सरकारलाई काकताली, अर्थतन्त्रका सूचक सकारात्मक

सरकारलाई काकताली, अर्थतन्त्रका सूचक सकारात्मक

काठमाडौं : अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैङ्कले मङ्गलवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका हुन्।

गत पुस महिनासम्ममा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेर सात खर्ब ३३ अर्ब २२ करोड पुगेको छ। रेमिट्यान्सकै कारण विदेशी मुद्राको सञ्चिति १८ प्रतिशतले वृद्धि भई १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ। जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो। योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठुलो देखिएको छ।

चालु वर्षको ६ महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख सात हजार नौ सय ७० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्। पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ३५ हजार चार सय ३५ रहेको राष्ट्र बैङ्कले जनाएको छ।

शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ। कूल विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ। तर, सरकारको खर्च भन्दा आम्दानी भने कम भएको छ।

सरकारले पाँच खर्ब ६६ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेको छ। तर, राजस्व परिचालन चार खर्ब ९६ अर्ब ५० करोड रुपैयाँ मात्रै रहेको छ। सरकारको खर्च चलाउन झन्डै १ खर्ब रुपैयाँ अपुग रहेको तथ्याङ्क राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ।

बैङ्क तथा वित्तीय संस्थामा पैसा जम्मा गर्ने र ऋण लिने दुवै बढेका छन्। बजारमा उपभोग्य सामानको मूल्य गत वर्षको तुलनामा घटेको देखिएको छ। वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति पाँच दशमलव २६ प्रतिशत रहेको छ।

सरकारले काम गरेर नभई काकताली परेर अर्थतन्त्रका सूचक सकारात्मक भएको टिप्पणी भएको छ। उपभोक्तावादी प्रेमलाल महर्जन सरकारको योजना बिना नै अर्थतन्त्रका सूचक सकारात्मक देखिएको बताए।

बजारमा बिचौलियाको बिगबिगी छ। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारकै आडमा तस्करी धन्दा भइरहेको छ। तस्करीमा गर्ने व्यक्ति र व्यापारीले उन्मुक्ति पाइरहेका छन्। यसलाई रोक्नु पर्ने महर्जन बताउँछन्।

देशको अर्थतन्त्र झन्डै झन्डै कोमामा पुगिसकेको थियो। श्रीलङ्काकै अवस्था आउने विश्लेषण सार्वजनिक भइरहँदा आशा गरेका जनताले कान थुनेर हिँड्नु पर्ने भएको थियो।

अहिलेको अर्थतन्त्रका सूचक कोमामा गएको मान्छे बौरिएजस्तो मात्रै देखिएको छ। तर, गर्व गर्नुपर्ने अवस्था भने नरहेको नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले बताए।

उनले भने जस्तो गर्व गर्ने अवस्था नदेखिए पनि विदेशी मुद्राको भकारी पहिलो पटक भरिएको छ। भकारी भरिएको तथ्याङ्क सुनाएर सरकार मक्ख परिरहेको छ।

तर, त्यसको उपयोगमा फिटिक्कै ध्यान गएको छैन। पुँजीगत खर्चको सीमा बढाएर उपभोग बढाउने काममा लगाउन सक्नु पर्ने सुझाव अर्थविद् रामेश्वर खनालको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading