निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

१९ खर्बको बजेट ल्याउने तयारी, काँग्रेस र एमाले कुस्ती खेल्ने अवस्थामा

१९ खर्बको बजेट ल्याउने तयारी, काँग्रेस र एमाले कुस्ती खेल्ने अवस्थामा

139
SHARES

काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट मङ्गलवार सार्वजनिक गर्दैछ। महत्त्वाकाङ्क्षी योजनादेखि लघुवित्तको ऋण मिनाहा गर्नेसम्मका कार्यक्रम राखेर १९ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी अर्थमन्त्री वर्षमान पुनले गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाबमा बजेटको आकार राष्ट्रिय योजना आयोगले तोकेको सिलिङ भन्दा १ खर्बले बढ्ने देखिएको स्रोतले बताएको छ। उत्पादन, सूचना प्रविधि, स्टार्टअपलाई प्रोत्साहन गर्ने कार्यक्रमसहित अर्थमन्त्री पुनले मङ्गलवार (जेठ १५ गते) दिउँसो १ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्ने तयारी छ।

राजश्व वृद्धि २५ प्रतिशत राखिने बजेटमा आन्तरिक र बाह्य ऋणको आकार पनि बढाउने तयारी अर्थमन्त्री पुनले गरेका छन्। स्टार्टअपका लागि १० वर्षसम्म आयकर छुट, सहुलियतपूर्ण ऋण र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका नाममा स्थानीय तहलाई शिक्षामा दिँदै आएको अनुदान खारेज गर्ने घोषणा बजेटमा गरिने भएको छ।

सरकारले सय वर्ष पुगेका नागरिकलाई वृद्धभत्ता दोब्बर बनाउने र वृद्ध भत्ता पाउने उमेर ६८ बाट दुई वर्ष बढाएर ७० वर्ष नै पुर्‍याउने घोषणा बजेटमा गर्ने तयारी छ। अर्थमन्त्री पुनले लघुवित्तको ऋण मिनाहा गर्ने कार्यक्रम समेत घोषणा गर्ने तयारी गरेका स्रोतले बताएको छ।

स्रोतका अनुसार ऋण मिनाहाबारे छलफल भइरहेको र कतिसम्म मिनाहा गर्ने भन्ने निश्चित भएको छैन। ऋण मिनाहाको घोषणा गर्दा सरकारलाई कम्तीमा ३६ अर्ब रुपैयाँ अतिरिक्त भार थपिनेबारे पनि छलफल भएको छ।

काँग्रेस र एमाले कुस्ती खेल्ने अवस्थामा

सरकारले संसद्मा बजेट प्रस्तुत गर्ने तयारी गरिरहँदा संसद्का दुई ठुला दल काँग्रेस र एमाले भने कुस्ती खेल्ने अवस्थामा पुगेका छन्। प्रधानमन्त्री प्रचण्डले चाहँदा सत्तामा, नचाहँदा प्रतिपक्षीमा आलोपालो रहँदै आएका काँग्रेस–एमाले अहिले एकअर्काविरुद्ध आगो ओकलिरहेका छन्।

काँग्रेस एमाले सहकारी ठगी र गिरिबन्धु टी–स्टेट प्रकरणलाई लिएर आमने सामने भएपछि रेफ्रीको भूमिकामा रहेका प्रधानमन्त्रीलाई भने हाइसन्चो भएको छ। फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले आफूसँगको सहकार्य तोडेर एमालेसँग हात मिलाएयता काँग्रेस कडा प्रतिपक्षीका रूपमा उभिएको छ।

सामाजिक सञ्जालहरूमा अहिले एमाले र काँग्रेसका समर्थकहरूले चलचित्रका झैँ पोस्टर नै बनाएर एक अर्काको कडा आलोचना गरिरहेका छन्। काँग्रेसले एमाले र रास्वपालाई सहकारीबन्धु गठबन्धनको संज्ञा दिएपछि एमाले आक्रोशित बनेको छ।

बालुवाटार बैठक पछि एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले र अध्यक्ष केपी ओलीप्रति लगाएको आरोपको काँग्रेसले लिखित माफी नमागे प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्।

पौडेलको चेतावनीलाई काँग्रेसले बढानिलकण्ठबाट जवाफ फर्काएको छ। संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले गलत रूपमा आरोप नलगाउन चुनौती दिँदै एमालेलाई नेपालमा बसेर उत्तर कोरिया नठान्न चेतावनी दिएका छन्।

काँग्रेस र एमाले आपसमा भिडिरहँदा सहकारी पीडितको भने बिचल्ली भएको छ। सहकारी पीडित बचतकर्ताहरूले काठमाडौँमा विरोध प्रदर्शन जारी राखेका छन्। देशका विभिन्न स्थानबाट आएका सहकारी पीडित बचतकर्ताहरूले काठमाडौँको माइतीघरमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

उनीहरूले सहकारी ठगका तस्बिरसहितका ब्यानर र विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरे। उनीहरूले ‘जीवी राई कहाँ छ, गृहमन्त्रीलाई थाहा छ’ भन्दै नारा लगाए।

सहकारी पीडितको मुद्दालाई लिएर प्रमुख विपक्षी दल काँग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेका बेला पीडितहरूले पनि माइतीघरमा धर्ना दिँदै आएका छन्।

समाचार शेयर गर्नुहोस्
139
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.