"/>
निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘जबरजस्ती विवाह रोक्न दण्डित गर्ने कानुन’

‘जबरजस्ती विवाह रोक्न दण्डित गर्ने कानुन’

403
SHARES

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले जीविकोपार्जनमा सहयोग गर्न सरकारसँग माग गरेका छन्। समुदायका सदस्यलाई रोजगारीका कार्यक्रममा सहभागी गराउन उनीहरूले आग्रह गरे।

यो समुदायलाई यौन पेसा गर्ने मात्रै भनेर नसोच्न आग्रह गर्दै उनीहरूले भने,‘त्यो गलत हो। कतिपय समुदायका सदस्यले बधाई दिएर जीविकोपार्जन गरिरहेका छन्।’ रोजगारीका अवसरबाट वञ्चित गराउँदा नचाहेर पनि बाच्नका लागि कतिपय समुदायका सदस्य सडकमा उभिन बाध्य बनेको उनीहरूले बताए।

कीर्तिपुर नगरपालिकाको सहयोगमा समर्पण सभ्य समाज नेपालले शिक्षक, विद्यार्थी र अभिभावकहरूका लागि आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रममा उनीहरूले जबरजस्ती विवाहलाई राज्य विरुद्धको कसुर मानेर कारबाही हुनु पर्ने बताए। दण्डित गर्ने कानुन बनाए जबरजस्ती विवाह रोकिने उनीहरूको भनाई थियो।

समर्पण सभ्य समाजले एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले निर्माण गरेको जबरजस्ती विवाहमा आधारित लघु कथानक चलचित्र नीलो फूल प्रदर्शन गरेको थियो। चलचित्र हेरे पछि सहभागीहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको सुनाए।

दुई वटा लिङ्ग हुनेलाई तेस्रो*लिंगी भन्ने बुझाइ रहेकोमा अभिमुखीकरण कार्यक्रमबाट दुई वटा लिङ्ग हुन्छ भन्ने भ्रम अन्त्य भएको सहभागीहरूले बताए। उनीहरूले समलिङ्गी तेस्रोलिंगी भएकै कारण विद्यालय शिक्षाबाट वञ्चित गर्न नहुने सुझाव दिए।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका लागि अहिले पनि सङ्घर्ष गरिरहनु परेको बताए।

पन्तले परिवारको इज्जत धान्नका लागि जबरजस्ती विवाह गराउनु गलत भएको बताए। ‘सर्वोच्च अदालतको अन्तरिम आदेशपछि समलिङ्गी तेस्रो*लिंगीको विवाह कानुनी रूपमा दर्ता हुन थालेको छ,’पन्तले भने,‘समलिङ्गी धेरैलाई रोग हो निको हुन्छ भन्ने लाग्छ,समलिङ्गी हुनु रोग होइन।’

१२ असार २०८० मा सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले माग गरेमा अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेश पछि १३ मङ्सिरमा माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले लमजुङको दोर्दी गाउँपालिकामा नेपालमा पहिलो पटक समलिङ्गी (इन्द्रेणी) विवाह दर्ता गरेका छन्।

उनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई रोजगारीमा आरक्षण दिनुपर्ने माग गरे। व्यवसाय दर्ताका लागि पनि सहुलियत दिनुपर्ने पन्तले बताए। ‘यौन पेसामा लागेर हुँदैन,राम्रो पनि होइन,’उनले भने,‘रोजगारी पाउनु पर्छ, आरक्षणको व्यवस्था हुनुपर्छ।’

समर्पण सभ्य समाज नेपालका सचिव हनि महर्जनले समुदायका सदस्यलाई परेका समस्या समाधानमा लागिरहेको बताए। महर्जनले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई कुनै समस्या परे सम्पर्क गर्न आग्रह गरे। ‘समुदायका सदस्यलाई कुनै समस्या परेमा समर्पण सभ्य समाज र मायाको पहिचानलाई सम्पर्क गर्नुहोला’उनले भने।

दक्षिण एसियामै पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्न सफल मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबारे समाजमा सकारात्मक सोच ल्याउन सबै लाग्नु पर्ने बताए।

समाचार शेयर गर्नुहोस्
403
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.