सुध्रिएनन् बिमा कम्पनी, प्राधिकरणले दियो निर्देशन

सुध्रिएनन् बिमा कम्पनी, प्राधिकरणले दियो निर्देशन

काठमाडौं : नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूका लागि १८ बुँदे निर्देशन जारी गरेको छ। प्राधिकरणले शङ्कास्पद ग्राहकको पहिचान गर्ने सहितका १८ बुँदे निर्देशन दिएको हो। बिमा कम्पनीहरूको अनुगमन गर्दा विभिन्न कैफियत फेला परेकाले निर्देशन जारी गर्नु परेको प्राधिकरणले बताएको छ।

बिमा क्षेत्रलाई विश्वसनीय बनाउन र बिमा कम्पनीले प्रवाह गर्ने सेवा स्वच्छ, पारदर्शी बनाउन निर्देशन जारी गरिएको प्राधिकरणका निर्देशक दिनेशकुमार लालले जानकारी दिए। ‘अब वृहत् ग्राहक पहिचान गरेर बिमा गर्नु पर्‍यो, आम्दानीको स्रोतहरू पनि पर्याप्त भए मात्रै बिमा गर्नुपर्छ,’निर्देशक लालले पहिचानसँग भने,‘आम्दानीको स्रोत नभई बिमा लेखिदियो भने १०/१५ वर्षका लागि लिएको बिमा लेख चल्न सक्दैन।’

लालसँगको कुराकानी

निर्देशनको पहिलो बुँदामा बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूको न्यूनतम भौतिक पूर्वाधार (कर्मचारीहरूका लागि टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, दराज, बैठक कक्ष, सेवाग्राही कक्ष तथा कार्यालयको समग्र व्यवस्थापन) दुई महिना भित्र विकास गर्नुपर्ने उल्लेख छ।

बीमकका प्रदेश, शाखा तथा उपशाखा कार्यालयमा तोकेको मापदण्डबमोजिम जनशक्ति परिचालन गर्नुपर्नेछ। तत्कालको लागि अर्को व्यवस्था नभएसम्म प्रदेश कार्यालयमा ५ जना, शाखामा ४ जना र उपशाखा २ जना कर्मचारी अनिवार्य राख्नुपर्नेछ।

बीमकका शाखा कार्यालयहरूमा अनिवार्य रूपमा अधिकृत स्तरका कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्थापन गर्ने, बीमकलाई तोकेको जिल्लामा शाखा/उपशाखा कार्यालय अनिवार्य स्थापना गरी बुँदा नम्बर १, २ र ३ बमोजिम सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको छ।

कर्मचारीको दक्षता अभिवृद्धिका लागि कर्मचारी खर्चको कम्तीमा २ प्रतिशत रकम कर्मचारी तालिम तथा वृत्ति विकासमा खर्च गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ। यस्तो तालिम बीमकले प्रदेश तथा शाखास्तरमा समेत सञ्चालन गरी सोको प्रतिवेदन प्राधिकरणमा पेस गर्नुपर्नेछ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थागत सुशासनसम्बन्धी निर्देशिका, २०७५ ले तोकेको क्षेत्र/उपक्षेत्रमा समानुपातिक रूपमा हुने गरी कार्यक्रम सञ्चालन गर्ने, उधारो बिमालाई पूर्ण रूपमा निरुत्साहित गरी बिमा शुल्क दाखिला पश्चात् बीमालेख जारी गर्ने, चेकमार्फत बीमाशुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउने निर्देशन प्राधिकरणले दिएको छ।

मातहतका कार्यालयलाई प्रशासनिक, आर्थिक, दाबी भुक्तानीलगायतका क्षेत्रमा अधिकार प्रत्यायोजन गर्ने यस्तो अधिकार प्रत्यायोजनको लिखित जानकारी प्राधिकरणलाई गराउने, कृषि तथा पशुपन्छी बिमामा ५० हजारसम्म एवं मोटर र सम्पत्ति बिमामा २ लाखसम्मको दाबी भुक्तानीलाई प्रदेश एवं शाखा कार्यालयबाट समेत फर्छ्यौट गर्ने गरी अधिकार प्रत्यायोजन गर्ने साथै अधिकार प्रत्यायोजनको जानकारी प्राधिकरणलाई गराउन प्राधिकरणले निर्देशन दिएको छ।

आंशिक तथा परिपक्व जीवन बीमालेख बापतको रकम बीमितको बैङ्क खातामा नै दाखिला हुने गरी तुरुन्त भुक्तानी हुने व्यवस्था गर्ने, ग्राहक पहिचान अद्यावधिक गरी जोखिमयुक्त बीमितको बृहत् ग्राहक पहिचान गर्ने र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका, २०७५ बमोजिम बीमकको जोखिम मूल्याङ्कन प्रतिवेदन अद्यावधिक गर्ने निर्देशन प्राधिकरणले दिएको छ।

जोखिमांकन गर्दा बीमितको आय यकिन हुने कागजात, स्वास्थ्य परीक्षण प्रतिवेदन: पूर्ण रूपमा भरिएको प्रस्ताव फाराम, अभिकर्ताको नैतिक जोखिम प्रतिवेदनलगायतका अन्य कागजात अनिवार्य रूपमा संलग्न गर्ने, स्थानीय तहमा घट्ने घटनाको सर्ने कार्यमा सम्बन्धित स्थानीय क्षेत्रभित्रका सर्भेयरहरुद्वारा गराउने व्यवस्था गरी सर्भे कार्य छिटोछरितो सम्पन्न गराउने, सर्भेयरको अन्तिम प्रतिवेदन समयमा पेस नगर्नेलाई आवश्यक कारबाहीका लागि प्राधिकरणसमक्ष लेखी पठाउन निर्देशन दिइएको छ।

मातहतका कार्यालयहरूको नियमित अनुगमन गरी आन्तरिक सुशासन एवं नियन्त्रण प्रणालीको सबलीकरण गर्ने, स्वीकृत बिमा दररेट कडाइसाथ कार्यान्वयनमा ल्याउने र मातहतका कार्यालयबाट समेत कार्यान्वयनको सुनिश्चितता गर्ने र प्राधिकरणको सम्बन्धित प्रदेश कार्यालयले बीमकको कार्यालयहरूको स्थलगत निरीक्षणका क्रममा माग गरेका कागजात तथा विवरणहरू निर्धारित समयभित्र अनिवार्य रूपमा उपलब्ध गराउन प्राधिकरणले निर्देशन दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading