"/>

विश्व सामाजिक मञ्चमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

विश्व सामाजिक मञ्चमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

काठमाडौं : नेपालमा विश्वभरका सामाजिक अभियन्ताहरू भेला भएका छन्। काठमाडौँको भृकुटीमण्डप क्षेत्र खचाखच भएको छ।

समान कामको समान ज्यालादेखि समाजवादका नारा घन्किरहेको छ। किसान स्वदेशी उत्पादनलाई मर्न नदेऊ भनिरहेका छन्। श्रमिक लैङ्गिक सामाजिक सुरक्षामा विभेद नगर्न नारा लगाइरहेका छन्।

स्वदेशी उत्पादन च्याउको बोटै सहित किसान जुलुसमा सहभागी भएका छन्। बाजा बजाएर नाचगान चलिरहेको छ। ‘हातमा घडी हे माया लेट भयो, आन्दोलनले भेट भयो’ गीत गाउँदै बाजाको तालमा सडक तताउनेहरूले भृकुटीमण्डप रमाइलो बनेको छ।

यो वातावरण ‘अर्को विश्व सम्भव छ’भन्ने नाराका साथ नेपालमा पहिलो पटक सुरु भएको विश्व सामाजिक मञ्चको १६ औँ संस्करणले जुराइदिएको हो। सम्मेलनमा नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिक पनि प्लेकार्ड सहित सहभागी भए।

नवउदारवाद, भूमण्डलीकृत पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछुत तथा रङ्गभेद, नश्लभेद, लैङ्गिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्धमा एकजुट भएर गरिने विश्वभरका सामाजिक आन्दोलन र नागरिक सङ्गठनहरूको सामूहिक शक्तिलाई एकत्रित गर्दै परिचालन गर्ने काम विश्व सामाजिक मञ्चले गरेको छ।

अहिलेको विश्व व्यवस्थाले अंङ्गिकार गरेका नीति र संरचनाहरूले सृजना गरेका नकारात्मक प्रभावका बारेमा आलोचनात्मक बहस गर्दै वैकल्पिक सोच र विचारहरू निर्माण गर्न र नयाँ विश्व व्यवस्था र तदअनुरुपका नीति‐संरचनाहरू निर्माण गर्न विश्वव्यापी रूपमा दबाब सृजना गर्ने मञ्चले अपेक्षा गरेको छ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तको नेतृत्वमा उपाध्यक्ष मधु केसी, नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल सुरेन्द्र पाण्डेसहित यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले विश्व सामाजिक मञ्चको कार्यक्रममा सहभागी भएर ऐक्यबद्धता जनाए।

समान अधिकारका लागि सघर्ष गर्दै आएका महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक, अपाङ्गता भएका नागरिक लगायतका जनसमुदायको आवाज मञ्चमा उठ्ने गरेको पन्तले सुनाए। समाजले हेर्ने दृष्टिकोण सकारात्मक बनाउन सामाजिक मञ्चमा सहभागी भएको उपाध्यक्ष केसीले बताए।

विश्वव्यापी रूपमा सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण, दिगो शान्ति कायम गर्दै मानवजगतको हित गर्नका लागि योगदान/दबाब प्रदान गर्ने विश्वास मञ्चको छ।

सम्मेलनमा १३ वटा मूल विधामा आधारित भएर ठुला साना गरी ४०२ वटा कार्यक्रमहरू दर्ता भएका विश्व सामाजिक मञ्चले विज्ञप्ति निकालेर जानकारी दिएको छ। कार्यक्रममा हालसम्म विश्वभरबाट ९२ देशका १२५२ वटा संस्था तथा समूहहरू स्वआयोजकका रूपमा दर्ता भएका छन्।

कार्यक्रममा करिब ४० देखि ५० हजार जनाको सहभागिता रहने अपेक्षा गरिएको मञ्चले जनाएको छ। विषयगत छलफल तथा सम्मेलनहरू र समानान्तर सत्रहरू १६–१८ फेब्रुअरी २०२४ मा भृकुटीमण्डप क्षेत्रमा आयोजित हुनेछन्।

यस मध्ये अन्तर महादेशीय युवा मञ्च १७ फेब्रुअरी २०२४ मा आयोजना हुनेछ। हरेक दिन कार्यक्रमहरू विषयगत प्लेनरीबाट सुरु हुनेछन्, त्यसपछि समानान्तर सत्रहरू, सभा सम्मेलनहरू हुनेछन् र दिनको अन्त्यतिर सांस्कृतिक कार्यक्रमहरूका साथ समाप्त हुने मञ्चले जनाएको छ।

मजदुर आन्दोलनले उचित ज्याला, कामदारको अधिकार, आधुनिक दासता, आप्रवासन जस्ता विषयहरू उठाउनेछन्। किसान र कृषि आन्दोलनले भूमि अधिकार, दिगो कृषि, खाद्य सुरक्षा, स्वच्छ व्यापारका सवालहरू उठाउँदै कृषि क्षेत्रमा देखिएका शोषण, असमानता जस्ता चुनौतीहरूमा बहस गर्नेछन्।

वर्ल्ड फेमिनिस्ट फोरमले लैङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकार जस्ता विषयमा बहस छलफल गर्ने मञ्चले जनाएको छ। सीमान्तकृत सामाजिक समूहले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, आदिवासी जनजाति, अपाङ्गता भएका समुदायका सवालमा कार्यक्रमहरू गर्नेछन्।

डेमोक्रेसी मुभमेन्टले मानवअधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाहरूको संरक्षण, जबाफदेहिता जस्ता विषयमा बहस गर्नेछ। विश्व व्यापीकरण विरुद्धको आन्दोलनले विश्व व्यापीकरणले व्यापार, आर्थिक न्याय, सार्वजनिक सम्पत्तिको निजीकरणले पारेको प्रभावका बारेमा चर्चा गर्नेछ।

शरणार्थी तथा आप्रवासन आन्दोलनले शरणार्थी र आप्रवासीहरूको अधिकार, विभेद र उनीहरूको आधारभूत मानवअधिकारका बारेमा छलफल गर्नेछ। वर्ल्ड डिग्निटी फोरममा विश्वमा जात, वंश र जन्मका आधारमा हुने विभेद, वर्ण व्यवस्था र जात व्यवस्थाको असर, रङ्गका आधारमा हुने विभेद, वञ्चितीकरण, जलवायु परिवर्तन, विपद् र असमानताले दलित तथा सीमान्तकृत समुदायमा पारेको प्रभावबारे बहस हुनेछ।

मञ्चमा विभेदमुक्त विश्वका लागि विश्वव्यापी हस्ताक्षर कार्यक्रम पनि हुने विश्व सामाजिक मञ्चले जनाएको छ। मिडिया कन्क्लेभ, वर्ल्ड मिडिया इनक्राइसिस जस्ता विषयमा पनि बहस हुनेछ। विश्वमा भइरहेका युद्धका विरुद्ध आवाज उठाउँदै र शान्ति स्थापनाका पक्षमा ऐक्यबद्धता जनाइनेछ। समाजवादका पक्षधर, अध्येता राजनीतिज्ञ र बुद्धिजीवीहरूको उपस्थितिमा समाजवादको भविष्य विषयमा डिस्कोर्ष आयोजना हुनेछ।

विश्व सामाजिक मञ्चको अन्तर्राष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक साँझ शान्ति र न्याय, अर्थतन्त्र : ऐक्यबद्धता, सामाजिक र पुँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र सङ्घर्ष, प्यालेस्टाइन समसामयिक सवालजस्ता विषयमा सन्ध्याकालीन क्याफे संवाद हुँदैछन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.