निर्भर हुने संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.