यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक शरणार्थी : जेल र मृत्युदण्डको डरले युरोप रोज्नेहरू बढ्दै

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक शरणार्थी : जेल र मृत्युदण्डको डरले युरोप रोज्नेहरू बढ्दै

एजेन्सी : जबरजस्ती र अपमानपूर्ण वैवाहिक सम्बन्ध त्यागेपछि नै एला एन्थोनीले आफ्नो जन्मभूमि नाइजेरिया छोड्ने समय आयो भनेर थाहा पाइसकेकी थिइन्। उनी विवाहबाट त बच्दै थिइन् तर आक्रोशित आफन्तहरू उनलाई समलिङ्गी भएको कारण प्रहरीमा बुझाइदिने धम्की दिइरहेका थिए।

नाइजेरियाले समलिङ्गी सम्बन्धलाई अपराध मानेको छ। एन्थोनी सम्भावित जेल सजायबाट भाग्दै आफ्नो पार्टनरसँग २०१४ मा लिबिया र त्यसपछि इटाली गए, जहाँ उनीहरू दुवैले शरण पाए। उनीहरूलाई आफ्नो देशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजीबीटीआई) विरोधी उत्पीडनको डर थियो।

अफ्रिका र मध्यपूर्वबाट इटाली पुगेका लाखौँ आप्रवासीहरूमध्ये धेरैजसो युद्ध, द्वन्द्व र गरिबीबाट भागेकाहरू छन् भने यौन झुकाव वा लैङ्गिक पहिचानका कारण आफ्नो देशमा सम्भावित जेल सजाय र मृत्युदण्डको सजायबाट बच्न शरणार्थी बनेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरूको सङ्ख्या बढ्दो क्रममा रहेका न्यायकर्मीहरू बताउँछन्।

एन्थोनी र उनको साथी डोरिस इजुरुइक चिनोन्सो एलजीबीटीआई भएकै आधारमा ठुलो अवरोध झेलेर शरणार्थी बन्न पुगे। यो जोडीको शरणार्थी सङ्घर्षले इन्द्रेणी शरणार्थीका लागि ठुलो चुनौतीलाई दर्साइदिएको छ।

‘यहाँ इटालीको जीवन निश्चित रूपमा हामीले चाहेजस्तो शतप्रतिशत छैन, तर मेरो देशको तुलनामा ८०% राम्रो छ’ ३४ वर्षीया चिनोन्सोले भने। उनीहरू रोमको उत्तरमा रहेको रितीमा आफ्नो घरमा बस्छन्। ‘नाइजेरियामा, तपाई भाग्यमानी हुनुहुन्छ भने मात्र जेल सजाय तोड्न सक्नुहुन्छ, अन्यथा भाग्यले साथ दिएन भने तिनीहरूले तपाईँलाई मार्छन्’ उनले थपे,‘तर यहाँ तपाईँ आफ्नो इच्छा अनुसार बाँच्न सक्नुहुन्छ।’

अधिकांश युरोपेली देशहरूले त्यस्ता आप्रवासीहरूको तथ्याङ्क राख्दैनन् जसले अन्तर्राष्ट्रिय कानुन अन्तर्गत शरणार्थी सुरक्षा प्राप्त गर्नका लागि एलजीबीटीआई विरोधी उत्पीडनको दाबी गर्छन्। होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा विभिन्न गैर–सरकारी संस्थाहरूले विभिन्न देशहरूले समलैङ्गिकता विरोधी कानुन पारित गर्दै कडाइ गर्ने क्रमसँगै यस समुदायका शरणार्थीहरूको सङ्ख्या पनि बढ्दै गएको भनी चिन्ता व्यक्त गरेका छन्।

शरणका लागि चुनौती

हालसम्म ६० भन्दा बढी देशहरूमा एलजीबीटीआई विरोधी कानुन लागू गरिएका छन् तीमध्ये अधिकांश अफ्रिका, मध्य पूर्व र एसियाका केही भागहरूमा छन्। ‘अन्ततः मानिसहरू आफ्नै देशबाट समेत भागेर सुरक्षित ठाउँ खोज्दै अन्यत्र जान्छन् जहाँ शरण सहायता खोजेका एलजीबीटीआई मानिसहरूलाई आर्थिक, कानुनी र लजिस्टिक समर्थन प्रदान गरिन्छ’ रेन्बो रेलरोडका प्रमुख कार्यकारी किमाहली पावेलले भने। उनको सङ्गठनमा गत वर्ष सहायताको लागि लगभग १५ हजार आवेदन परेको थियो जुन सङ्ख्या अघिल्लो वर्ष ९ हजार ५०० थियो।

२०२३ मा किमाहलीको सङ्गठनमा आएका १० मा एक आवेदक अर्थात् लगभग १५ सय युगान्डाबाट आएका थिए, जसले त्यस वर्ष एक समलैंगिकता विरोधी कानुन पारित गर्‍यो। युगान्डाको कानुनले समलैंगिकतालाई बढवा दिनेलाई मृत्युदण्ड र समलैंगिकतालाई बढवा दिने प्रयास गर्नेलाई १४ वर्ष सम्म जेल सजायको अनुमति दिन्छ।

ह्यूमन राइट्सका अनुसार, नाइजेरियाले वयस्कहरूबीच सहमतिमा भएको समलैङ्गिक सम्बन्ध र समलिङ्गी जोडीहरूबीचको प्रेमको सार्वजनिक प्रदर्शनलाई पनि अपराध मानेको छ। यस्तैगरी, समलिङ्गी मानिस र उनीहरूको अधिकारको वकालत गर्ने समूहहरूमाथि प्रतिबन्ध लगाएको छ। नाइजेरियाका ‘सरिया’ कानुन लागू भएका क्षेत्रहरूमा एलजीबीटीआई मानिसहरूलाई १४ वर्षसम्म जेल वा मृत्युदण्डको सजाय हुन सक्छ।

तस्करलाई पैसा तिरेर शरणार्थी यात्रा

३७ वर्षीया एन्थोनीले जेलको खतराकै कारण देश छाड्न बाध्य तुल्याएको भन्दै परिवारले आफूलाई विवाहमार्फत बेचेको र श्रीमानले बारम्बार दुर्व्यवहार गरेकोले सम्बन्ध छाडेको बताइन्। जब उनी घर फर्किए भाइ र काकाले उनलाई समलिङ्गी भएको भन्दै प्रहरीमा पठाउने धम्की दिए। डर र बहिस्कारको कुराले आत्महत्याको प्रयास गर्न बाध्य भएका उनले पछि एकजना तस्करको युरोप जानका लागि पैसा बुझाउनुपर्ने प्रस्ताव स्वीकार गरे।

‘एक निश्चित बिन्दु पुगेर मैले भोग्दै गरेका सबै पीडाहरू सहन सकिन, एन्थोनीले आँसु खसाल्दै भने,‘मैले गाउँ छोड्नुपर्छ भनेर उसले गरेको प्रस्ताव मैले तुरुन्तै स्वीकार गरेँ।’

लिबियामा पुगेपछि, एन्थोनी र चिनोन्सोले भूमध्यसागर पार गरेर इटालीको जोखिमपूर्ण डुङ्गा यात्राको लागि तस्करहरूलाई पैसा तिरे। त्यहाँ उनीहरूले नाइजेरियामा एलजीबीटीआई व्यक्तिहरूको एक समूहको सदस्य रहेको भन्दै शरणार्थीका लागि दाबी प्रस्तुत गरे। शरणार्थी मापदण्डहरू अनुसार, शरणार्थी आवेदकहरूलाई ‘एक विशेष सामाजिक समूहको सदस्य’ भएको आधारमा अन्तर्राष्ट्रिय सुरक्षा प्रदान गर्न सकिन्छ।

तर यी सबै प्रक्रिया कुनै पनि हिसाबले सजिलो, सीधा र ग्यारेन्टी छैन। गोपनीयताको सरोकारले शरणार्थी अन्तर्वार्ता प्रक्रियाको क्रममा आप्रवासीहरूलाई सोध्न सक्ने यौन झुकावका प्रश्नहरूको प्रकारलाई सीमित गर्दछ। सामाजिक निषेधहरू र समलिङ्गी वा तेस्रो लिङ्गी (ट्रान्सजेन्डर)को रूपमा खुला रूपमा पहिचान गर्न अनिच्छाले केही आप्रवासीहरूले स्वेच्छाले तुरुन्तै जानकारी दिन नसक्ने प्रस्ट्याउँछ।

आफ्नो अधिकार पूर्ण रूपमा उपभोग गर्न सक्ने सुरक्षित वातावरणको खोजीमा कयौँ एलजीबीटीआई व्यक्तिहरू आफ्नो मुलुक र बस्दै आएको ठाउँ छाडेर शरणार्थी बन्ने उपाय रोज्छन्। तथापि उनीहरूले शरण लिएको देशका नागरिकसँगै अन्य विस्थापित व्यक्तिहरूबाट समलैँगिक र ट्रान्सफोबिक हिंसा या उच्च जोखिमको सामना गर्नुपर्ने हुनसक्छ।

युरोपेली सङ्घमा कति एलजीबीटीआई आप्रवासीले शरण चाहन्छन् भन्ने यकिन तथ्याङ्क छैन। सम्भावित शरणार्थीहरूसँग काम गर्ने ईयू एजेन्सी फर फन्डामेन्टल राईट्सको रिपोर्ट अनुसार सन् २०१६ मा पोल्यान्डमा दुईदेखि तीन, २०१५–२०१७ मा फिनल्यान्डमा ५०० र २०१२–२०१७ सम्म इटालीमा ८० जना एलजीबीटीआई व्यक्तिले शरण लिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.