राष्ट्रपति पौडेलले कतारका अमिरलाई भने, साझा चासोको मुद्दामा सहकार्य गरौँ

राष्ट्रपति पौडेलले कतारका अमिरलाई भने, साझा चासोको मुद्दामा सहकार्य गरौँ

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलवार नेपाल आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले साझा चासोको मुद्दामा सहकार्यका लागि आग्रह गरेका हुन्।

‘आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी जोगाउने, पानीको स्रोत कसरी बचाउने र वातावरण सन्तुलन कसरी राख्ने भन्ने नै हो, यसमा सबैको सहकार्य हुन जरुरी छ, यो मानव अस्तित्वको विषय छ, विशेष गरी विकसित मुलुकहरू यस विषयमा बढी गम्भीर हुनुपर्छ भन्ने म ठान्दछु,’ राष्ट्रपतिको भनाई उद्धृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने।

राष्ट्रपति पौडेलले मध्यपूर्वी क्षेत्रमा देखिएको द्वन्द्वको वातावरणले चिन्तित तुल्याएको पनि बताउनुभएको पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले यस क्षेत्रमा युद्धको अन्त्य र शान्तिको पुनर्स्थापनाको कामना गर्दै कतारले शान्ति स्थापनाको लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे।

त्यस्तै कतारका अमिरले जलवायु परिवर्तनको असरले विश्व नै समस्यामा परेको र यसको न्यूनीकरण सम्बन्धी सम्झौताहरूको सबै मिलेर पालना गरे राम्रो परिणाम आउने र सबैका लागि सुखद वातावरण तयार हुने बताए।

कतारका अमिरले नेपालसँग अझ राम्रो सम्बन्ध स्थापित गरेर सहयोगका थप क्षेत्रहरू पहिचानका लागि यो भ्रमण उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे। अमिरले कतारको विकासमा नेपालीहरूको ठुलो योगदान रहेकोमा प्रशंसा गर्दै आभार प्रकट गरेका थिए।

उनले दुई देशबीच बुधवार हुने समझदारी तथा सम्झौता नेपालमा रहेका जलस्रोत, कृषि, पर्यटनजस्ता क्षेत्रहरूमा लगानीको नयाँ सम्भावनाहरू बढाउन सकिने विश्वास व्यक्त गरे।

त्यस्तै नेपाल र कतारबीच सदैव सुमधुर सम्बन्ध रहिआएको बताउँदै राष्ट्रपति पौडेलले हाम्रा सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको स्पष्ट गरेका थिए।

दुई मुलुकबीच नियमित रूपमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान हुने परम्परा रहिआएको र यसबाट द्विपक्षीय सम्बन्धको विस्तारमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक भ्रमणले नेपाल र कतारको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए।

राष्ट्रपति पौडेलले राजनीतिक रूपान्तरणका मुद्दाहरू टुङ्गोमा पुगेसँगै नेपाल अब आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको उल्लेख गर्दै विकास र समृद्धि हासिल गर्ने नेपालको प्रयासहरूमा कतारको सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका राष्ट्रपतिका प्रेस सल्लाहका पोखरेलले जानकारी दिए।

दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको राम्रो सम्भावना रहेको सन्दर्भमा यी क्षेत्रहरूमा हाम्रो सहयोग एवं सहकार्य भविष्यमा थप घनीभूत हुने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले अमिरको दूरदर्शी नेतृत्वमा कतारले गरेको दिगो विकास र समृद्धि देखेर धेरै खुसी लागेको बताउँदै मुलुकलाई एक उच्चविकसित राष्ट्र बनाउने अमिरको दीर्घकालीन सोच र दृढ अठोटको प्रशंसा गरेका थिए।

विमानस्थलमा भव्य स्वागत

कतारका राजा तमिम बिन हमाद अल थानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका मन्त्रीहरूले भव्य स्वागत गरे।

थानीलाई विमानस्थलमै नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ। उनको स्वागतका लागि काठमाडौँका सडकमा विभिन्न राष्ट्रिय पोसाकसहित सांस्कृतिक बाजागाजाको प्रस्तुति गरिएको थियो। विमानस्थलदेखि शीतल निवाससम्मको सडक किनारमा विभिन्न जातजातिका भेसभुसा झल्किने पोसाकमा बाजागाजासहित उहाँलाई स्वागत गरिएको थियो।


विमानस्थलबाट सिँधै राष्ट्रपति भवन निवासमा गएका कतारका अमिरले राष्ट्रपति पौडेलसँग द्विपक्षीय भेटवार्ता गरेका हुन्। राष्ट्रपति पौडेलले अमिरको सम्मानका लागि सोल्टी होटेलमा रात्रीभोजको आयोजना गरेका छन्।

दुई दिने नेपालको राजकीय भ्रमणको लागि आएका थानीले बुधवार प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ। कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो। उनको भ्रमणका अवसरमा सरकारले मङ्गलवार सार्वजनिक बिदासमेत दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading