भुटानको शासक पुरानै चिन्तामा, मन्त्रीकै आफन्त शरणार्थी (भिडियो)

भुटानको शासक पुरानै चिन्तामा, मन्त्रीकै आफन्त शरणार्थी (भिडियो)

काठमाडौं : नेपाली नागरिक नै नक्कली भुटानी शरणार्थी बन्दा सक्कली पीडामा परेका छन्। जुन मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ।

भुटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि नेपाल सरकारको पहल शून्य प्राय छ। भुटानबाट खेदिएका शरणार्थीहरूमा सन् १९९० ताकाको जस्तो डर नदेखिए पनि आफ्नो देश फर्कन नपाइने चिन्ता कायम छ।

नेपालमा शरणार्थी शिविर बन्नु अघि दक्षिण भुटानबाट भोजपुरमा जन्त आएको निहुँमा जेल परेका भुटानी नागरिक हुन बिपी कश्यपले चिनिने भक्त घिमिरे। राजाविरुद्ध बोलेका आधारमा निर्वासित हुँदा समेत आतङ्ककारीको बिल्ला भिरिरहेका छन् शरणार्थीहरूले।

आन्दोलनकारीलाई सघाएको आरोपमा पक्राउ परेका थिए उनी। २० वर्षको उमेरमा जन्मभूमिबाट खेदिएका उनको शरण देश बन्यो नेपाल। सीमा क्षेत्रमा नेपालीलाई बलियो भएको देख्न सक्दैन भारत। हरेक नेपालीले बुझेको हुनुपर्छ भन्ने घिमिरेलाई पनि लागेको छ।

भुटानबाट लखेटिएका नेपाली भाषी भुटानी सिधै नेपाल आएका होइनन्। भारतले आफ्नो भूमिमा बास नदिए पछि नेपाल आएका उनीहरूले शिविर खडा गरे। भुटानी शरणार्थी बसोबास गर्ने शिविरमा अहिले पनि ६५०० जना छन्।

नेपालबाट तेस्रो देश पुर्नवास भएकाहरूलाई विश्वका सबै देशमा इन्ट्री छ तर, जन्मभूमि भुटान जान बन्देज छ। आफ्नो देश भुटान भ्रमण गर्न समेत दिइँदैन। त्यसैले उनीहरू भारत या नेपाली भूमिमा आफन्त भेटेर फर्किन्छन्। देश निकालिएकाहरूलाई भुटानले आतङ्ककारीको व्यवहार गरेको छ।

भुटान भित्र रहेका नेपाली भाषीले बाहिर गएर भेटेको थाहा पाए मात्रै पनि कडा सजाय दिने गरिएको छ। जुन सजाय आफन्तलाई दिने चाहना कसको पो हुन्छ र। भौतिक सुख पाए पनि मातृभूमिको आनन्दबाट विमुख गराइएका छन् भुटानी नागरिक।

भुटान फर्कन पाउने आशामा बसेका शरणार्थीको नाममा नेपाली नागरिक बेच्न सरकारका उपप्रधानमन्त्री, गृहमन्त्री, गृह सचिव समेत संलग्न भएको मुद्दा यति बेला पनि चर्चामा छ। काठमाडौं जिल्ला अदालतको आदेशमा थुनामा पुगेका मध्ये पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित केही धरौटी बुझाएर रिहा भएका छन्।

उच्च अदालत पाटनले धरौटीमा छोड्ने आदेश नपाएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका सर्वोच्च अदालतमा पुगेका छन्। सर्वोच्चले फैसला गर्ने बित्तिकै काठमाडौं जिल्ला अदालतमा पुन सुनुवाइ हुनेछ। अन्तिम फैसला नआएसम्म नेपाली नागरिक बेच्ने कार्यमा संलग्नहरूको सबै कारोबार रोक्का राखिएको छ।

सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गरिरहेको छ। पहिलो चरणको प्रकरणमा पाउने सफलता या असफलतालाई आकलन गरेर अगाडि बढ्ने तयारीमा सीआइबी रहेको देखिन्छ।

नेपाल सरकारका उच्च पदस्थ अधिकारी संलग्न प्रकरणमा भुटानी मानव अधिकारवादी नेता एवं भुटान सरकारका तत्कालीन राजपरिषद् सदस्य रिजालमाथि समेत चार्ज लागेको छ। जसले शिविरमा रहेका बाँकी ६,५०० शरणार्थीलाई पीडामा बस्न विवश बनाएको छ। उनीहरूको परिचयपत्र नवीकरण भएको छैन भने ट्राभल डकुमेन्ट पाउँदैनन्।

शिविरको नाम परिवर्तन गरेर बस्ती बनाइएको छ। तर, स्थानीय देखि सङ्घीय सरकारसँग गुहार माग्दा समेत सुनुवाइ नभएको बताउँछन् भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौड्याल।

आफ्नो देश फर्कन पाउनु पर्छ भन्नु नै शरणार्थीहरूको गल्ती हो भने सबैलाई जेल हाल्न चुनौती नै दिएका छन् उनीहरूले। नेपालको संसद्मा कुरा नउठेको होइन तर नक्कली शरणार्थीको मात्र। सक्कलीको समस्यामा बोलिदिने कोही भएनन् भनिरहेका उनीहरूलाई दक्षिण एसियाली मानव अधिकारको टोलीले अनुगमन गरे पछि केही आशा पलाएको छ।

भुटानमा पनि भरखरै मात्र चौथो चरणको निर्वाचन सम्पन्न भएको छ। छिरिङ तोब्गे दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनको मन्त्रिपरिषद्मा तीन जना नेपाली भाषी सहभागी छन्।

राजनीतिक व्यवस्थाले बनाउने नीति निर्माण सबै दरबारमा निहित छ। नयाँ खालको निर्णय गर्ने आशा छैन। मन्त्रीकै आफन्त निर्वासित भएका छन्। निर्वासित आफन्तलाई फर्काउने हिम्मत गर्ने देखिँदैन। स्वविवेक प्रयोग गरेर संसद्मा कुरा उठाए उनीहरूको लागि अवसर हुने लेखक, साहित्यकार, पत्रकार भक्त घिमिरे बताउँछन्।

तोब्गेको मन्त्रिपरिषद्मा नेपाली भाषीलाई परराष्ट्र मन्त्री नै बनाइएको छ। ‘चाहनु भयो भने नेपालसँग वार्ता गर्न सक्नु हुन्छ,’उनले पहिचानसँग भने,‘उहाँ (नेपाली भाषी मन्त्री)लाई देखाएर नेपाली भाषी माथि कुनै अन्याय गरेका छैनौ भनेर भुटानी सरकारले बुख्याचाको रूपमा प्रयोग गर्छ।’

नेपाली भाषी मन्त्रीहरू परदेशिएका आफन्तलाई मनले नबिर्से पनि बिर्सिएको नौटङ्की गर्न बाध्य हुने उनले बताए। ‘आफ्नो सुरक्षाका लागि डराउनु हुन्छ। बाँच्न पनि नपाइएला भन्ने चिन्ता छ,’उनले भने,‘भुटानको शासक पुरानै चिन्तामा बसिरहेको छ।’

भुटानको नीति निर्माण गर्नु पर्दा भारतसँग सल्लाह गर्ने गरिएको छ। बाहिरबाट हेर्ने देशहरूले पनि भारतलाई हेर्छन्। यो अन्याय भएको बताउँछन् घिमिरे।

शिविरमा बसेका १ लाख १३ हजार तेस्रो देश पुर्नबास भएका छन्। अमेरिका, अस्ट्रेलिया, नेदरल्याण्ड्स, क्यानडासहित विभिन्न ८ देशमा पुर्नवास भइसकेका छन्। तिनैमध्येका एक हुन् घिमिरे, जो अहिले अमेरिकामा नेपाली भाषा साहित्यको जगेर्ना गर्ने अभियानमा लागेका छन्।

उनीसँगै भुटानबाट लखेटिएका दाजुभाइ आफन्त शिविरमा छन्। कोही भुटानको बन्दी बनेका छन्। भुटान सरकारले आफ्ना देशका नागरिकलाई घुम्न समेत दिँदैन। यस्तो बेला केही भुटानी शरणार्थीहरूले लुकीछिपी आफन्त भेटे पनि सार्वजनिक भने गर्दैनन्।

नेपालमा बहुदलीय व्यवस्थाको सुरुवातदेखि नै हो भुटानीले भारतको बाटो हुँदै नेपालको भूमिमा प्रवेश गरेको। शरणार्थी शिविर सुरु आफ्नो नेतृत्वमा भएको दाबी सार्वजनिक गर्नेहरूको सूचि पनि लामै बन्ने देखिन्छ। तर, यति बेला भने त्यही शरणार्थी शिविरमा बाँकी रहेका नागरिकको अवस्था दयनीय बनेको छ।

दक्षिण एसियाली मानव अधिकारको टोलीले शिविरको अवलोकन भ्रमण नै गरेको छ। शिविरबाट आफन्त भेट्न भुटान पुगेकाहरूलाई जेलमा राखिएको छ। नेपाली भाषी भएकै कारण मानव अधिकारको माग गर्दा बन्दी बनाइएको छ।

चेम्गाङ जेलबाट भरखरै रिहा भएर आएका मधुकर मगरले जेलको भित्तामा टेकनाथ रिजालले लखेको गायत्री मन्त्री लुकिछिपी फोटो खिचेर पठाए पछि रिजाल भन्दा अघि र रिजालसँगै जेल परेकाहरू अझै रिहा नभएको खुलेको थियो।

यो कुराको पुष्टि ह्युमन राइट वाचको अध्ययनबाट समेत भएको भुटानी राजबन्दी रिहाइका लागि विश्वव्यापी अभियानका संयोजक राम कार्कीले विश्व सामाजिक मञ्चमा दक्षिण एसियाली मानव अधिकारले गरेको कार्यक्रममा उल्लेख गरेका थिए। जुन अभियानकी युवा संयोजक सिर्जना सापकोटाले प्रस्तुत गरेकी थिइन।

त्यही कार्यक्रममा पुगेका थिए भक्त। एक जना मित्रले सोध्नु भयो,‘अमेरिकामा पुग्नु भएको तपाई भुटान फर्केर बस्नु हुन्छ त?’ उनले भने,‘मेरो देशमा गएर बस्दिन होला त? मेरा आफन्त अहिले पनि भुटानमा छन्।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading