एकै दिन तीन पर्व

पशुपतिनाथमा ड्रोनसहित सुरक्षाकर्मी परिचालन, टुँडिखेलमा तीन देशका सेनाको साङ्गीतिक प्रस्तुति

पशुपतिनाथमा ड्रोनसहित सुरक्षाकर्मी परिचालन, टुँडिखेलमा तीन देशका सेनाको साङ्गीतिक प्रस्तुति

काठमाडौं : एकै दिन एक पर्व र दुई महत्त्वपूर्ण दिवस परेका छन्। महाशिवरात्रि पर्व, हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गरेर मनाउँदै छन्।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। यस्तै ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’, ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गर्दै मनाइदैछ।

महाशिवरात्रिको दिन बिहानै नदी वा पवित्रस्थलमा स्नान गरी श्रद्धापूर्वक भगवान् शिवको पूजा–आराधना गर्ने परम्परा रहेको छ। भगवान् शिव भक्तहरूको कल्याण गर्ने र चाँडै प्रसन्न हुने देवताका रूपमा परिचित छन्।

यस्तै संहारका देवताका रूपमा पनि उनको महिमा छ। भगवान् शिवलाई पञ्चामृतले स्नान गरी चन्दन, सेता फूल, बेलपत्र आदिले पूजा गर्ने विधान छ। महाशिवरात्रिको अवसरमा काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर भक्तपुरको डोलेश्वर, सिन्धुलीको कुशेश्वर र सिन्धुपाल्चोकको फटकेश्वरलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ।

पशुपतिनाथको दर्शन गर्न मुलुकका विभिन्न भागका साथै छिमेकी राष्ट्र भारतबाट समेत उल्लेख्य सङ्ख्यामा श्रद्धालु काठमाडौं आएका छन्। भारतबाट आएका साधुसन्त तथा जोगीका लागि पशुपति क्षेत्र विकास कोषले भोजन तथा बासको व्यवस्था मिलाएको छ।

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

उनीहरू फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन्। शिवरात्रिका अवसरमा शुक्रवार सरकारले सार्वजनिक बिदा समेत दिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई महाशिवरात्रिले बेजोड रूपमा प्रकट गरेको उल्लेख गरेका छन्।

सेना दिवस

नेपाली सेनाले शुक्रवार आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सव विविध प्रस्तुतिका साथ मनाउँदै छ। सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुने नेपाली सेनाले जनाएको छ।

दिवसका अवसरमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुति हुनेछ। जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार सिपाहीको सङ्गठन रहेको बताएका छन्।

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ। सेनाको साङ्गठनिक स्वरूप १८१९ सालदेखि सुरुआत भएको हो।

सेना दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको राष्ट्रपति पौडेल परमाधिपति हुन्।

श्रमिक महिला दिवस

‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ पनि शुक्रवार नै परेको छ। ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११४ वर्ष पुगेको छ।

१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गरिएको थियो। संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो।

सोशलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ का दिन महिला दिवस मनाएको थियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगन सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दिवसको मान्यता दिइयो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाउन थालियो।

हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरूको अवस्थामा खासै परिवर्तन हुन सकेको पाइँदैन।

यद्यपि महिला अधिकारका बारेमा पछिल्ला दिनहरूमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ।

पहिलो पटक नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो। त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानुन बनाएरै सती प्रथा उन्मूलन गरेका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.