रविको नाम नराखी संसदीय समिति बन्ने

रविको नाम नराखी संसदीय समिति बन्ने

काठमाडौं : लामो रस्साकस्सी पछि सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि नै अनुसन्धान गर्नुपर्ने मागमा प्रतिपक्षी नेपाली काँग्रेस लचक बनेसँगै समिति बन्ने भएको हो।

प्रतिनिधिसभाका मङ्गलवार बस्ने बैठकले समिति गठन गर्नेछ। सहमतिलाई काँग्रेस संसदीय दलको बैठकले अनुमोदन गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। ‘सहकारीको रकम जहाँ गएको छ। कानुनी गैरकानुनी कसरी गएको छ हेर्ने,’प्रमुख सचेतक लेखकले भने,’त्यसमा संलग्न मानिस जो सुकै होस, उसका बारेमा छानबिन हुन सक्ने,अनुसन्धान हुन सक्ने बनाएको हुनाले, कुनै व्यक्ति विशेषको नाम लेखिराख्नु आवश्यक छैन भन्ने निष्कर्षमा हामी सहमतिमा पुगेका छौँ।’

काँग्रेसले लामिछानेको नाम नै उल्लेख गरेर समिति बन्नु पर्ने माग गर्दै आएको थियो। सत्तारुढ नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी सहकारीको समस्या छानबिन गर्न संसदीय समिति आवश्यक नपर्ने अडान थिए।

शीर्ष तहमा छलफल भएर समिति गठन गर्ने सहमति बनेको हो। समितिको कार्यादेशलाई अन्तिम रूप दिने र मङ्गलवार नै अनुमोदन गर्ने तयारी छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन दलहरू सदनको अवरोध हटाउन सहमत भए। समितिमा बस्ने सदस्यहरूको नाम दिउँसो ३ बजे संसद् सचिवालयलाई बुझाउने लेखकले जानकारी दिए।

दिउँसो १ बजे हुने तय भएको बजेट भाषण ३ बजेलाई सारिएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि १९ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेका छन्।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.