वेल घेराउकैबीच नीति तथा कार्यक्रम पारित गर्ने योजना 

वेल घेराउकैबीच नीति तथा कार्यक्रम पारित गर्ने योजना 

काठमाडौं : सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का दुवै सदनबाट पारित गरिँदैछ। त्यसका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक साढे ११ बजेलाई बोलाइएको छ।

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर नेपाली काँग्रेसले सहकारीको रकम अपचलनमा संसदीय छानबिन समितिको माग राखेर लगातार संसद्मा अवरोध गरेपछि नीति तथा कार्यक्रममा छलफल नै सुरु हुन सकेको छैन।

संसदीय छानबिन समितिको कार्यादेशमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सहमति गरेमा संसद्को अवरोध हट्नेछ। कार्यदल सदस्यसमेत रहेका काँग्रेस सहमहामन्त्री जीवन परियारका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीचको छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्‍याउने काम बाँकी छ।

व्यक्ति र पद नतोकी अपचलनमा संलग्न संस्थाको नाम तोकेर जान सकिने र त्यस आधारमा संलग्न व्यक्तिबारे छानबिन सुनिश्चितता हुने सत्तापक्षको प्रस्ताव थियो।

कार्यदल संयोजक कानुनमन्त्री पदम गिरीले यसमा काँग्रेसले पनि सहमत हुन सकिने सङ्केत गरेको बताए। काँग्रेसले यसअघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामै राख्नुपर्ने अडान राख्दै आएकाले सहमति हुन सकेको थिएन।

पर्सि जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यताका कारण सरकारले आइतबार जसरी पनि नीति तथा कार्यक्रम पारित गर्नुपर्नेछ। 

दलहरुबीच सहमति भए बैठक चल्ने छ। नभए पनि सरकारले काँग्रेसको नाराबाजी र वेल घेराउकै बीच नीति तथा कार्यक्रममा छलफल चलाएर पारित गर्ने योजना बनाएको छ।

यसअघि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव, राजनीतिक दल सम्बन्धी फिर्ता लिने प्रस्ताव मार्सल लगाएर टेबल गरिएको थियो। प्रतिपक्षी काँग्रेसले अवरोध जारी राखे आइतबार पनि मार्सल लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

त्यसपछि नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरू पेस हुने र प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। बैठकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी(पहिलो संशोधन) विधेयक र विधायन सम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुनेछ।

साथै सङ्घीय निजामती सेवा विधेयक र विद्युतीय व्यापार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ। 

सङ्घीय संसद्मा अवरोध जारी राखेको काँग्रेसले आइतबार सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिन काठमाडौँमा प्रदर्शन तथा सभा गर्दैछ। प्रदर्शनसहित दिउँसो १ बजे भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आमसभा गर्ने काँग्रेसले जनाएको छ।

त्यसअघि काठमाडौँका विभिन्न स्थानबाट, ललितपुर र भक्तपुरबाट समेत जुलुस निकालिने काँग्रेसले जनाएको छ। काँग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो।  

प्रदर्शनको लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई खटाएको छ। सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर काँग्रेसले विरोध प्रदर्शन तथा सभा गर्न लागेको हो। 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.