पिस कोरका उपनिर्देशक डाइरेक्टर डेभिड ई. ह्वाइट जुनियर नेपाल भ्रमणमा

पिस कोरका उपनिर्देशक डाइरेक्टर डेभिड ई. ह्वाइट जुनियर नेपाल भ्रमणमा

काठमाडौँ : पिस कोरका उपनिर्देशक डेभिड ई. ह्वाइट जुनियर नेपालको पाँच दिने भ्रमणमा बुधवार काठमाडौँ आएका छन्। आफ्नो भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले नेपाल सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गरी स्थापनाकालदेखि नै पिस कोर कार्यक्रमलाई गरेको दीर्घकालीन सहयोगका लागि धन्यवाद ज्ञापन गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

उनले नेपालमा पिस कोर कार्यक्रम विस्तार गर्ने योजनाबारे छलफल गर्नेछन्। उपनिर्देशक ह्वाइट भर्खरै आइपुगेका १० जना पिस कोर रेस्पोन्स भोलेन्टियरहरूको शपथ ग्रहण समारोहमा पनि सहभागी हुनेछन्।
नेपालमा काम गर्न आउने रेस्पोन्स भोलेन्टियरहरूको यो नै पहिलो समूह हो।

पिस कोर रेस्पोन्स कार्यक्रमले अनुभवी अमेरिकी स्वयंसेवकहरूलाई अल्पकालीन (उदाहरणका लागि नौदेखि बाह्र महिना) अवधिका, उच्च-प्रभाव दिने खालका कामहरू पुरा गर्नतर्फ लक्षित उनीहरूको सहयोगका लागि अनुरोध गर्ने देशमा पठाउँछ।

भ्रमणका क्रममा उपनिर्देशक ह्वाइटले हाल नेपालभर कार्यरत स्वयंसेवक र उनीहरूका समकक्षीसँग पनि भेटघाट गर्नेछन्। नेपालमा स्वयंसेवकहरू कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्त परियोजनाहरूमा काम गर्दछन्। समुदायसँग प्रभावकारी रूपमा सञ्चार तथा सहकार्य गर्नका निम्ति उनीहरू नेपाली भाषा र अन्य स्थानीय भाषाहरू सिक्छन्।

हाल नेपालका सात जिल्लामा ४० जना पिस कोर स्वयंसेवकहरू कार्यरत छन्। उनीहरूले ग्रामीण समुदायका सरकारी विद्यालयमा अङ्ग्रेजी भाषा पढाउने र खाद्य तथा पोषण सुरक्षामा काम गरिरहेका छन्। शपथ ग्रहण गर्न लागेको नयाँ समूहसँगै अब नेपालका आठ जिल्लामा कार्यरत पिस कोर स्वयंसेवकहरूको सङ्ख्या ५० पुग्ने भएको छ।

सन् १९६२ को सेप्टेम्बरमा पिस कोरले नेपालमा पहिलो पटक आफ्नो कार्यसञ्चालन स्थापना गरेको थियो र त्यसयता झन्डै ४,००० अमेरिकी नागरिकहरूले नेपालमा विभिन्न क्षेत्र र देशभरि नै काम गरिसकेका छन्।

पिस कोरबारे : पिस कोर विश्व शान्ति तथा मित्रताको उद्देश्यबाट अभिप्रेरित स्वयंसेवक, समुदायका सदस्य, आतिथेय मुलुकका साझेदार र कर्मचारीहरूको अन्तर्राष्ट्रिय सेवा सञ्जाल हो। विश्वभरिका सरकारहरूको निमन्त्रणामा पिस कोर स्वयंसेवकहरू शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, सामुदायिक आर्थिक विकास र युवा विकासका क्षेत्रमा स्थानीय रूपमा प्राथमिकताप्राप्त परियोजनाहरूमा समुदायका सदस्यहरूसँग काम गर्दछन्।

सेवाको माध्यमबाट पिस कोर सञ्जालका सदस्यहरूले स्थानान्तरण योग्य सीपका साथै अन्तरसांस्कृतिक क्षमता विकास गर्दछन् र यसले उनीहरूलाई अर्को पुस्ताका विश्वव्यापी नेतृत्वकर्ताका रूपमा तयार पार्दछ। सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले पिस कोरको स्थापना गरेदेखि २ लाख ४० हजारभन्दा बढी अमेरिकी नागरिकहरूले विश्वभर १४२ वटा मुलुकमा सेवा गरिसकेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.