निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सरकारको अर्को उपलब्धि, थप ३ हजार राष्ट्रिय सहिद

सरकारको अर्को उपलब्धि, थप ३ हजार राष्ट्रिय सहिद

365
SHARES

काठमाडौं : सरकार थप तीन हजार राष्ट्रिय सहिद घोषणा गर्ने तयारीमा लागेको छ। जहानियाँ राणा शासन ढाल्न सहादत प्राप्त गरेका चार सहितको स्मरणमा सप्ताहव्यापी कार्यक्रम चलिरहेका बेला सरकारले थप ३ हजार सहिद घोषणा गर्ने निर्णय गरेको छ।

सहिद सप्ताह अन्तर्गत शनिवार सहिद धर्मभक्त माथेमाको सम्झना गरिएको छ। सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाले माथेमाले सहादत प्राप्त गरेका स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा गरेको छ।

महानगरपालिकाले हरेक वर्ष माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ। विक्रम संवत् १९७७ माघ १० गते शुक्रराज शास्त्रीलाई पचलीमा झुन्डाएर मृत्युदण्ड दिइएको थियो।

माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो। तीनै दिनको सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ।

पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विरोध हुने गरेको छ। कुनै घटना वा दुर्घटनामा परेकालाई पनि सहिद घोषणा गरिँदा देशका लागि जीवन आहुति दिनेको अपमान भएको भन्दै विरोध हुने गरे पनि सरकार जो सुकैलाई राष्ट्रिय सहिद घोषणा गरिरहेको छ।

सरकारको देखिने अर्को उपलब्धि सहिद घोषणा भएको छ। ३ हजार सहिदको नाम मन्त्रिपरिषद् बैठकबाट निर्णय भइसकेकाले घोषणा मात्रै हुन बाँकी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। उनले छुट सहिदको नाम लिष्टिङ भएको पनि बताए।

जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय सहिद घोषणा गर्ने काम सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोशमा सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रता प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिने लेखिएको छ।

नेपालको पहिलो सहिद लखन थापालाई मानिन्छ। थापालाई तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरविरुद्ध प्रचार–प्रसार गरेको आरोपमा वि.सं. १९३३ फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकैको रुखमा झुन्ड्याएर मारिएको थियो।

प्रधानमन्त्री प्रचण्डले आफूले नै देशको नेतृत्व गरिरहनु पर्ने पनि बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले जनयुद्धको थालनी, शान्ति प्रक्रिया, संविधान निर्माणसम्मको उदाहरण दिँदै रातारात कोही आएर देश हाँक्न नसक्ने तर्क गरे।

समाचार शेयर गर्नुहोस्
365
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.