मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्त गर्न परमादेश

मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्त गर्न परमादेश

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन्। प्रदेश सभामा ठुलो दल रहेको काँग्रेसका सुरेन्द्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी भएको छ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै पदमुक्त हुने फैसला सुनाएको हो।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ। सर्वोच्चको आदेशसँगै अधिकारी अब पदमुक्त भएका छन्।

अदालतले गण्डकी प्रदेशसभाको सबैभन्दा ठुलो दल काँग्रेस संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो। एमालेबाट मुख्यमन्त्री भएका अधिकारीले ६० सदस्य प्रदेशसभामा ३० जनाको मत पाएका थिए।

उनको विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेका थिए। त्यसविरुद्ध काँग्रेस संसदीय दलका नेता पाण्डेले सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

नेता पाण्डेको अधिकारीविरुद्ध यो दोस्रो रिट हो। यसअघिको रिट खारेज गरिएको थियो। खारेजपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए।

सर्वोच्चको आदेशसँगै पाण्डे पुनः मुख्यमन्त्री नियुक्त हुने भएका छन्। उनले पनि अव ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ।

यसअघि उनले विश्वासको मत पुर्‍याउन नसकी मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए। बहुमत पुर्‍याउनमा पाण्डेलाई एक सांसद कम भएको थियो। यसअघि कोशी प्रदेशमा सभामुखको मत समेत जोडेर मुख्यमन्त्री नियुक्त हिक्मत कार्कीलाई पदमुक्त गर्ने आदेश सर्वोच्चले दिएको थियो।

मधेसमा अविश्वास

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री यादवले प्रदेशसभामा सहभागी सबै दलको मत लिन आन्तरिक तयारी गरिरहेको बताए।

प्रदेश सभाको बजेट अधिवेशन २१ गतेका लागि बोलाइएको छ। सोही दिन प्रदेशसभा सचिवालयलाई आफूले विश्वासको मत लिने जानकारी गराइने जसपा नेपालका नेतासमेत रहेका मुख्यमन्त्री यादवले जानकारी दिए।

मुख्यमन्त्री यादवले आफूले दुई पटकसम्म सदनका सबै दलको विश्वासको मत पाएकाले तेस्रो पटक पनि सबै दलको विश्वास जित्ने तयारीमा लागेको बताए। मधेस प्रदेशसभामा १० दलका १०७ सदस्य छन्।

मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन ५४ मतको आवश्यकता पर्दछ। जसपा नेपाल फुटेर बनेको जसपा सङ्घीय सत्ता गठबन्धनमा सहभागी हुँदा आउट भएको थियो। लगत्तै जसपा नेपाल नेतृत्वको मधेस सरकारबाट नेकपा माओवादी केन्द्र र नेकपा एमाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.