सहकारी छानबिन गर्न संसदीय समिति, संसद्को अवरोध हट्ने

सहकारी छानबिन गर्न संसदीय समिति, संसद्को अवरोध हट्ने

काठमाडौं : सङ्घीय संसद्को अवरोध हटाउन दलहरू सहमत भएका छन्। सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको प्रमुख प्रतिपक्षी काँग्रेस अवरोध हटाउन सहमत भएको हो।

व्यक्ति केन्द्रित समिति बनाउने मागबाट काँग्रेस पछि हटेको छ भने सत्तारुढ दल पनि समग्र सहकारी समस्या छानबिनका लागि समिति बनाउन तयार छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख प्रतिपक्षी काँग्रेससहित सत्तारुढ तीन दलका नेताहरूको बैठकमा संसदीय समिति बनाउने सहमति जुटेसँगै काँग्रेस संसद् अवरोध हटाउन राजी भएको हो।

लामिछानेलाई रोष्ट्रममा पुग्न नदिने गरी नाराबाजी गर्दै आएको काँग्रेसलाई मनाउन सरकारले समिति गठन गर्ने सहमति जनाएको हो। समितिको सहजीकरण गर्ने जिम्मेवारी कानुन मन्त्री पदम गिरीले पाएका छन्।

कानुन मन्त्री गिरीको नेतृत्वमा बन्ने कार्यदलमा एमालेका महेश बर्तौला, काँग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनेछन्। समितिको कार्यादेशबारे आइतबार बिहान छलफल हुने बालुवाटार बैठकपछि काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

संसद् बैठक आइतबार बिहान ११ बजे बस्दैछ। बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले प्रतिनिधिसभाको रोष्ट्रममा पुगेर ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यसअघि चैत २, २७ र जेठ २ गते काँग्रेसले यही प्रस्ताव प्रस्तुत गर्न रोकेको थियो। जेठ २ गतेको बैठकमा सत्ता र प्रतिपक्षी सांसदहरुबीच हात हालाहालको अवस्था आएको थियो।

आइतबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद दिने प्रस्ताव टेबल गर्ने र पारित गर्ने कार्यसूची राखिएको छ। समिति गठन गर्ने सहमतिसँगै गृहमन्त्री लामिछानेले आफूमाथि लागेका आरोपबारे संसद्मा जवाफ दिन पाउने भएका छन्।

सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर भने आलोचना हुँदै आएको छ। कानुन बनाउने थलो संसद्लाई बेवास्ता नगर्न सरकारलाई खबरदारी गर्नु पर्ने भूमिकामा रहेका सभामुख घिमिरे भने अवरोध कायम रहे संसद् अन्त्य गरेर अध्यादेशको बाटो खुलाउनु पर्ने विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।

प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत लिँदै

जेठ ७ गते चौथो पटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने पाँचौँ, छैटौँ पटक विश्वासको मत लिनुपर्ने अवस्था आउने आकलन गरेका छन्।

नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले सोमबार आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने दाबी गरे।

नेपाली काँग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक विश्वासको मत लिन खोज्दा काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले यही गतिमा गठबन्धन तोड्दै गए पाँच वर्षमा १३ पटक औसतमा विश्वासको मत लिने अवस्था आउने व्यङ्ग्य गरेका थिए।

सोही अभिव्यक्तिलाई उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मत कहिले धेरै कहिले कम भए पनि विश्वासको मत भने पाइराख्ने सुनाए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने राष्ट्रिय राजनीतिमा तमासा भइरहेको टिप्पणी गरेका छन्। सोही कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई अहिलेको सबैभन्दा व्यस्त मान्छे भनेर कटाक्ष पनि गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.