संसद् कर्मकाण्डमा सीमित, वेल घराउकैबीच नीति तथा कार्यक्रम पारित

संसद् कर्मकाण्डमा सीमित, वेल घराउकैबीच नीति तथा कार्यक्रम पारित

काठमाडौं : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ। जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम १३ औँ दिन नाराबाजी र वेल घेराउकैबीच पारित भएको हो।

सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग प्रतिपक्षी काँग्रेसको छ। लामिछानेलाई छानबिनको दायराबाट बाहिरै राख्नुपर्ने र छानबिन गर्नुपर्ने अडानले संसद् नीति तथा कार्यक्रम कर्मकाण्ड पुर्‍याएर पारित भएको हो।

नाराबाजी र वेल घेराउकैबीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरे। अर्थमन्त्री वर्षमान अनन्तले आर्थिक सर्वेक्षण संसद्मा पेस गरे। सभामुख घिमिरेले जेठ १५ गते दिउँसो १ बजे सङ्घीय संसद्को दुवै सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने जानकारी गराए।

मर्यादापालकले सहजीकरण गरिदिएपछि सत्तापक्षका सांसदलाई रोष्ट्रम पुग्न असहज भएन। नीति तथा कार्यक्रममा विरोधको सूचना दिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने आफ्नै आसनबाट उभिएर बोले।

अध्यक्ष केसीले सहकारी ठगलाई जोगाउन सत्ता पक्षले गणतन्त्रमाथि आक्रमण गरेको बताए। सहकारी ठगेर मुलुकलाई वरवाद पार्नेहरू जोगाउन षडयन्त्र गरेको भन्दै केसी भने,’यो लोकतन्त्र गणतन्त्रमाथि आक्रमण हो।’

रोष्ट्रममा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग केसीले सहकारी ठगलाई कारबाही गर्न माग गरे। प्रधानमन्त्रीले सोमबार बिहानसम्म संसदीय छानबिन समितिको कार्यादेशमा सहमति हुने सुनाए।

सांसद सुवालले जन्मको आधारमा विदेशीलाई नागरिकता दिएको र तिनका सन्तानले लिएको वंशजको नागरिकता खारेज गर्न माग गरे।

सभामुख घिमिरेले केसी र सुवालको विरोधको सूचना बहुमतले अस्वीकृत भएको घोषणा गरे। उनले दैनिक कार्यसूचीमा रहेका विषय सुचीबाट हटाए। बजेट प्रस्तुत गर्ने दिनसम्मका लागि बैठक स्थगित गरे।
काँग्रेसका सांसदहरूले भने सहकारी ठगको मतियार, होसियार होसियार भन्ने नारा लगाइरहेका थिए।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.