ट्रेड युनियनहरूलाई प्रश्न : खोइ समावेशी नीति र कार्यक्रम?

ट्रेड युनियनहरूलाई प्रश्न : खोइ समावेशी नीति र कार्यक्रम?

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय ट्रेड युनियन काउन्सिल (सारटुक) ले लैङ्गिकता तथा यौनिकताका आधार कार्यस्थलमा विभेद नगर्न सचेत गराएको छ।

विश्व सामाजिक मञ्चको सम्मेलनमा दक्षिण एसियाली परिप्रेक्षमा कामदार र श्रम अधिकारको अवस्था सम्बन्धी कार्यक्रममा सारटुकले सुरक्षित कार्यस्थल हुनुपर्नेमा जोड दिएको हो।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक श्रमिकलाई काम नदिने, दिए पनि भेदभाव गर्ने, समान कामको समान ज्याला नदिने र कामबाट निकालिने गरेको गुनासो आएपछि सारटुकले समान श्रम अधिकारका लागि बोलेको हो।

सारटुकले नेपालमा पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल मायाको पहिचान नेपाललाई गत डिसेम्बरदेखि सहभागी गराएर छलफल चलाइरहेको छ। तर, नेपालका ट्रेड युनियनहरूले आफ्नो नीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई समावेश गर्ने व्यवस्था गरेका छैनन्।

नयाँ विश्वको खोजी गर्दै भएको विश्व सामाजिक मञ्चमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशीताका लागि आवाज उठेको छ। मायाको पहिचान नेपालले समावेशी नीति अवलम्बन गर्न भनेको हो।

कार्यक्रममा पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल माया गुरुङ्ग र सुरेन्द्र पाण्डेलाई अगाडि बोलाएर सम्मान गरिएको थियो। नेपाल दक्षिण एसियामै समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो देश बनेकोमा सहभागीहरूले बधाई दिए।

कार्यकारी निर्देशक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले नेपालमा समलिङ्गी विवाह दर्ता कानुनी रूपमै सुरु भइसकेको अवस्थामा ट्रेड युनियनहरूमा भने समलिङ्गी समावेशी नीति अख्तियार नगरिएको बताए। ‘नेपालमा समलिङ्गी विवाह, अन्य विवाह रजिस्ट्रेसन आधिकारिक रूपमा सुरु भइसकेको छ। तपाई केटा–केटा, केटी–केटी, तेस्रो*लिङ्गी–तेस्रो*लिङ्गी, तेस्रो*लिङ्गी र पुरुष तथा तेस्रो*लिङ्गी र महिलाले विवाह गर्न सक्नुहुन्छ’ पन्तले भने,‘उदार विवाह व्यवस्थामा अहिले काम भइरहेको छ, नेपालले यसलाई अपनाएको छ तर ट्रेड युनियनहरू यसबारे बेखबर देखिएका छन्।’

ट्रेड युनियनहरूसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिलाई पनि परिवारको रूपमा मान्यता दिने कुनै नीति नरहेको पन्तले बताए। ‘हामी एक परिवार हुन सक्छौँ, समलिङ्गी (इन्द्रेणी) परिवार बन्न सक्छौँ, जो विपरितलिंगी परिवार सरह सहयोगी बन्न र फाइदा दिन सक्छ,’उनले भने,‘नेपाली समाजका कमी कमजोरी हटाउन ट्रेड युनियनहरूले थप अगाडी बढ्न जरुरी छ।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई समावेश गर्ने सन्दर्भमा अन्य देशको बारेमा भन्न नसकिए पनि नेपाल ट्रेड युनियनहरूले यसतर्फ आफ्नो कदम अगाडी बढाउनुपर्नेमा उनले जोड दिए। यद्यपि, अगामी दिनमा ट्रेड युनियनहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता आवश्यक महसुस गर्ने उनको विश्वास छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका मुद्दामा थप समानताका विषय समावेश गर्न जरुरी रहेको भन्दै पन्तले सेवा मात्र नभई गुणात्मक रूपमा उनीहरूको व्यवस्थित परिवर्तनको खाँचो औँल्याए। ट्रेड युनियनहरूले समावेशी, विविधता, खुलापन र सम्मानका साथ नीति तयार पार्नुपर्नेमा उनले जोड दिए।

यसका लागि परामर्शसहित सहकार्य गर्न आफूहरू तत्पर रहेको उनले बताए। ‘तर ट्रेड युनियनहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई कहिल्यै आमन्त्रण गरेको सम्झना छैन’ पन्तले भने।

सम्बोधनका क्रममा प्रयोग गरिने शब्दमा समेत ख्याल नगरिएको भन्दै रेन्बो पर्यटनका सांस्कृतिक राजदूत समेत रहेका पन्तले कस्ता शब्दले भेदभाव र अनादर गर्छ भन्नेबारे समेत बहस चलाउनुपर्ने आवश्यकता औँल्याए।

‘यहाँसम्मकी भौतिक सुविधाका दृष्टिकोणले समेत कुनै कसरत गरिएको देखिँदैन,’उनले भने,‘तपाईँहरूको नीति, कार्यक्रम, शारीरिक अभिमुखीकरण, यस समुदायको आवश्यकता के हो? कस्ता शब्दले खुसी दिन्छ? भन्नेतर्फ उन्मुख देखिएन। कुनै नियम र सर्तहरू छैनन्। यसमाथि तपाईँहरूले कुनै कसरत गर्नुभएन। तपाईँहरूलाई ‘हो हामी समर्थन गर्छौँ’ भन्न धेरै सजिलो छ। तर गृहकार्य खोइ? नीति कहाँ छ? यसतर्फ तपाईँले ध्यान केन्द्रित गर्न जरुरी छ।’

दक्षिण एसियाली मुलुकको परिप्रेक्ष्यमा लैङ्गिक समानता, समावेशिता र अधिकारको परिभाषा खोज्नुपर्नेमा जोड दिँदै पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको लागि पश्चिमा देशहरूको अङ्ग्रेजी शब्द धेरै ग्रहण गरिएकोमा असन्तुष्टि जनाए।

‘हामीले एलजीबीटीक्यूआइएप्लसप्लस भन्छौँ यसको अर्थ के हो? उनले प्रश्न गरे,‘यौनिकता, लैङ्गिकता, अधिकार र जिम्मेवारीको सन्दर्भमा तपाईँले वास्तवमा के कुरा गरिरहनुभएको छ? उनीहरूसँग कुन पहिचानको बारेमा सोधिरहनुभएको छ भनेर जान्न खोज्नुभएको छ? सकारात्मकताको परिभाषा के हो?’

तेस्रो*लिङ्गीका सन्दर्भमा उल्लेख गर्न समेत चाहने नगरिएको भन्दै पन्तले झन् नयाँ पुस्ता यस शब्दको बारेमा परिचित समेत नहुनु दुखद भएको उल्लेख गरे। ‘हाम्रो परिचय छ, पहिचान दिलाउने शब्दहरूको धेरै सम्मान गर्छौँ,’उनले भने,‘तर तपाईँले खुसीसाथ लिइरहेका शब्दको वास्तविक अर्थ के हो भन्नेबारे तपाईँलाई नै थाहा छैन। यसअर्थमा दक्षिण एसियाको अङ्ग्रेजी कहाँ छ?’

विश्व सामाजिक मञ्चमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूका लागि पनि सम्मानपूर्ण शब्दको प्रयोग गर्नुपर्नेमा जोड दिँदै पन्तले नेपाली, नेवारी लगायत अन्य भाषाहरूमा तटस्थ लैङ्गिक सर्वनामहरू रहेका उल्लेख गरे।

पश्चिमा अङ्ग्रेजीलाई सबै क्षेत्रमा ग्रहण गरिरहेको भन्दै उनले दक्षिण एसियाली अवधारणासहितको अङ्ग्रेजीमा जोड दिए। महिला पुरुष बन्न, पुरुष महिला नै बन्न बाध्य हुने गरी ट्रान्स प्रयोग गरिनु ठिक नरहेको उनको भनाई थियो।

आफूले परिवर्तनसहितको समावेशिता चाहेको भन्दै पन्तले सरकार र ट्रेड युनियनबीच खाडल नहोस् भनेर सुझाव पनि दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading