एमालेसँग प्रचण्डको अङ्कमाल, काँग्रेस जिल्ल

एमालेसँग प्रचण्डको अङ्कमाल, काँग्रेस जिल्ल

नयाँ गठबन्धन बनाउन चिनियाँ राजदूतसँग पटक पटक भेट गरेको दाबी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससहितको सत्ता गठबन्धन भत्काएर एमालेसहितको नयाँ समीकरण सुरु गरेका छन्। काँग्रेससँगको गठबन्धनमा देखिएको उतारचढावपछि प्रचण्डले सोमबार नयाँ गठबन्धन बनाएर सरकार पुनर्गठन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनअनुसार ३ जना मन्त्री नियुक्त गरे। नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल मन्त्रीमा नियुक्त भए। नवनियुक्त तीनै जना मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनीहरूको जिम्मेवारी भने तोकिएको छैन। विनाविभागिय मन्त्रीको रूपमा तीन मन्त्रीले शपथ लिएका हुन्। नयाँ गठबन्धनमा एमाले, रास्वपा, जसपा सहभागी भएका छन् भने नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश र जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पाए मात्रै नयाँ गठबन्धनमा सहभागी हुने सर्त राखेका छन्।

नयाँ गठबन्धनमा मन्त्रालयको जिम्मेवारी बाँडफाँडमा सहमति बन्न सकेको छैन। गृहमन्त्रीमा रास्वपा र एमाले दुवैले दाबी गर्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय नै नतोकी तीन जनालाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराएका हुन्।

यसअघि बिहान मात्रै बसेको एमाले सचिवालय बैठकले सत्ताको नयाँ समीकरणमा सहभागी हुने निर्णय गरेको थियो। आइतबार राति अबेरसम्म बसेको प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसहितको बैठकले नयाँ समीकरणको गृहकार्य गर्ने निर्णय गरेको थियो।

जसका लागि बिहान बसेको एमाले सचिवालय बैठकले नयाँ समीकरणको निर्णय लिएसँगै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

एमालेले लियो बदला

सत्ता केन्द्रित राजनीतिले गत वर्ष राष्ट्रपति चुनावमा भोगेको पराजयको बदला एमालेले राष्ट्रिय सभा निर्वाचनको मिति नजिकै गर्दा लिएको छ। गठबन्धन नयाँ बनेको छ। शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन भन्दै नेकपा माओवादी केन्द्रले काँग्रेससँगको सहकार्य तोडेको छ।

एमाले काँग्रेससँग बदला लिन सफल भएको छ। काँग्रेससँगको गठबन्धन तोडाउन सफल भएकोमा एमाले उत्साहित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले देशको आवश्यकताअनुसार सत्ता समीकरण परिवर्तन गरिएको बताएका छन्।

उनले भताभुङ्ग अवस्थाबाट गुज्रिरहेको मुलुकलाई आंशिक रूपमा भए पनि सकारात्मक बाटोतर्फ लैजान गठबन्धन परिवर्तन भएको रूपमा अर्थ्याए। यद्यपि जे सुकै परिवर्तन भए पनि एमालेले ‘मिसन–२०८४’ नछाड्ने ओलीले बताए।

केन्द्रमा गठबन्धन बदलिएसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी भएको छ। नेकपा माओवादी केन्द्रको बिहान बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले नयाँ गठबन्धनअनुसार सङ्घीय सरकार र प्रदेश सरकार गठन गर्ने ब्रिफिङ गरेका छन्।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी सचिव देवेन्द्र पौडेलले नयाँ शिराबाट अघि बढ्ने निर्णय भएको बताए। उनले विशेष गरी अर्थमन्त्रीले प्रधानमन्त्रीलाई सहयोग नगरेको लगायत कारण नयाँ गठबन्धन बनाउनु परेको सुनाए।

राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष पनि नयाँ शिराबाट छलफल गरी अघि बढाउने उनले बताए। काँग्रेसले आफ्नो गल्ती महसुस समेत नगरेका कारण गठबन्धन तोड्नु परेको माओवादी सचिव पौडेलको भनाई छ।

काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग अङ्कमाल गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले काँग्रेसलाई प्रतिक्रियावादीको संज्ञा नै दिएका छन्। आफूलाई उपयोग गर्ने प्रतिक्रियावादीलाई लात्ताले हानेर उम्कने प्रचण्डले जवाफ दिए।

प्रचण्डले आफू नमर्दासम्म देशमा उथलपुथल जारी रहने तर्क गरे। प्रचण्डले माओवादी जमेको पोखरीजस्तो नभई निरन्तरतामा रमाउने नदी भएको बताए। काँग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य गरेका प्रधानमन्त्री प्रचण्डले आजको दिन नयाँ क्रमभङ्गको दिन भएको सुनाए।

धोका पाएको गुनासो

अप्रत्याशित रूपमा सरकारबाट बाहिरिनु परेपछि काँग्रेस पीडामा देखिएको छ। मुखैमा आउन लागेको प्रधानमन्त्री पद गुमेपछि पार्टी सभापति शेरबहादुर देउवाले बल्ल प्रचण्डको असली रूप देखेको सुनाएका छन्।

प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाए लगत्तै बिहान आफ्नै निवासमा पार्टीको पदाधिकारी बैठक बोलाएका सभापति देउवाले प्रचण्डले धोका दिएको बताए। बिहान बस्ने भनिएको गठबन्धन बैठकमा पदाधिकारीलाई लिएर जाने तयारीमा रहे पनि स्थगित गरेर छलफलको अवसरसमेत प्रचण्डले नदिएको देउवाको गुनासो छ।

सरकारलाई दिएको समर्थनबारे अब मङ्गलवार संसदीय दलको बैठक बसेर निर्णय गर्ने काँग्रेसको तयारी छ। उपसभापतिसमेत रहेका निवर्तमान कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भने काँग्रेस अब प्रतिपक्षमा बस्ने र संसद्को दह्रोसँग उपयोग गर्ने बताएका छन्। उनले गठबन्धन तोडिनुमा काँग्रेसको पनि केही कमजोरी रहेको स्वीकार गरेका छन्।

नेकपा एकीकृत समाजवादीले नयाँ समीकरण गर्नुको औचित्य पुष्टि नभएसम्म सरकारमा नजाने बताएको छ। सचिवालय बैठकपछि उपमहासचिव गङ्गालाल तुलाधरले अघिल्लो गठबन्धन फेरेर अहिलेको नयाँ गठबन्धन गर्नुको कारण प्रधानमन्त्रीले चित्त नबुझाएसम्म आफूहरू मिसिनेबारे निर्णय नलिने बताए।

एमालेबाटै विद्रोह गरेर बनेको एकीकृत समाजवादी काँग्रेस–माओवादी गठबन्धन हुँदा दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सामेल भएको थियो।

बहालवाला मन्त्रीको बिजोग

अकस्मात् बदलिएको गठबन्धनका कारण बहालवाला मन्त्रीको बिजोग भएको छ। प्रधानमन्त्री आफै गठबन्धन जोड्न र भत्काउन लागे पछि केही मन्त्रीको विदेश जाने कार्यक्रम स्थगित भएको छ भने विदेशमा रहेका केही मन्त्री पूर्व मन्त्री भएर फर्कँदै छन्।

राष्ट्रपति निर्वाचनमा काँग्रेससँगको गठबन्धन ब्यूतिए पछि तत्कालीन परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले रद्द गरिदिएका थिए। अहिले परराष्ट्र मन्त्री एनपी साउदमा पनि त्यस्तै नियति दोहोरिएको छ।

राई रोकिए जस्तै परराष्ट्र मन्त्री साउद यसपटक फिनल्यान्ड जान पाएनन्। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घको अतिकम विकसित देशहरूको फ्यूचर फोरमको दोस्रो समारोहमा भाग लिन मन्त्री साउद फिनल्यान्डको राजधानी हेल्सेन्स्कीतर्फ जाने सूचना प्रकाशन गरेको थियो। तर, नयाँ राजनीतिक घटनाक्रम आएसँगै परराष्ट्रले उक्त सूचना डिलिट गरेको छ।

विदेश भ्रमणमा मन्त्रीको हैसियतमा झन्डा हल्लाएर उडेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारी नेपाल नआउँदै पूर्व मन्त्री भएका छन्। युएई भ्रमणमा रहेका मन्त्री भण्डारी नेपाल फर्कने तयारीमा छन्।

चीनको प्रभाव रहेको विश्लेषण

नेपालमा भएको राजनीतिक उथलपुथललाई भारतीय सञ्चारमाध्यमहरूले चीनको प्रभाव रहेको विश्लेषण गरेका छन्। मालदिभ्सपछि चीन सरकारले नेपालमा गठबन्धन टुटाएको अड्कल समेत भारतीय सञ्चारमाध्यमहरूले काटेका छन्।

प्रधानमन्त्री पदमा रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतविरुद्ध खरो व्यवहार गरेको भन्दै अबको गठबन्धन भारतका लागि खतरा भएको टिप्पणी भारतीय सञ्चारमाध्यमहरूको छ।

पछिल्लो समय वामपन्थी एकतामा जोड दिएको चीनले नेपालमा आफ्नो प्रभाव बढाउन खोजेका समाचारमा उल्लेख गरिएको छ।

भारतीय सञ्चारमाध्यमहरूले काँग्रेस सभापति शेर बहादुर देउवा भारत समर्थक र एमाले अध्यक्ष ओलीलाई चिनियाँ समर्थित भनेर व्याख्या पनि गरेका छन्।

त्यसै कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको सरकारले केपी ओलीलाई लगातार सत्तामा ल्याउन खोजेको र केही हदसम्म सी सफल भएको समाचारमा उल्लेख छ।

प्रधानमन्त्री पदमा रहँदा ओली भारतविरुद्ध आक्रामक बन्दै चिनियाँ राजदूतकै उक्साहटमा लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेको भारतीय सञ्चारमाध्यमहरूको आरोप छ।

नेपालमा नयाँ गठबन्धन बनाउन पछिल्लो समय प्रचण्ड र ओलीले चिनियाँ राजदूतसँग पटक पटक भेट गरेको समेत भारतीय सञ्चारमाध्यमहरूको दाबी छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading