सेयर बजार : लगानीकर्ता तर्सिए, गभर्नर हटाउन भाकल

सेयर बजार : लगानीकर्ता तर्सिए, गभर्नर हटाउन भाकल

काठमाडौं : सेयर बजारमा ठुला लगानीकर्ता तर्सिएका छन्। मौद्रिक नीतिको तेस्रो समीक्षा पुरानै दोहोरिने अनुमान गरेर ठुला लगानीकर्ताले बिक्री बढाउँदा बजार घटिरहेको छ। लगानीकर्तामा सम्पत्ति एवं लगानी सुरक्षित नहुने चिन्ता देखिएको छ।

धितो पत्र बोर्डको काम नेपाल प्रहरीलाई दिने व्यवस्था गरिएपछि लगानीकर्ता तर्सिएका हुन्। धितो पत्र बोर्डले अनुसन्धान गरेर गलत पुष्टि भएपछि प्रहरीलाई जिम्मा लगाउनु पर्ने लगानीकर्ता बताउँछन्।

धितो पत्र बोर्डले लगानीकर्तामाथि घात गरेको उनीहरू बताउँछन्। सेयर बजारमा भित्री कारोबार समस्या भए पनि सल्टाउने निकाय धितो पत्र बोर्ड नै भएको नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेलले बताइन। ‘शौचालयमा गएर पनि सूचना चुहाएको अवस्था पनि छ,’पोखरेलले भनिन्,‘तर, त्यो काम धितो पत्र बोर्डको हो। प्रहरीलाई दिने भनेपछि लगानीकर्ता आतङ्कित भएका छन्।’

अर्थमन्त्री वर्षमान पुनले सेयर बजार पहिलो प्राथमिकतामा पर्छ भने पनि दुई महिनासम्म कुनै सुधारका काम नगरेको उनले बताइन।

साना लगानीकर्तालाई हेरेर राष्ट्र बैङ्कले नीति बनाउँदा ठुला लगानीकर्ता आतङ्कित बनेको उनले सुनाइन। ‘बजारमा क्याप लगाइएको छ। साना लगानीकर्तालाई केन्द्रित गरेर पोलिसि बनाइएको छ,’अध्यक्ष पोखरेलले भनिन्,‘ठुला लगानीकर्तालाई तर्साएर सेयर बजारमा सुधार हुँदैन,दक्षिणा लगाएको पैसाले सेयर बजार राम्रो हुँदैन।’

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारका ठुला लगानीकर्तालाई प्यानिक बनाइदिएको उनले आरोप लगाइन। ‘गभर्नरले प्यानिक बनाइदिनु भएको छ,कहिले गभर्नर जानु हुन्छ र बजार राम्रो हुन्छ भनेर देउतासँग भाकल गरेर बस्नु पर्ने अवस्था भएको छ,’उनले भनिन्,‘किनभने उहाँले सेयर बजारलाई आतङ्कित बनाइदिनु भएको छ।’

देशको स्टक एक्सचेन्जको लागि इन्साइडर ट्रेडिङ अर्थात् भित्री कारोबार ठुलो समस्या हो। शेयर बजारका नियामक निकायले इन्साइडर ट्रेडिङ रोक्न कठोर कानुन बनाएका हुन्छन्। भारतमा इन्साइडर ट्रेडिङ गर्नेलाई सो कार्यबाट कमाएको नाफाको अनुपातमा जरिवाना हुने व्यवस्था छ।

नेपालमा धितो पत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ मा भित्री कारोबार सम्बन्धी व्यवस्था छ। जसमा कुनै व्यक्तिले सार्वजनिक नभएका धितो पत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफूले धितो पत्र कारोबार गरेमा वा अरूलाई धितो पत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरू कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितो पत्रको भित्री कारोबार गरेको मानिने उल्लेख गरिएको छ।

भित्री सूचना वा जानकारी भन्नाले कुनै धितो पत्र जारी गर्ने सङ्गठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितो पत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्ने उल्लेख छ।

यसरी भित्री कारोबारमा संलग्न हुनेलाई १ वर्ष कैद वा ५ लाखसम्म जरिवाना वा दुवै हुन् सक्ने व्यवस्था ऐनले गरेको छ। धितो पत्र बजारमा हुने इन्साइडर ट्रेडिङको अनुसन्धान प्रहरीले नै गर्न सक्ने गरी धितो पत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गरिएको छ।

बोर्ड वा अनुसन्धान गर्ने निकायमा परेका उजुरीहरू बोर्डको अधिकृत स्तरको कर्मचारीमार्फत प्रारम्भिक जाँचबुझ गराउने र कसुर गरेको लागेमा प्रहरीमार्फत अनुसन्धान गरी जिल्ला अदालतमा मुद्दा दायर गर्न सक्ने व्यवस्था संशोधित ऐनमा गरिएको छ।

बोर्डमा उजुरीको प्रारम्भिक जाँचबुझपछि अनुसन्धान गर्न सङ्कलित विवरण तथा प्रमाणसहितको मिसिल कागजात बोर्ड अधिकृतमार्फत ३० दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनुपर्ने व्यवस्था संशोधित ऐनमा गरिएको छ।

प्रहरीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले मुद्दा चल्ने ठानेमा जिल्ला अदालतमा दायर गरी कारबाहीका लागि प्रक्रिया अघि बढाउने छ।

धितो पत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को बुँदा नम्बर ३८ (१–क) मा भनिएको छ ‘सङ्गठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिव वा सङ्गठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित सङ्गठित संस्था वा त्यसको सहायक कम्पनीको धितो पत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्ने छैन।’

सेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ ) अनुसन्धानको जिम्मेवारी प्रहरीलाई दिने गरी गरिएको कानुनी व्यवस्थाले बजारमा ठुला लगानीकर्ता तर्सिएका हुन्।

सुनौँ अध्यक्ष पोखरेलसँगको कुराकानी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.