नक्कली प्रकरणले थलिएको भुटानी मुद्दा, शरणार्थीभित्र पनि फाटो ल्याउने प्रयास

नक्कली प्रकरणले थलिएको भुटानी मुद्दा, शरणार्थीभित्र पनि फाटो ल्याउने प्रयास

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आपराधिक प्रकरण विचाराधीन छ। काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पुगेका मध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित केही धरौटीमा छुटे।

उच्च अदालत पाटनबाट धरौटीमा रिहा हुन नपाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका बन्दीप्रत्यक्षिकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन्। आइतबार निलम्बित सचिव टेकनारायण पाण्डेका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भयो भने सोमबार रायमाझीका कानुन व्यवसायीको निवेदनले सुनुवाइ हुन सकेन।

मङ्गलवार यो रिटको पेशी नै तोकिएन। बुधवार न्यायाधीश सुष्मालता माथेमा र अब्दुल अजीज मुसलमानको इजलासमा पेशी चढेको छ। शरणार्थी शिविरमा रहेका भुटानी नागरिकको दीर्घकालीन व्यवस्थापन गर्ने नाममा भएको नक्कली प्रकरणको छिनोफानो भएको छैन। सर्वोच्च अदालतको आदेशपछि काठमाडौं जिल्ला अदालतमा मुद्दाको अन्तिम सुनुवाइ हुनेछ।

धरौटी बुझाएर तारेखमा रिहा भएकाहरू विरुद्ध सरकार पक्ष सर्वोच्च अदालत नगएकाले उन्मुक्ति दिन खोजिएको शङ्का समेत व्यक्त भएका छन्। पेशी तोक्न अनुरोध गर्ने र इजलास तोकिए पछि निवेदन दिएर सुनुवाइ स्थगित गराउने प्रतिवादीहरूको मक्सद बुझ्न नसकिएको सर्वोच्च प्रशासन स्रोतले बताएको छ।

नक्कली शरणार्थी प्रकरणले शिविरमा भुटानी नागरिकको अवस्था भने दयनीय बन्दै गएको छ। नेपाल सरकार, अन्तर्राष्ट्रिय निकाय सबैतिर सहयोग बन्द भएपछि थप समस्या सिर्जना भएको शरणार्थीहरूले गुनासो गर्दै आएका छन्। सक्कलीको गुनासो सुन्ने फुर्सद सरकारले पाएको छैन।

किनकि नक्कली प्रकरणमा उच्च तहका नेताको नाम मुछिएको र केही पक्राउ नै परेपछि सरकारले सक्कली शरणार्थीको समस्यालाई समस्या नै मानेको छैन।

भुटानी भित्रै विवाद

भुटानी समुदायमा भित्र पनि विवाद ल्याउन सामाजिक सञ्जालको दुरुपयोग हुन थालेको गुनासो सार्वजनिक भएका छन्। नेपालको शरणार्थी शिविरमा रहेका र तेस्रो देश पुर्नवास भएका भुटानी समुदायमा विवाद ल्याउन गैरभुटानीसँगै केही समुदायकै व्यक्ति सक्रिय भएको गुनासो भुटानी अगुवाहरूले गरेका हुन्।

गैरभुटानीको लहैलहैमा केही सक्कली भुटानी समेत मिसिएर समुदायमा विवाद ल्याउने प्रयास गरेको भन्दै शरणार्थी अगुवाहरूले चिन्ता व्यक्त गरे। ‘समुदायमा भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ,’उनीहरूले भने,‘प्रमाण पुग्ने नभई इज्जतमा ठेस पुग्ने गरी व्यक्तिको चरित्र या जीवन लीलामाथि प्रश्न गर्न थालिएको छ, यो चिन्ताको विषय हो।’

नेपालमा आफ्नो देश भुटान फर्कन पाउने आशामा बसेका शरणार्थीहरूको मान मर्दन हुने गरी सामाजिक सञ्जालमा अनावश्यक पोस्ट गर्नेदेखि कमेन्ट हुन थालेपछि अगुवाहरू चिन्तित भएका हुन्।

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा भुटानी नागरिकको हक पाएर तेस्रो देश पुर्नवास भएका केहीले भने आफूलाई बाहिरी जगतसामु नेपाली नै भएको देखाउने प्रवृत्ति देखिएको छ। यसको प्रतिफल नेपाल बाहिर रहेर जीवन गुजारा गरिआएका धेरै खाट्टी नेपाली नागरिक समेत विदेशीको शङ्कामा परेका छन्।

अमेरिका पुगेका प्रदीप भट्टराईले केही समय अघि सामाजिक सञ्जालमा भुटानी शरणार्थीले आफूलाई नेपाली भनेर नेपालीको बेइज्जत गरेको पोस्ट गरे। समाजमा विभाजन ल्याउन यस्ता किसिमका प्रतिक्रिया भट्टराईको पोस्टमा गरिए।

नेपाली भाषा बोल्ने हुँदा भुटानीहरूको आफ्नो पहिचान नै खतरामा पर्ने शङ्का उब्जिएको भन्दै शरणार्थी अगुवाहरूले चिन्ता व्यक्त गरे। भुटानले राज मुद्दा लगाएर आतङ्कवादीको संज्ञा दिँदै देशबाट निकालेको सर्वविदितै छ। त्यसमा पनि नेपाली भाषी भुटानी भएकै कारणले आतङ्कवादीको बिल्ला भिराएको विश्वका प्रत्येक सचेत नागरिकले बुझेका छन्।

तर, यिनै भुटानीहरू मध्ये कतिले भने आफू भुटानी हुँ भन्नुको सट्टा नेपाली हुँ भन्नु र आफ्नो समुदायको हकहित विपरीत बोल्नुले भुटानी निरकुंशतालाई नै सहयोग पुगेको भन्दै अधिकारकर्मीहरूले सचेत समेत गराएका छन्।

आफ्नो देश फर्कन पाउनु पर्छ भनेर आवाज उठाउँदै आएका शरणार्थी नेताहरूमाथि भुटानी निरकुंशतालाई नै बल पुग्ने गरी सामाजिक सञ्जालमा आउने प्रतिक्रियाले शिविरमा बसेका भुटानी नागरिक थप चिन्तामा परेका छन्।

अरू कसैलाई पनि नेता नमान्ने, आफू पनि कसैलाई समेट्न सक्ने क्षमता नभएका तर, भित्रभित्रै आफ्नो समुदायका मानिसलाई बोलाएर अथवा कुनै भेटघाटको क्रममा जातियताको विभेद उछाल्ने घुसघुसे बहसले प्रवासी भुटानीहरूलाई पनि चिन्तित बनाएको अगुवाहरू बताउँछन्।

नेपाल, भारत र अन्तर्राष्ट्रिय समुदायसँग स्वदेश फर्काइदिन तीन दशकदेखि हार गुहार गदै आएका टेकनाथ रिजालमाथि समेत गैरभुटानी र केही खाट्टी भुटानीबाटै सामाजिक सञ्जालमा आक्रोश व्यक्त हुँदै आएका छन्।

जसले देशबाट लखेट्न तम्तयार भुटानलाई सुरुकालदेखि नै सचेत गराउँदै नेपाल भारतदेखि विश्वका विभिन्न निकायमा उभिएर आफ्ना नागरिकका पक्षमा निष्पक्ष वकालत गरे, उनै रिजालको जातियताको पराकाष्ठै तुकलाई पालेर खेदोपाइलो गरिरहे र गरिआएका छन्।

अब यिनीहरू कुन पक्षधर हुन् त? हिजो शिविरमा रहँदा ५२ वटा दल तथा सङ्घ सङ्गठन थिए। आज ती सङ्घ संस्था, दलका कार्यकर्ता तथा नेताहरू कहाँ छन् र के गर्दैछन्? यिनीहरू र यिनका समकक्षीहरू भुटानलाई सहयोग पुग्ने गरी कुनै पनि वक्तव्य नदिन भन्छन्। तर, जब कसैले ६ महिना वर्ष दिनमा यिनका हितमा बोलेको पाउने बित्तिकै मौरीको घारमा अरिङ्गाल खनिए जस्तै खनिएर व्यक्तिगत चरित्र हत्या गर्न सम्म छोडेको पाइएको छैन।

यस्तो हर्कतबाट विश्व आजित भैसकेको आभास हुन थालेको स्वयं तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकहरू बताउँछन्। सन् १९८८ मा भुटानका राजाको नीति विपरीत उभिएका रिजाल एक मात्र हुन, जो तेस्रो देश पुनर्स्थापनाको विरोध गर्दा विवादमा परे। भुटानभित्र र बाहिर तथा नेपालमा बाँकी रहेका शरणार्थीहरूको हक हितमा नेपालको जेलमा थुनिँदा पनि उनले एक मात्र माग स्वदेश फिर्तीको उठाए।

नेपालका सभामुखलाई अपिल बुझाएर शरणार्थी समस्या थप उजागर गरेका रिजालको अडान र उनका सहयोगीहरूको चरित्र देख्दा झनै उदास र विरक्त लाग्दो रहेको शरणार्थी अगुवाहरू बताउँछन्।

यतिमात्र होइन रिजालको यहलिला समाप्त पार्ने गरी यसै समुदायका केही व्यक्तिहरू लागि परेको र त्यसबाट आफूलाई बचाउन भारतीय राजदूतावाससम्म रिजाल पुगेको तितो यथार्थता यथावत् नै छ। रिजालमाथि पटक पटक आक्रमणको प्रयास भइआएको पारिवारिक स्रोतले बताएको छ।

भुटानी समुदायभित्र देखिने यस्ता विभिन्न आचरणका व्यक्तिहरू आखिर आफूलाई के ठान्छन्? आफ्नो परिचय के हो? राष्ट्रियता भनेको के हो? भेषभाषा, संस्कृति के हो? म कुन समाजको हुँ? कुन परिचय र कुन इतिहासले आज म यो ठाउँमा छु भन्ने सम्म ख्याल नगर्नेहरूसँग सच्चा भुटानी नागरिकहरू सतर्क रहन विलम्ब भैसकेको अगुवाहरू बताउँछन्।

आफू को हुँ र के गर्दैछु? मैले समाजलाई कुन क्षेत्रमा कस्तो योगदान गरे? अनि किन समाजमा देखिन सकिन र दुलाभित्र बसेर केवल अरूको योगदान प्रति अवमूल्यन गर्न उद्यत हुँदैछ? जातीयको कार्ड सूक्ष्म रूपले अगाडि बढाउने तर, अगाडी आउन नसक्ने असक्षम गुरुहरूको उपदेशले कलान्तारमा कहाँ पुर्‍याउला आफ्ना सन्ततिको भविष्य पछि कस्तो होला? भन्ने सम्म मनन गरेको पाइँदैन।

नेपालमा आध्यकालमा शरणार्थीहरू आउँदा एक मात्र नाम सुनिन्थ्यो रिजालको। बिस्तारै बिस्तारै दिन बित्दै गए। नेताहरू पार्टी र विभिन्न नेचरका आन्दोलनमा होमिने अनि जथाभाबी मूल मुद्दालाई पर सारेर भुटानको विरुद्धमा लड्न राजनीतिक पार्टी खोल्ने र एकआपसमा हारालुछ गर्नुको प्रतिफल नै शरणार्थीहरू एकजुट हुन नसकेको प्रस्ट देखिएको छ।

जब कसै समुदायमा मानिसहरू सबै आफू मात्र सबै जान्ने हुँ ठान्छ र अरूलाई मान्न र अरूलाई समेट्न असक्षम हुन्छ भने त्यस्तो व्यक्तिले सामाजिक सञ्जालमा देखिन नरुचाउनु नै पनि समाजलाई योगदान हुने सुझाव पनि शरणार्थी अगुवाहरूले दिएका छन्।

उनै रिजाललाई केही दिन अघि अमेरिका निवासी भुटानी नागरिक डिसी अधिकारीले भेटे। उनले लेखे,‘संसार एकातिर हिँडेको बेला भुटानी जनताको लागि एक्लै अर्को बाटो हिँड्ने तपाईँको हिम्मत, दश वर्ष आफ्नू उमेरको उरबर समय जनताको लागि तपाईँले खर्चेको कथा सुन्दा गजब लाग्यो। तपाईँको हिम्मतलाई नमन।’

उनी जस्तै रिजाललाई बुझेकाहरूको जमात ठुलो छ। अझ यो जमात पछिल्लो समय ह्वात्तै बढेको पाइन्छ। केही व्यक्ति आफ्नो हैसियत नबुझेका र सामाजिक सञ्जालमा देखिन रहर गर्ने बेतुकका मानिस सिवाय सम्पूर्ण भुटानी समुदाय रिजालको पक्षमा उभिएको पाइन्छ। यति हुँदा हुँदै पनि रिजालको पक्षमा मानिस छैनन् भन्ने तर्क गर्ने गिनाचुना व्यक्तिहरू उभिनु अर्को दुर्भाग्य भएको रिजालका समकक्षीहरू बताउँछन्।

रिजाल कुनै राजनीतिक अडान नभएको केवल आफ्नो देशमा एउटा मानिस भएर बाच्न पाउनु पर्छ भन्ने विशुद्ध मानवीय अडानमा कायम छन्। उनले अदालतमा दिएको बयानबाट पनि त्यो देखिन्छ। तर, पनि उनको व्यक्तिगत चरित्र माथि हत्या हुनु, उनको त्याग तपस्याको अबमुल्याङकन गर्दै जसका लागि मरिमेटेको त्यसैले विरोध गरेको घटनालाई लिएर रिजालका पक्षमा मानिस छैनन् भन्नु कुनै तक नरहेको उनीहरू बताउँछन्।

नेपालको आम नागरिक तथा बुद्धिजीवी पत्रकारहरूले पनि रिजालको त्याग तपस्या र योगदानलाई कदर गरिआएको परिप्रेक्ष्यमा उनको अवस्था प्रति चिन्तित हुने डिसी अधिकारी जस्ता व्यक्तिहरूमाथि कसैबाट निन्दा गरिनु यो भन्दा घटिया हर्कत अरू कुन हुन सक्छ? उनीहरूले प्रश्न गरेका छन्।

यस्ता अर्थहीन टीकाटिप्पणी गर्ने मानिसहरू भुटानी होइनन् नै नेपाली पनि होइनन् भने आफ्नै समुदायसम्म घुलमिल हुन नसक्ने व्यक्तिहरू कतै भुटान राजाले शिविरमा भुटान बाहिरका अर्थात् भारतका मानिसहरू छन् भने मध्येका यी त होइनन् भन्ने प्रश्न समेत उनीहरूले गरेका छन्।

रिजालको योगदान भुटानमा के थियो, थिएन त्यो उनीहरूले नै मुल्याङकन गर्ने विषय हो। तर, नेपालमा रहँदा पनि रिजालले भूकम्पको बेला सरकारबाट प्राप्त एक महिनाको कुल रकम १ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरेका थिए। ३२ जना भुटानी शरणार्थीहरूलाई खाजापानी कुम्लो हालिदिएर भूकम्प प्रभावित क्षेत्रमा टहरा निर्माणका लागि श्रमदान गरिदिन पठाएको कुरा रिजालले सार्वजनिक रूपमा कतै बोलेको पाइएको छैन।

यसका अतिरिक्त झापाको माइधार किनारमा अवस्थित लक्ष्मी नारायण मन्दिरको निर्माण, काठमाडौँको क्षेत्रपाटीमा अवस्थित बैंकटेश्वर मन्दिर निर्माणका लागि आफ्नो गाँस काटेर गरेको सहयोग अनि चाबहिलको हेल्पिङ हेण्डको अस्पतालभित्र टाँगिएको रिजाल र उनकी श्रीमती कौशिलाको फोटोले पनि रिजाल मौन बसिरहने नेचरका होइनन् भन्ने देखाउँछ।

आज आफ्नो समाजको हितसँगै आफू बसेको मुलुकको हकहित र समाजको मायामा उनले गरेको योगदान अवमुल्याङन हुनु दुर्भाग्य नै भएको रिजालका शुभचिन्तकहरू बताउँछन्। झापाको धनुषकोटी धाम नजिक एउटा नेपाल भुटान जनमैत्री बौद्धबाटिका रिजालले आफ्नै सक्रियतामा शरणार्थीहरूको मात्र नभई भुटान भित्र रहेका आफ्ना समुदायको समेत इतिहास रहिरहोस् भन्ने हेतुले खडा गरेका थिए। यो बाटिकाको औचित्य माथि पनि यिनै शरणार्थी समूहबाट टीकाटिप्पणी हुनु कहाँसम्म न्यायोचित होला? उनी निकटहरूले बताए।

ठुलो समूह भएको र भुटानी कतिपय नेताहरूले नेपाल तथा विश्वका मानव अधिकारकर्मीहरूसँग आफ्नो समस्या राख्न सफल भएको प्रतिफल नै आज भुटानीहरू आफ्नो मुलुक फर्कन नसके पनि विश्वका विभिन्न सम्पन्न देशहरूमा बसाउन सफल भएको कुरालाई आत्मसात् गर्नु पर्छ। नेपाल सरकार र नेपालका निकायहरूलाई भुटानी नागरिकहरूले धन्यवाद दिनु पर्ने हो। तर, त्यो धन्यवाद त्यो कृतज्ञता दिनुपर्नेमा राष्ट्रहित विरोधी अभिव्यक्तिहरू कतिपय स्वार्थ केन्द्रित भुटानी पक्षबाट हुनु अति नै दुखदायी विषय भएको भुटानी अगुवाहरू बताउँछन्।

यसमा भुटानी शरणार्थीको पक्षमा अथवा यिनको हक अधिकारको विषयमा सबै भन्दा पहिला नाम आएका, अन्तर्राष्ट्रिय जगतमा चिनिन सफल भैसकेका व्यक्ति रिजाल नै हुन्। तथापि दुर्भाग्यवश उनी आफ्नै अभिव्यक्तिका कारण एक पल्ट धेरै विवादमा आए। उनको विपक्षमा शरणार्थी समूहबाट धेरै घिनलाग्दा टीकाटिप्पणी नभएका होइनन्। ती टीकाटिप्पणीमा उनले चालेका कदम र उद्देश्य प्रति खिन्न भएको भने कहीँ कतै थिएन। रिजालमाथि आएका टीकाटिप्पणीले भुटानी शरणार्थीको कहीँ कतै कुभलो गरेन। सहयोग नै पुर्‍यायो।

दोष के हो त?

‘तपाईँहरू यति दुख पाएर सुखको ठाउँमा पुग्नुभयो। उहाँ पुगेर चिल्ला गाडीमा हिँड्ने बित्तिकै आफूसँगै बसेका साथीभाइहरूको दुख पीडाप्रति चटक्क बिर्सन खोज्नु भयो। यो बाँदरको जस्तो प्रवृत्ति भयो’ रिजालले भनेका थिए। शिविरमा सँगै बसेका कोही चिल्ला गाडी चढ्ने, कोही हात्तीको आक्रमणमा ज्यान नै गुमाउनु पर्ने मात्रै नभएर चल्दै गरेको चुल्हो नै बन्द गराउने अवस्था प्रति रिजालको व्यङ्ग्यात्मक टिप्पणी थियो ‘बाँदर’ अभिव्यक्ति।

त्यसै पनि नेपाली उखान नै छ बाँदरको हातमा नरिवल। रिजालले नरिवलको सट्टामा गाडी भनिदिए। जसले समाजमा कुनै दिन पनि योगदान पुर्‍याएनन् गुण्डागर्दी र पारिवारिक कलहमा सामेल हुनुका सिवाय केही नगर्ने अल्लारेहरू रिजालका विपरीत टीकाटिप्पणी गर्न उत्रेको सहन नसकी मिश्र थरका एक वृद्धले भुटानी नागरिक अगुवाहरूको तर्फबाट सामाजिक सञ्जालमा आफ्नो अभिव्यक्ति दिँदै ‘रिजालमाथि यसरी टीकाटिप्पणी गर्नु दुर्भाग्य हो’ भनेका थिए।

यस्तो अवस्थामा पनि अन्य नेताहरूको कुकृत्यले समेत रिजाललाई एक्लो पारेको असहाय पन बुझेर बाहिर गएका ती वयोवृद्ध मिश्र थरका व्यक्तिले ‘रिजाल जस्तो नेता पाउनु गर्व गर्नुपर्ने हो’ भनेका थिए। ‘रिजालले तिमीहरू बाँदर हौ भन्नुमा कुनै भुल हुँदैन, हामीले त भुटानको विकासमा जीवन खर्चँदा बाँदरको जुठोसम्म खाएका छौ’ भनेका थिए।

रिजालको योगदान नबुझ्नेहरूलाई सबक सिकाएका ती वृद्धको पोस्ट पछि हटाउन लगाएको समेत बुझिन आएको छ। विरोध गर्नेहरूले कुनै दोष देखाउन सकेका छैनन्। केवल रिजालको दोष भनेको नेपाल सरकारले दिएको निर्वासित नेताको हैसियत। रिजाल अहिले परिबन्दमा परेर मुद्दा खेपिरहेका छन्।

रिजालको भूमिकाले भुटानको नीद हराम हुनु अनि त्यो आपराधिक मानसिकता बोकेको भुटानले दिएका अभिव्यक्तिलाई नै यी विद्रोही गिरोहले हो मा हो लगाएर रिजालको व्यक्तिगत चरित्र माथि नै हमला गर्नुलाई भुटानी अगुवाहरूले निन्दा गर्दै आएका छन्।

एक लाख भुटानी शरणार्थीको जीवन बरबाद गर्ने रिजाललाई बाहिर गएको समुदायले गएर भेट्नु दुर्भाग्य हो भन्ने खालका प्रतिक्रिया सामाजिक सञ्जालमा दिनेहरूको हैसियत र उनीहरूको औचित्य उदाङ्गो पार्न लाग्नु पर्ने भुटानीहरू बताउँछन्। नत्र कसैले कामै नगर्ने अनि साल दुई साल बीचमा कसैले लेखिहाल्यो भने धेरै गुरुहरू निक्लने र त्यो माथि खनिने यो भुटानी समाजको चरित्र पहिलो भने होइन।

रिजालकै सन्दर्भमा नेदरल्याण्डको हेगमा रहेका भुटानी राजबन्दीहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीले मानवताको नातामा आफ्नो दायित्व पुरा गरेको कुराले रिजाललाई मद्दत पुग्ने ठाने पछि केही व्यक्तिहरू कार्कीमाथि नै खनिएको पनि देखियो।

अर्का डिल्ली अधिकारी एक जना व्यक्ति जसले शरणार्थी शिविरमा सचिवको पदभार सम्हाले र त्यसैक्रममा तेस्रो देश पुर्नवास गएपछि उनलाई लक्ष्मीले ठुलो आर्सीवाद दिनु भयो र धेरै पैसा कमाउन थाले। तर, उनले त्यो पैसालाई आफ्नो निजी स्वार्थको लागि भन्दा पनि नेपालले गर्नु पर्ने कामलाई आफ्नो हातमा लिएर विश्वभर छरिएका खेलाडी तथा कलाकारहरूलाई नेपालको राजधानीमा भेला गरेर एक करोड राशिको अवार्ड वितरण गरे।

विगत लामो दिनदेखि भुटानी शरणार्थीहरूमाथि गर्नुपर्ने दायित्वबाट नेपाल र विश्व समुदाय पन्छेको बेला ती दुखी शरणार्थीहरूको चुल्हो चलाउने काम एकल डिल्ली अधिकारीले चलाएको घटना कसैबाट लुकेको छैन। उनको यो योगदान र समर्पणलाई स्याबासी दिनुको सट्टा उनको कमाइमाथि धेरै भुटानीहरूका आँखा जलेको र उनका माथि पनि टीकाटिप्पणी गरेको देखिएको छ।

डिल्ली अधिकारी अवार्ड वितरण समारोहमा दिएको अभिव्यक्तिका कारण भने लामो समय विवादमा परे। अधिकारीले आफ्नो अभिव्यक्तिमा माफी समेत मागे। भुटानी आन्दोलनको सन्दर्भमा कुनै पनि नेताको विपक्षमा टीकाटिप्पणी गर्ने तर, अगाडी आएर बोल्न डराउने व्यक्तिहरूको अभिव्यक्तिलाई सदाका लागि तिरस्कार गर्न नसके सत्य के हो र असत्य के हो भन्ने छुट्ट्याउन गाह्रो हुने देखिन्छ।

कतिपय तेस्रो देश नगई नेपाली जाली नागरिकता लिएर बसेकाहरूले समेत समुदायभित्र विवाद ल्याउने प्रतिक्रिया सार्वजनिक गरेर मूल मुद्दा स्वदेश फर्कन पाउनु पर्ने मागलाई अन्यत्र मोड्न परिचालित भएको देखिएको शरणार्थीहरू बताउँछन्। तर, रिजाल भुटानी शरणार्थीहरूको अभिभावकका रूपमा पिल्लर बनेर उभिएका छन्। यो कुरा वास्तविक भुटानी नागरिकहरूले आआफ्ना माध्यमबाट व्यक्त गरिरहेका छन्।

एक लाख शरणार्थीहरूलाई परिचय पत्र दिने युएनएचसिआरले पनि भुटान र भारतको इशारामा रिजाललाई अरू शरणार्थी सरह खान बस्नको स्थान उपलब्ध गराउन भन्दा पनि शरणार्थीको दर्जा सम्म दिन इन्कार गरेको त्यो अवस्थामा नेपाल सरकारले मानवताको नाताले सहुलियत उपलब्ध गराएको घटना भने रिजालका लागि ठुलो अभिसाप साबित भएको छ। उच्च अदालत पाटनको आदेशमा धरौटीमा रिहा भए पनि रिजालले तारिख बोकिरहेका छन्। उनको मुद्दा विचाराधीन अवस्था छ।

अदालतमा आफूविरुद्धको मुद्दा विचाराधीन रहेकाले रिजालले अहिले कहीँ कतै कुनै प्रतिक्रिया जनाएका छैनन्। अदालतको अन्तिम फैसला पछि पक्कै रिजालले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्नेछन्। तर, अहिले सामाजिक सञ्जालमा आएका समुदायभित्रै फाटो ल्याउने प्रयासले शिविरमा रहेका र तेस्रो देश पुर्नवास भएका भुटानी नागरिकको चिन्ता भने व्याप्त छ।

अझ केहीको त धार्मिक नाममा पुरेत्याइँ समेत चल्ने गरेको पाइएको छ। बाहुनलाई दान गरे दुख कष्ट नास हुने भन्दै दक्षिणा बटुल्नेहरूले समेत भुटानी नागरिकहरूलाई हैरानी दिन थालेको पाइएको छ।

शिविरका रहेका बिहान बेलुकाको छाक टार्न मागेर हिँड्नु पर्ने अवस्थामा हुँदा त्यही शिविरबाट तेस्रो देश पुर्नवास भएकाहरू यज्ञयज्ञादीका नाममा दान दिइरहेका छन्। दानका नाममा खर्च गर्ने रकम शिविरका नागरिकको मानवीय सहयतामा लगाउने सोच कहिले आउला कुन्नि? यो जुनीमा कि अर्को जुनीमा?

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading