लघुवित्तमा समस्या : ऋण प्रवाह गर्दा लापरबाही

लघुवित्तमा समस्या : ऋण प्रवाह गर्दा लापरबाही

काठमाडौँ : चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आइतबार सकिदैछ। ‘स्वस्थ लघुवित्त,समृद्ध सदस्य’नारासहित काठमाडौँमा सुरु भएको सम्मेलन आइतबार सकिन लागेको हो।

सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवालालगायत ८ सय जनाभन्दा धेरै सहभागी छन्।

सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँ गाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञान दिएको बताएका छन्।

उनले गरिबीलाई शून्यमा झार्ने, स्थानीय स्तरमा लघु उद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको उल्लेख गरे। ‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो। केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेहरूलाई कदापि सफल हुन दिने छैनौँ’,महतले भने,‘ऋण नतिर्न उक्साउने खतरनाक प्रवृत्ति हो। सरकार चुप लाग्दैन, सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तिलाई हराउनुपर्छ।’

उनले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गरे। ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आसा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ। बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन। बरु सरकारले विभिन्न सहजीकरण गरेको छ,’उनले भने,‘ऋण त तिर्नै पर्छ। तिर्न पर्दैन भन्ने प्रवृत्ति परास्त हुन्छ।’

ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने महतको चेतावनी थियो। लघुवित्तले अब आफ्नै उद्देश्यअनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्ने अर्थमन्त्री महतले सुझाव दिए।

नेपाल राष्ट्र बैङ्कका कायममुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले २१ प्रतिशत जनसङ्ख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको बताइन।

समावेशी विकासको लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाई थियो। ‘आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न, स्थानीय विकास लगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्त्वपूर्ण छ, हामी सबैले यसको प्रशंसा गर्नुपर्छ’,तिम्सिनाले भनिन्,‘आयआर्जन तथा रोजगारीको सृजनामा लघुवित्तले राज्यलाई ठुलो गुन लगाएको छ।’

धेरै विषय सकारात्मक हुँदाहुँदै पनि लघुवित्तमा समस्या देखिन थालेकाले आफै सुध्रिनुपर्ने उनको सुझाव छ। निष्क्रिय कर्जा बढेर ६ प्रतिशतभन्दा माथि जाँदा जोखिम देखिएको भन्दै कायममुकायम गभर्नर ढुङ्गानाले अवस्था थप बिग्रन नदिन सबैले जिम्मेवार भएर काम गर्नुपर्ने सुझाव दिइन।

आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले गरिब र विपन्न परिवारलाई नै लक्षित गरेर लघुवित्तको सुरुवात भएकोले बाटो बिराएकाहरू सही बाटोमा आउनु अहिलेको आवश्यकता रहेको बताए। नेपालमा तीन दशक अघिदेखि सेवा थालेका लघुवित्तले महिला, गरिब र विपन्नलाई एउटा युगबाट अर्कै युगमा लगेको उनको भनाई थियो।

लघुवित्तमा पछिल्लो समय समस्या आउनुमा सहकारी संस्थाकै कमजोरी रहेको उनले बताए। ‘यो बीचमा लघुवित्तमा केही समस्या देखियो। लघुवित्त संस्थालाई कम्पनी ऐन अनुसार चलाउन थालियो, शेयरधनीले बढी नाफामा लैजाने खालका क्रियाकलाप गरे, लाभांश बाँड्ने क्रम बढ्यो, लघुवित्त त धेरै नाफा पाउने थलो रहेछ भनेर लगानी गर्नेहरूको बाढी आयो। लघुवित्तका सदस्यलाई हामीले शेयर होल्डर बनाएनौँ, त्यहाँ ठुलो गल्ती भयो’,श्रेष्ठले भने,‘ऋण प्रवाह गर्दा पनि लापरबाही भयो, सरकारले नयाँ लाइसेन्स खुलायो झन् विकृति र विचलन आयो। अस्वस्थ प्रतिस्पर्धा भयो। बढी लगानी गर्न लगानीकर्तालाई तानातान गर्ने र ब्याजमा मनोमानी गर्ने विकृति देखिए।’

विगतका गल्तीबाट अब लघुवित्तहरू सुधारको बाटोमा लागेको भन्दै श्रेष्ठले यो सम्मेलनलाई नवयुगको सुरुवात मानेर अघि बढ्न आग्रह गरे। लघुवित्त क्षेत्रमा समस्या देखिनु एउटा पाटो भएको तर अनावश्यक हल्ला र अफवाहले पनि अर्को समस्या थपेको उनको भनाई छ।

नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष रामबहादुर यादवले लघुवित्तको क्षेत्र विषम परिस्थितिबाट गुज्रिएको समयमा भएको यो सम्मेलनको ठुलो महत्त्व राख्ने बताए।

विश्वका अरू थुप्रै देशमा लघुवित्त सम्मेलन हुने गरेको तर लघुवित्त सदस्य सम्मेलन भने नेपालमा मात्रै हुने गरेको भन्दै यादवले नेपालमा लघुवित्तहरूले कसरी आफूलाई सुधार गर्दै छन् भन्ने राम्रो प्रमाण यो सम्मेलनलाई पनि लिन सकिने बताए।

झन्डै ६० लाख जना सदस्यमार्फत गाउँ गाउँमा वित्तीय सचेतनासँगै लगानी र उद्यमलाई बढवा दिएको लघुवित्त क्षेत्रलाई सरकारले उपेक्षा गरेको अध्यक्ष यादवले गुनासो गरे। दूरदराजमा आर्थिक गतिविधि फैलाउने र विपन्नलाई उठाउने तथा गरिबी अन्त्य र महिला सशक्तीकरण लगायतका क्षेत्रमा ठुलो योगदान दिए पनि सरकारले खासै ध्यान नदिनु पनि अहिलेको समस्याको कारण रहेको उनले उल्लेख गरे।

नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष रामबहादुर यादवसँगको कुराकानी सुन्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.