मानसिक रोगको सूचीबाट हटाएको दिन मे १७, समावेशी आयोगसँग मायाको पहिचानले गर्‍यो अन्तरक्रिया

मानसिक रोगको सूचीबाट हटाएको दिन मे १७, समावेशी आयोगसँग मायाको पहिचानले गर्‍यो अन्तरक्रिया

काठमाडौँ : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले मे १७ लाई उत्सवको रूपमा विशेष कार्यक्रम गरेर मनाउँदै आएका छन्। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सन् २००४ देखि मे १७ लाई उत्सवका रूपमा मनाउँदै आएका हुन्।

दिवसका अवसरमा मायाको पहिचान नेपालले राष्ट्रिय समावेशी आयोगसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले सन् १९९० मे १७ मा समलिङ्गी तेस्रो लिङ्गी हुनु कुनै रोग वा असामान्य अवस्था होइन भनी घोषणा गरेको थियो।

मायाको पहिचान नेपालसँगको समन्वयमा आयोगले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको मानवअधिकार, समावेशीताका साथै स्वास्थ्य विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो।

आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले सम्मानका साथ बाच्न पाउनुपर्ने बताइन। कार्यवाहक अध्यक्ष ओझाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले कानुनी मान्यता सहित सम्मानित भएर बाच्ने वातावरण सिर्जना हुँदै गएको बताइन।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई कानुनले सम्बोधन गरेको बताइन। ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई स्वीकार गर्न थालेका छन्। अझ बुझाउनु भने पर्नेछ। कानुनले सम्बोधन गरिरहेको स्थिति छ,’उनले भनिन्,’सम्मानका साथ कानुनी मान्यता सहित सम्मानित भएर बाँच्ने वातावरण सिर्जना हुँदैछ।’

कार्यवाहक अध्यक्ष ओझाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका समस्या र आवश्यकताबारे सरकारलाई आयोगले सिफारिस गर्ने बताइन। ‘त्यसका लागि अध्ययन गरेर यहाँहरूले सुझाव दिनुहोला,’उनले भनिन्,’हामी माग सम्बोधनका लागि सरकारलाई सिफारिस गर्छौ।’

आयोगका सदस्य पुष्पराज तिमिल्सिनाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई दैनिक व्यवहारमा आइपर्ने कठिनाइ अन्त्य गर्नका लागि आयोगले काम गर्ने बताए। आयोगले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग धेरै पटक साझा कार्यक्रम आयोजना गरेको सदस्य तिमिल्सिनाले उल्लेख गरे। ‘जिन्दगी सिकाइ हो। सबै जानेको कोही छैन,’उनले भने,’दैनिक व्यवहारमा कठिनाइ आउन भएन।’


एसियाकै पहिलो समलिङ्गी सभासद् एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले समलिङ्गी हुनुलाई सन् १९९० भन्दा अघि मानसिक रोग हो भनेर पढाउने गरिएको उल्लेख गरे। आयोगमा प्रस्तुतीकरण राख्दै पन्तले समलिङ्गी तेस्रो लिङ्गी हुनु सामान्य मानिँदै आएकोमा १८ औँ शताब्दीमा मानसिक रोगको सूचीमा राखेर थप बिरामी बनाएको बताए।

विश्व स्वास्थ्य सङ्गठनले सन् १९९० मा रोगको सूचीबाट हटाएपछि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले उत्सवको रूपमा मनाउन थालेको पन्तले जानकारी गराए। ‘आज महत्त्वपूर्ण दिन हो,’उनले भने,’राष्ट्रिय समावेशी आयोगले दिवसको दिन पारेर कार्यक्रम आयोजना गरेकोमा आभारी छौँ।’ पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जन्मने परिवार भाग्यमानी हुने बताए।

अन्तरक्रियामा सहभागी समुदायका सदस्यहरूले हर्मोन लिने र जटिल शल्यक्रिया अपनाउने गर्दा स्वास्थ्य समस्या देखिएको बताए। ‘समलिङ्गी तेस्रो लिङ्गी हुनु प्राकृतिक भएको बताउँदै मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले भने,’हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई नीति निर्माण तहमा पुग्ने व्यवस्था गर्न पहल गरिदिनुहोला।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई हर्मोन लिँदा र शल्यक्रिया गर्दा स्वास्थ्यमा जटिलता देखिए उपचारका लागि पनि विदेश नै जानुपर्ने अवस्था रहेको अधिकारकर्मी अवन्तिका घर्ती मगरले बताइन। ‘खुलमखुला हर्मोन बिक्री भइरहेको छ,फाइदा र बेफाइदाबारे जानकारी छैन,’उनले भनिन्,’पछि स्वास्थ्यमा असर गरेपछि मात्रै पछुताएका कतिपय साथीहरू भेटेको छु।’

नेपालमा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गरेका माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले विवाह गरेको ६ वर्षपछि खुसी मिलेको बताए। काठमाडौँ जिल्ला अदालतले विवाह दर्ता गर्न नमानेपछि उच्च अदालत पुगे पनि सर्वोच्च अदालतको आदेश कार्यान्वयन नहुँदा दुख पाएको माया र सुरेन्द्रले सुनाए।

लमजुङको दोर्दी गाउँपालिका कार्यालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहयोगमा विवाह दर्ताको प्रमाणपत्र दिएपछि घर परिवार समेत खुसी भएको मायाले बताइन।

स्वास्थ्य मन्त्रालयकी उपसचिव रोशनी देवी कार्कीले कडा खालको रोगको उपचारमा सरकारबाट उपलब्ध हुने निःशुल्क सेवा सुविधामा विभेद नगरिएको बताइन। ‘सरकारले दिने सेवामा लिङ्गका आधारमा कुनै विभेद हुँदैन’उनले भनिन्।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामकुमार महतोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई लक्षित वर्गमा समावेश गरेर प्राथमिकताका साथ काम गरिरहेको बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका समस्या समाधान गर्न स्थानीय तहसँग समन्वयन गरिरहेका छौँ,उनले भने,आवश्यकता अनुसार स्थानीय तहमा समन्वय गर्न प्रतिबद्ध छौ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.