बजेटका सिद्धान्त र प्राथमिकता : लैङ्गिक अल्पसङ्ख्यकलाई नजरअन्दाज

बजेटका सिद्धान्त र प्राथमिकता : लैङ्गिक अल्पसङ्ख्यकलाई नजरअन्दाज

काठमाडौं : आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सङ्घीय संसद्मा प्रस्तुत गरेको छ। विद्यमान कानुनमा संशोधन गरी आर्थिक वर्ष २०८१­/०८२ को बजेट पेस गर्नु तीन महिना पूर्व नै अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेका हुन्।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता तय गर्दा नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक, संविधानमा निर्दिष्ट राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वलाई प्रमुख मार्गदर्शनको रूपमा लिएको मन्त्री महतले उल्लेख गरेका छन्।

मन्त्री महतले सोह्रौँ योजनामा प्रस्ताव गरिएका नीति, २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि लिनुपर्ने रणनीति, सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्य तथा दिगो र फराकिलो आर्थिक वृद्धिका आधार तयार गर्नुपर्ने विषयलाई महत्त्वपूर्ण सन्दर्भको रूपमा लिएको भनेका छन्।

तर, मन्त्री महतले पहिलो पटक संवैधानिक अधिकार पाएका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकको सामाजिक न्यायका बारेमा नजरअन्दाज गरेका छन्।

सामाजिक सुरक्षा र संरक्षण कार्यक्रममा रहेको दोहोरोपना हटाउँदै सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम दिगो र लक्षित वर्गमा केन्द्रित गरिने उल्लेख गरेका अर्थमन्त्री महतले स्रोत र साधन एवम् अवसरमा सीमान्तकृत समुदाय र समूहको पहुँच अभिवृद्धि गरिने भनेका छन्।

लैङ्गिक विभेद र महिला हिंसा न्यूनीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाइने बजेटको सिद्धान्त र प्राथमिकतामा उल्लेख गरिएको छ। सामाजिक सुरक्षा लगायतका क्षेत्रमा दायित्व क्रमशः बढ्दै गएको उनले बताए।

अपाङ्गता, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक र लैङ्गिक आधारमा हुने विभेद र सबै प्रकारका छुवाछुत र कुरीतिको अन्त्य गर्न जोड दिइने भनेका अर्थमन्त्री महतले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई नजरअन्दाज गरेका हुन्।

विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले लगानीको अनुकूल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिता वृद्धि गर्न गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरेका छन्।

विद्युत् उत्पादनमा र पर्यटक आगमन सङ्ख्यामा वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको उनले बताए। अर्थमन्त्री महतका अनुसार बैंकिङ्ग क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल बिन्दु तर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको छ। घरजग्गा कारोबार र पुँजी बजार सुधार उन्मुख छ।

बाह्य क्षेत्रतर्फ चालु खाता र शोधनान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितिले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सिर्जना गरेको दाबी उनले गरे। राजस्व सङ्कलन लक्ष्य अनुरूप नभए पनि वृद्धिदर करिब १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान उनले सुनाए।

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिदर बढ्ने अनुमान अर्थमन्त्री महतको छ। मुलुकको अर्थतन्त्र लयमा फर्किन थाले पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने नभएको उनले बताए।

दिगो एवम् समावेशी आर्थिक वृद्धिका लागि ऊर्जा, कृषि, पर्यटन तथा सूचना प्रविधि लगायतका आर्थिक वृद्धिमा उच्च योगदान दिन सक्ने क्षेत्रका लागि आवश्यक सार्वजनिक पूर्वाधार निर्माण गर्ने गरी सरकारी स्रोतको परिचालन गरिने बजेटको सिद्धान्त र प्राथमिकतामा छ।
 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.