समावेशी व्यवसाय सञ्चालन गर्न तालिम

समावेशी व्यवसाय सञ्चालन गर्न तालिम

काठमाडौं : नेपालमा अन्तरलिंगी, तेस्रो*लिंगीलाई पहिचान अनुसार ‘अन्य’ को नागरिकता दिन थालिएको छ। नागरिकता कानुनमा संशोधन गरेर सरकारले अन्य पहिचानमा नागरिकता दिन थालेको हो।

१२ असारमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशपछि समलिङ्गी तेस्रो*लिंगी जोडीको विवाह नै दर्ता हुन थालेको छ। समलिङ्गी, तेस्रो*लिंगी, अन्तरलिंगी, दुईलिंगी अर्थात् महिला र पुरुष भन्दा भिन्न प्रकृतिका व्यक्तिलाई समग्रमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भनेर चिन्न थालिएको छ।

तर, कतिपय पश्चिमा संस्कृतिको प्रभावमा परेर पुरुष जन्मेकाले महिलाको र महिला जन्मेकाले पुरुषको नागरिकता माग गर्न थालेका छन् भने कतिपयले यौन अङ्ग नै परिवर्तन गरेका छन्। जसले गर्दा समलिङ्गी तेस्रोलिंगी पहिचानमा यति वेला दोहोरी चलिरहेको छ।

‘माई बढी माई राइट’ भनेर पुरुष जन्मेका तर, महिला स्वभावका केहीले महिलाकै नागरिकता पाउनु पर्ने माग गरेका छन्। गृह मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबाट यौन अङ्ग परिवर्तन गरेका १५ जनालाई परिवर्तित लैङ्गिक पहिचानमा नागरिकता नै दिएको छ। आत्मा कसरी नाप्ने? सारी लगाएर महिला बन्ने हो र? प्रश्न गर्न थालिएको छ।

महिला हुनु भनेको यौनको आकार बनाएर मात्रै हुँदैन। यौन अङ्ग परिवर्तन गरेकाहरूको लहलहैमा नेपालमा सदियौँदेखि तृतीय प्रकृतिका व्यक्तिले पाउँदै आएको पहिचानमा पश्चिमा संस्कृति भित्र्याएर भ्रमित बनाउने प्रयास भएको छ।

कृष्ण केटी बनेर राधा भेट्न गएका र मित लगाएर फर्किएका, भष्मासुरले अति गरे पछि विष्णुले मोहिनी रूप लिएर नास गरेका, शिवले मोहनीसँग सम्बन्ध राख्दा अयोप्पाको जन्म भएका धेरै उदाहरण छन्।

नेपालको आफ्नै पहिचानलाई विश्वभर स्थापित गराउनु पर्नेमा आयातित शब्दमा दोहोरी खेल्न थालिएको छ। शब्दमा दोहोरी नखेल्न र नेपालमा प्राप्त हुँदै गरेको अधिकारलाई संस्थागत गर्ने अभियानमा लाग्न एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले सुझाव दिँदै आएका छन्।

पन्त अप्रिल २० र २१ मा गर्ने घोषणा गरिएको रेन्बो पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनको तयारीमा जुटेका छन्। रेन्बो पर्यटन सांस्कृतिक राजदूत एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक पन्तले समलिङ्गी तेस्रोलिंगी मैत्री व्यवसायका लागि तालिम नै दिन सुरु गरेका छन्।

विदेशी पाहुनाको स्वागत, सत्कारमा भेदभाव नगर्न सन्देश दिँदै पन्तको नेतृत्वमा मायाको पहिचान नेपालले लाजिम्पाटको ‘कोथिना मिठो छ’ रेस्टुरेन्टका कर्मचारीहरूलाई तालिम दिएको छ। समलिङ्गी, तेस्रो*लिंगी, अन्तरलिंगी, दुईलिंगी समग्रमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको हाउभाउ, बानी व्यवहारबारे जानकारी गराइएको छ।

रेन्बो पर्यटन सम्मेलनमा आउने विदेशी पाहुनाको आतिथ्यले देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको मायाको पहिचान नेपालले जनाएको छ। पहिलो संविधान सभा सदस्य समेत रहेका पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई सम्मान हुने व्यवहार गरिदिन अनुरोध गरे।

समलिङ्गी तेस्रो*लिंगी पर्यटकलाई डर देखाउँदा गलत सन्देश जाने भन्दै उनले देशलाई हानी नोक्सानी काम नगर्न सुझाए। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारमा नेपालभन्दा पछाडि छ थाइल्यान्ड, तर त्यहाँ घुम्न जाने मध्ये २५ प्रतिशत यो समुदायका पर्यटक हुन्छन्,’पन्तले भने,‘पर्यटकका लागि स्वतन्त्रता छ, नेपालमा संवैधानिक अधिकार नै पाइसकेकाले एलजीबीटीआई पर्यटक भित्र्याउन सबै लाग्नु पर्छ।’

उनले पुरुष र महिलाका लागि मात्रै नभएर तेस्रो*लिंगीका लागि पनि छुट्टै शौचालय हुनु पर्ने बताए। ‘नेपालमा समलिङ्गी, तेस्रो*लिंगीलाई विभेद हुँदैन भन्ने सन्देश दिनुपर्छ,’पन्तले भने,‘पहिलो कुरा तेस्रोलिंगीका लागि छुट्टै शौचालय बनाउनुहोस्।’

मायाको पहिचान नेपालले ‘कोथिना मिठो छ’ लाई प्रमाण पत्र प्रदान गरेको छ भने रेस्टुरेन्टले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। सहभागीहरूले पनि सेवा दिने र लिने दुवैतर्फबाट समान व्यवहार हुनुपर्नेमा जोड दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.