निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कन्सल्टेन्सीको ठगी रोक्न नियमावली ल्याउने तयारी

कन्सल्टेन्सीको ठगी रोक्न नियमावली ल्याउने तयारी

276
SHARES

काठमाडौं : कन्सल्टेन्सीहरूले वैदेशिक रोजगारीका नाममा लुटको धन्धा चलाइरहेका छन्। पछिल्लो समय वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीले ठगी गरेको भन्दै उजुरी गर्ने क्रम बढेको वैदेशिक रोजगार विभागले जनाएको छ।

वैदेशिक रोजगारीमा पठाउनका लागि म्यानपावर कम्पनीहरू श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत दर्ता हुनुपर्छ। उनीहरूले विदेश पठाउने कामदारसँग निश्चित रकम लिन पाउँछन्।

तर कन्सल्टेन्सीहरूले दर्ता नै नगरी मनोमानी ठगिरहेका छन्। उनीहरूले कुनै प्रक्रिया विनै लाखौँ उठाएर विदेश पठाउने गरेका छन् भने नसकेकाको पैसा कुम्ल्याउँदै भाग्ने गरेका छन्।

एजुकेसनल कन्सल्टेन्सीहरूले श्रमिकलाई ठगिरहँदा नियमनकारी निकाय भने मुखदर्शक बनेका छन्। पर्याप्त नियम कानुन भए पनि प्रक्रियामा रहेको ओठे जवाफ दिन सरकारी निकायका अधिकारीहरू माहिर छन्। पाइलैपिच्छे ठगहरूको बिगबिगी देखेका सरकारी निकायहरू कारबाही गर्न छोडेर योजना बनाइरहेको बताउँछन्।

शिक्षा मन्त्रालयका प्रवक्ता केशव प्रसाद दाहालले कन्सल्टेन्सीको ठगी रोक्न नियमावली या निर्देशिका ल्याउने तयारी भएको बताए। ‘यो प्रक्रियामा छ,’उनले भने,‘छिट्टै टुङ्ग्याउने गरी छलफलमा छौँ।’

अनुगमन र निगरानी गर्नुपर्ने सरकारी निकाय नै गैरजिम्मेवार देखिएपछि ठगीको जालो झाँगिँदै गएको छ। ठगहरूलाई कारबाहीको साटो ठगी गर्ने ठाउँमा नजान विद्यार्थीहरूलाई प्रवक्ता दाहालको सुझाव छ। ‘ठगिनु भएन, मान्छे ठग्ने ठाउँमा जानै भएन,’प्रवक्ता दाहालले भने,‘बुझेर जानु पर्छ, त्यो व्यक्तिको अधिकारको कुरा हो।’

पछिल्लो समय अमेरिका, अस्ट्रेलिया, क्यानडा, साइप्रस, माल्टा, जापानलगायत विभिन्न देशमा अध्ययन तथा रोजगारीका लागि पठाउने कन्सल्टेन्सीहरूले युवाहरूलाई ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

ठगी गर्ने कन्सल्टेन्सीहरूले नयाँ नयाँ तरिका अपनाइरहेका छन्। पछिल्लो दुई महिनामा ठगीका ३५० बढी उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी गोविन्द पन्थीले जानकारी दिए।

दैनिक १५ ओटा ठगीका मुद्दा पर्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। त्यसमध्ये अहिले कन्सल्टेन्सीको ठगी धेरै आउने गरेको वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले बताए।

शिक्षा मन्त्रालय अन्तर्गत दर्ता भएका कन्सल्टेन्सीलाई कारबाहीको दायरामा ल्याउन गाह्रो भएको उनले बताए। धेरै उजुरी परे मात्र विभागले कारबाहीको प्रक्रिया थाल्ने गरेको उनले सुनाए। ‘कन्सल्टेन्सीको ठगीको जालो फस्टाइरहेको छ,’उनले भने,‘तिनीहरू शिक्षा मन्त्रालयमा दर्ता भएका हुन्छन्,उजुरी आएमा छापा मारेर ल्याउँछौ।’

समाचार शेयर गर्नुहोस्
276
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.