भुटानका प्रधानमन्त्रीलाई सुझाव : राजाको कठपुतली नबन्नु

भुटानका प्रधानमन्त्रीलाई सुझाव : राजाको कठपुतली नबन्नु

काठमाडौं : भुटानमा तीन जना नेपाली भाषी मन्त्री बनेका छन्। भुटानी राजा जिग्मे खेसर नामग्याल वाङचुकबाट छिरिङ तोब्गे औपचारिक रूपमा प्रधानमन्त्री पदमा दोस्रो पटक नियुक्त भएसँगै तोब्गेले गठन गरेका नवगठित नौ सदस्यीय भुटानी मन्त्रिपरिषद्मा तीन जना नेपाली भाषीलाई मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

तोब्गेको मन्त्री मण्डलमा नेपाली भाषी डिएन ढुङ्गेललाई परराष्ट्र मन्त्रीको जिम्मेवारी दिइएको छ। शिक्षामन्त्रीमा डिम्पल थापा र पूर्वाधार तथा यातायात मन्त्रीमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्। भुटानको इतिहासमा नेपाली भाषी नागरिकले परराष्ट्र मन्त्रालयकै जिम्मेवारी सम्हालेको यो पहिलो पटक हो।

तीन जना नेपाली भाषी मन्त्रीमण्डलमा समावेश भएसँगै देश निकालिएका भुटानी नागरिकहरू स्वदेश फर्कन पाउनेमा आशावादी देखिएका छन्। भुटान स्वतन्त्र पिपुल्स फोरमले प्रधानमन्त्री तोब्गेलाई बधाई दिँदै भुटानी शरणार्थीलाई स्वदेश फर्काउनका लागि सहयोग गर्न आग्रह गरेको छ।

भुटान स्वतन्त्र पिपुल्स फोरमका महासचिव डीबी सुब्बाले प्रधानमन्त्री तोब्गेलाई पत्र पठाउँदै भुटानी शरणार्थी समस्या समाधानको पहल गर्न भनेका छन्। प्रधानमन्त्री तोब्गे, तोब्गेको पार्टी र सरकारसँग सार्थक वार्ता गराउने अवसर जुटाउन समेत उनले माग गरेका छन्।

भुटानमा भएको चौथो निर्वाचनबाट प्रधानमन्त्री बनेका तोब्गे यसअघि २०१३ देखि २०१८ सम्म पनि प्रधानमन्त्री थिए। सन् २००८ मा भएको पहिलो निर्वाचन पछि सन् २०१३ सम्म तोब्गे संसद्मा विपक्षी नेता थिए।

चीन र भारतकोबीचमा अवस्थित भुटानको जनसङ्ख्या ८ लाख भन्दा कम छ। भुटानी शरणार्थीहरूले नवनियुक्त प्रधानमन्त्री तोब्गेको नेतृत्वदायी पहलमा आफूहरू स्वदेश फर्कन पाउने आशा गरेका छन्।

भुटानबाट लखेटिएका नागरिक नेपालको शरणार्थी शिविर हुँदै १ लाख १३ हजार भन्दा बढी तेस्रो देश पुर्नवास भएका छन्। ६ हजार भन्दा बढी अहिले पनि झापा र मोरङको शरणार्थी शिविरमा स्वदेश फिर्तीको दिन कुरेर बसेका छन्।

भुटानी शरणार्थीहरूले विगतको गल्ती सच्याउने उपयुक्त मौकाको रूपमा लिन नवनिर्वाचित प्रधानमन्त्री तोब्गेलाई अनुरोध समेत गरेका छन्। प्रधानमन्त्री तोब्गेले नेतृत्वदायी भूमिका खेलेर आफ्ना देश निकालिएका नागरिकलाई स्वदेश फर्काउन सक्ने विश्वास पनि शरणार्थीहरूले गरेका छन्।

स्वदेश फिर्ताको लागि मार्ग सिर्जना गर्नका लागि राजबन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले अपिल गरेका छन्। ‘यद्यपि भुटानको लोकतन्त्र बलियो भएको देख्न सकेका छैनौ,’कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘किनभने वास्तविक शक्ति अझै पनि राजसँग छ र निर्वाचित सरकार प्रमुख निर्णय र कार्यान्वयनको सन्दर्भमा कठपुतली बनेको छ।’

नयाँ मन्त्रिपरिषद्मा नेपाली भाषी भुटानीलाई मन्त्रीमा नियुक्त गरेकोमा कार्कीले नयाँ प्रधानमन्त्री तोब्गेलाई धन्यवाद दिएका छन्। भुटानको सरकारले देशको गम्भीर आर्थिक समस्या, सीमा सङ्कट, ब्रेन ड्रेन आदिको समाधान खोज्ने मात्र नभई सबै राजनीतिक बन्दीलाई स्वतन्त्रता दिने, सम्मान गर्ने, नागरिकता दिन पहल गर्ने आशा कार्कीले व्यक्त गरेका छन्।

निर्वासित भुटानी नागरिकहरूसँग राष्ट्रिय मेलमिलाप मार्फत भुटान भ्रमण गर्न र लगानी गर्न अनुमति दिन कार्कीले भनेका छन्। भुटानको लोकतन्त्रलाई सुदृढ गर्न र एक अर्काको स्वतन्त्रता र अधिकारको सम्मान गर्दै सबै नागरिक (निर्वासित र भित्र दुवै) लाई समावेशी बनाउन इमानदारीपूर्वक काम गर्न उनले सुझाव पनि दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading