निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अर्थमन्त्री नै सरकारी निकायबारे बेखवर

अर्थमन्त्री नै सरकारी निकायबारे बेखवर

333
SHARES

काठमाडौं : सरकारी निकायको नामबारे मन्त्री नै बेखवर देखिएका छन्। केन्द्रीय तथ्याङ्क कार्यालयलाई अर्थमन्त्री वर्षमान पुन अनन्तले तथ्याङ्क विभाग भनेका छन्। आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको तथ्याङ्क कार्यालयलाई मन्त्री पुनले विभाग भनेर सम्बोधन गरे।

सरकारी निकाय तथ्याङ्क विभागबाट कार्यालय भएको लामो समय भइसक्दा समेत मन्त्री पुन भने विभाग नै भनिरहेका छन्। उनले एसियाली विकास बैङ्क, विश्व बैङ्कसँगै तथ्याङ्क विभाग (कार्यालय)को आर्थिक वृद्धिदरको प्रक्षेपण अबको ३ महिनामा गलत साबित हुने दाबी सुनाए।

‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ। स्वाभाविक रूपमा यसका आन्तरिक र बाह्य कारण छन्। तथ्याङ्कहरूले बिस्तारै त्यसमा सुधार देखाएको छ’, मन्त्री पुनले भने, ‘विश्व बैङ्कले ३.३ एडिबीले ३.६ र हिजो मात्रै राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ। यो नौ महिनाका प्रक्षेपण हुन्। आर्थिक वर्ष अझै तीन महिना बाँकी छ। केही पुँजीगत खर्चहरू हुन्छ। हामीले केही सकारात्मक प्रयत्नहरू गरेका छौँ। अर्थ मन्त्रालयको तर्फबाट ४.५ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने हाम्रो अनुमान हो।’

तथ्याङ्क कार्यालयले आर्थिक वृद्धि चार प्रतिशत नपुग्ने प्रक्षेपण सार्वजनिक गरेको भोलिपल्ट अर्थमन्त्री पुनले साढे चार प्रतिशत भन्दा माथि पुग्ने अर्थ मन्त्रालयको अनुमान रहेको सुनाएका हुन्।

काठमाडौँमा आयोजित दिगो आर्थिक विकासका लागि वित्त नीति विषयक कार्यक्रममा अर्थमन्त्री पुनले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताए।
यद्यपि अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उनको भनाइ थियो। मन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक श्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए।

नेपाल विश्व अर्थतन्त्रका दुई उदीयमान हस्तीहरू भरत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर नीति बनाउनुपर्नेमा सरकार रहेको उल्लेख गरे। भारत र चीनबाट ठुलो सङ्ख्यामा मध्यम वर्ग भ्रमणमा निस्कने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याए।

आर्थिक शिथिलताकै बीचमा पनि चालु आर्थिक वर्षमा होटेल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ।

निर्माण क्षेत्रमा भने नकारात्मक अवस्था रहेकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताए। उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्विकार्न आफू तयार नरहेको बताए।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा ०६४ सालमा अख्तियार गरिएको ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्न सक्ने अवस्था आएको चर्चा उनले गरे। ‘प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले ऊर्जा क्षेत्रमा लिएको नीतिको निरन्तरता अझै छ। यो बीचमा १५ वटा सरकार फेरिए होलान् तर नीति फेरिएको छैन’, मन्त्री पुनले भने, ‘नेपालमा स्थिरता छैन भन्ने हल्ला सरकार, निजी क्षेत्र, सञ्चार माध्यम र बौद्धिक व्यक्तित्वहरू मिलेर चिर्नुपर्छ।’

उनले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रमा पनि राम्रो सम्भावना रहेको बताए। फरक प्रसङ्गमा मन्त्री पुनले नेपालमा वैदेशिक लगानीको समेत राम्रो सम्भावना रहेको बताए।

वातावरण राम्रो भएकै कारण बहुराष्ट्रिय कम्पनीहरू नेपालमा लगानी गर्न आइरहेको उल्लेख गरे। हालसम्म नेपालमा लगानी गरेका कम्पनीहरूले घाटा बेहोरेको आफूले थाहा नपाएको चर्चा गर्दै उनले त्यही नै नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको प्रमाण रहेको बताए।

समाचार शेयर गर्नुहोस्
333
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.