जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

काठमाडौं : ग्लोबल आइएमई बैङ्क लिमिटेड र विश्व बैङ्क समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एसिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउईबीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

सम्झौता बमोजिम आईएफसीले ग्लोबल आइएमई बैङ्कको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पत्ति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिने, बैङ्कको जोखिम व्यवस्थापन नीतिलाई अन्तर्राष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरूप परिमार्जन गर्ने लगायतका विषयहरूमा परामर्श प्रदान गर्नेछ।

आईएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरूमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ।

साथै आईएफसीले ग्लोबल आइएमई बैङ्कलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनाहरूलगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण प्रयासमा पनि विशेष परामर्श दिनेछ।

आईएफसीको यस सम्झौताअनुसारको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैङ्गिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा बैङ्क विश्वस्त रहेको छ।

ग्लोबल आइएमई बैङ्कले मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क भएको दाबी गर्दै आएको छ। बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र रहेका छन्।

ग्लोबल आइएमई बैङ्कलाई सबैका लागि बैङ्क बनाउँदै बैङ्कले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको जनाएको छ।

बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading