इलाम उपचुनावमा युवा उम्मेदवारको दबदबा

इलाम उपचुनावमा युवा उम्मेदवारको दबदबा

440
SHARES

काठमाडौं : आमचुनावपछि दोस्रो पटक हुन लागेको उपनिर्वाचनमा युवा उम्मेदवारको दबदबा देखिएको छ। हालसम्म उम्मेदवार घोषणा गरेका नयाँ पुराना सबै दलले युवालाई प्राथमिकता दिएका छन्।

सर्वाधिक चासोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा पहिचानवादी धारका युवा मिलन लिम्बुलाई सर्वसम्मत उम्मेदवार बनाएको छ।

प्रारम्भिक सूचीमा परेका ५ जनालाई उम्मेदवारी फिर्ता गराएर सर्वसम्मत उम्मेदवार बनेका लिम्बुले पार्टीको साधारण सदस्यता लिनुअघि मात्र माओवादी पार्टी परित्याग गरेका थिए।

कोसी नामकरणको विरोध गरिरहेका पहिचान पक्षधरहरूको साझा उम्मेदवार बन्न चाहेका लिम्बुले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। स्वतन्त्र लड्दा चुनाव जित्ने छाँट नदेखेपछि रास्वपा प्रवेश गरेका लिम्बुले पुराना पार्टीप्रतिको वितृष्णाको फाइदा आफूलाई हुने बताएका छन्।

गत वैशाखमा पहिलो पटक भएको तीन क्षेत्रको उपनिर्वाचनमध्ये दुईमा जितेपछि रास्वपा थप उत्साहित छ। तर यसअघि इलाम दुईमा जितेको नेकपा एमाले सोही क्षेत्रका सांसद दिवङ्गत सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई अघि सारेर सान्त्वना मत बटुल्ने योजनामा लागेको छ।

पार्टीले विश्वास गरे पनि सुहाङलाई विरासतबाट आएको प्रश्नले चुनौती थपेको छ। बिहीबार विद्यार्थीसँगको अन्तरक्रियामा राजाको छोरा राजा भनेपछि सुहाङले आफूलाई पार्टीले टिका लगाएर सांसद नबनाएको र जित्न बाँकी रहेको जवाफ फर्काएका छन्।

यससँगै इलाम १ बाट पराजित पूर्वप्रधानमन्त्री झलनाथ खनालको सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने सपना यसपटक पुरा नहुने भएको छ। सत्ता गठबन्धनबाट साझा उम्मेदवार नपाउने भएपछि एमालेबाटै फुटेको एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरूले भटाभट आ-आफ्नै पार्टीका उम्मेदवार घोषणा गरेपछि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पनि छुट्टै उम्मेदवार बनाउने निर्णय गरेको छ। तर यसपटकको माओवादीले सरकारमा रहेको एमालेलाई सघाउँछ वा काँग्रेसलाई गुन तिर्छ त्यो भने हेर्न बाँकी छ।

यद्यपि अहिलेसम्मको राजनीतिक सिनारियो र परिदृश्यले सत्ता गठबन्धनमै रहेका दलहरू पनि उपचुनावमा भने स्वस्थ प्रतिस्पर्धामा उत्रिने सम्भावना बलियो देखिएको छ।

राजावादी दल राप्रपाले समेत लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा सबैभन्दा ठुलो र पुरानो दल नेपाली काँग्रेस भने अलमलमै छ।

समाचार शेयर गर्नुहोस्
440
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.